आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव


३० बैशाख २०७५, आइतबार


काठमाडौं । जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/ ७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा धारणा राख्ने अधिकांश सांसदले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार बनाई बजेटको प्रभावकारी कार्यान्वयन गर्ने तथा व्यावहारिक रुपमा आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्न जोड दिएका थिए ।

समृद्धिका लागि आत्मबल तयार पार्ने तवरले बजेट आउनुपर्नेमा जोड दिँदै सांसदले वर्तमान सरकारप्रति जनताको असाधारण विश्वास रहेको विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राखे । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अगाडि सारेका सन्दर्भमा पर्यटन, कृषि, ऊर्जा, जडीबुटी र जंगलमा विशेष लगानी गर्नुपर्छ भन्दै उनीहरुले वास्तविकतामा आधारित बजेट जरुरी रहेको बताए ।

सत्तापक्षका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन जनाए । भने प्रतिपक्षी दलका सांसदले भने वर्तमान सरकारले दिशाहीन र नेपाली जनताले खासै नयाँपन पाउनेखालको प्रस्ताव आएको गुनासो गरे ।

नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्माले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्तिको निरुत्साहन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेताले भाषण मात्रै गर्ने, किसानले खेती नगर्ने, कर्मचारीले काम नगर्ने प्रवृत्तिविरुद्ध जागृति अभियान चलाउनुपर्छ । बजेट पूर्णरुपमा कार्यान्वयन गर्नुपर्छ ।’

उनले ठूला कार्यक्रमलाई जोड दिएर यथेष्ट बजेट उपलब्ध गराउन माग गरे । माओवादी केन्द्रका कमला रोकाले आधा धर्ती र आधा आकाश ढाकेका महिलाको हितमा बजेट आउनुपर्नेमा जोड दिए ।

पूर्वअर्थमन्त्रीसमेत रहो नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिए । उनले भने, ‘आर्थिक समृद्धिको नाराको व्यावहारिक कार्यान्वयन गर्नेखालको बजेट जरुरी छ । संसद्मा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रभावकारी र व्यावहारिक विषय समेटिएकाले त्यसलाई मूर्त रुप दिने बजेट जरुरी छ ।’ एमालेकै भानुभक्त ढकालले समाजवादी अर्थव्यवस्थाको आधार तयार पार्नेखालको बजेट ल्याउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतका सरकारलाई आरोप लगाउने सरकारले हचुवाका भरमा बजेटका सिद्धान्त प्रस्तुत गरेको दोषारोपण गरे । काँग्रेसकै दिलेन्द्रप्रसाद बडूले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । काँग्रेसका प्रदीप गिरीले रोजगार र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिए। प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ः०० बजे बस्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस