गुणस्तरीय सेवा दिन कन्जुस्याई गर्दैनौं « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गुणस्तरीय सेवा दिन कन्जुस्याई गर्दैनौं


२७ बैशाख २०७५, बिहिबार


जनतासँग गरेका के–के प्रतिवद्धता पूरा गर्नुभयो ?
हामीले कार्यभार सम्हालेको एक वर्ष हुन लाग्यो । वडा कार्यालयबाट नियमित रूपमा प्रशासनिक सेवा दिइरहेका छौं ।

यससँगै विकास निर्माणको काम पनि गरिरहेका छौं । ठूलो वडा भएकाले हामीले दुई करोड २५ लाख पाएका छौं । त्यो बजेटबाट प्राथमिकताका आधारमा वडाभरि काम गरिरहेका छौं ।

जनतासँग गरेको प्रतिबद्धता अनुरूप वडामा ज्येष्ठ नागरिक क्लब स्थापना गरेका छौं । कुमारीगाल र मैजुवाल बीचको सामुदायिक भवनमा क्लब सञ्चालन गरिएको छ । त्यहाँ ज्येष्ठ नागरिकलाई योगा सिकाउने गरिन्छ । त्यस्तै त्यहाँ बसेर उहाँहरू (ज्येष्ठ नागरिक) टिभी हेर्ने, छलफल गर्ने गर्नुहुन्छ । ज्येष्ठ नागरिकको सुविधाका लागि क्लबमा थेरापी गर्ने व्यवस्था समेत मिलाइएको छ ।

चुनावका दौरान मैले वडालाई फोहोरमुक्त र फुटपाथ पसलमुक्त बनाउने प्रतिवद्धता गरेको थिएँ । यसैअनुरूप अबको केही दिनमै वडालाई फोहोरमुक्त र फुटपाथ पसल मुक्त घोषणा गरिन लागिएको छ ।

कार्यालयको सेवा गुणस्तरीय तथा प्रभावकारी बनाउन के–के योजना बनाउनुभएको छ ?
वडा कार्यालयबाट जन्मदर्ता, मृत्युदर्ता, नाता प्रमाणित, सिफारिसलगायत काम भइरहेको छ । आवश्यक कागजात लिएर आउने हरेक सेवाग्राहीको काम तुरुन्तै हुने गरेको छ । त्यसकारण हामी गुणस्तरीय सेवा दिन कन्जुस्याई गर्दैनांै ।

सुशासन र विकास निर्माण प्रभावकारी बनाउन के गरिरहनुभएको छ ?
जनप्रतिनिधि नहुँदासम्म सेवाप्रवाहमा ढिलासुस्ती थियो । अहिले त्यो छैन ।

विकास निर्माण प्रभावकारी बनाउन केन्द्रसँग समन्वय गरिरहेका छौं । वडाभित्रका सडक पिच गर्ने काम धमाधम भइरहेको छ । धोविखोला करिडोर, चावहिल पीपलबोटबाट गौरीघाटसम्म तथा रातोपुलबाट गोपीकृष्णको बैजनी पुलसम्मलगायत सडक पिच भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस