हाम्रो प्रश्नः सिंहदरवारभित्र ट्राफिक नियम लागु हुँदैन ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हाम्रो प्रश्नः सिंहदरवारभित्र ट्राफिक नियम लागु हुँदैन ?


२७ बैशाख २०७५, बिहिबार


सिंहदरवार देशको मुख्य प्रशासनिक निकाय हो । देशको मुख्य प्रशासनिक निकाय भएर पनि यहाँको पार्किङ अस्तव्यस्त छ । अव्यवस्थित पार्किङले यो क्षेत्र कुरूप बनेको छ । यसतर्फ सरोकारवालाले चासो देखाएका छैनन् । केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पार्किङ व्यवस्थित गर्न निर्देशन दिँदा पनि केही निकायले अटेरी गरिरहेका छन् । यहाँका पार्किङका समस्या, समाधानलगायत विषयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी) उमेश रंजितकारसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

सवारी पार्किङ सम्बन्धी ट्राफिक नियम के छ ?
पार्किङका लागि निश्चित ठाउँ तोकिएको हुन्छ । जहाँ पार्किङ गर्ने साइन हुन्छ त्यहाँ मात्रै पार्किङ गर्न पाइन्छ ।

सिंहदरवारका सवारीको हकमा यो नियम किन लागु भएको होला ?
सिंहदरवार परिसरभित्र पार्किङ व्यवस्थित गर्ने सम्बन्धमा माननीय गृहमन्त्रीज्यूको ८२ बुँदे सुधार कार्ययोजनामा पनि समेटिएको छ । हामीले पनि पहल गरिरहेका छौं । केही दिनअघि मात्रै प्रधानमन्त्रीज्यूको कार्यालयले सिंहदरवार परिसरभित्रका सबै निकायहरूलाई पार्किङ व्यवस्थित गर्न निर्देशन पनि दिइसकेको छ । निश्चित स्थानमा मात्रै पार्किङ गर्न भनि सकिएको छ । दिर्घकालिन समाधानका लागि सिंहदरवार परिसरभित्रका कार्यालयहरुमा भएका गाडीको लगत समेत मागेको छ । र, फोकल अफिसर तोकेर पठाउने निर्देशन पनि दिएको छ ।

त्यसको साथै हामीले केही दिनदेखि त्यहाँ ट्राफिक प्रहरी पनि परिचालन गरेका छौं । ती प्रहरीले अव्यवस्थित तथा फुटपाथमा पार्किङ गरेका गाडी हटाउने, अव्यवस्थित रूपमा पार्किङ गर्नेलाई सम्झाउने, बुझाउने गरिरहेका छन् ।

असम्बन्धित ठाउँमा पार्किङ गरेको भेटिएमा बाहिर जसरी चिट काट्ने र गाडीमै राखेर लैजाने गरिन्छ, सिँहदरबारभित्र दिनभरी सडक पेटीमा पार्किङ गरिरहँदा तिनको हकमा नियम किन लागु हुँदैन ?
सिँहदरबारभित्र अहिले ट्राफिक नियम मिच्नेलाई चिट काटेका छैनौं । सरोकारवाला पक्षसँग छलफल गरेपछि अव्यवस्थित रूपमा पार्किङ गरेको अवस्थामा फेला परेका चिट काट्नेछौं । त्योभन्दा अगाडि सिंहदरवार परिसरभित्र पस्ने सवारी साधनका लागि ट्राफिक संकेत राख्नुपर्ने आवश्यकता छ । त्यसका लागि ट्राफिक संकेत राख्न अनुरोध गरेका छौं । सायद चाडै नै उपलब्ध हुनेछ । त्यसबाहेक के गर्दा ठिक हुन्छ भन्ने योजना पनि बनाएका छौं । जसलाई हामीले सम्बन्धित निकायमा जानकारी गराएका छौं । जस्तै ः मन्त्रीज्यूको सवारी कहाँ पार्किङ गर्ने ? सचिवज्यूको गाडी कहाँ गर्ने ? मोटरसाइकल पार्किङ कहाँ गर्ने ? विदेशी पाहुनाको पार्किङ कहाँ गर्ने ? भनेर सुझाएका छौं ।

हामीले त अझ के पनि भनेका छौं भने सिंहदरवार परिसरभित्र सवारी चालकका लागि छुट्टै विश्रामघर व्यवस्था हुनुपर्छ, जहाँ उहाँहरूलाई आराम गर्नुका साथै कुन बेला कुन गाडीको कहाँ आवश्यक पर्छ भन्ने कुराको कम्युनिकेसन गर्न सकियोस् । यसका लागि हामीले कुरा गरेका छौं । र, उपयुक्त हुने ठाउँहरूबारे हामीले जानकारी पनि गराइसकेका छौं । यो सरोकारवाला निकायको छलफलमा एउटा छुट्टै कार्यक्रमको रूपमा अगाडि बढ्ला ।

नियम कानून बनाउने अड्डामै सवारी चालकले पालना गर्नुपर्ने सामान्य नियमसमेत लागु नगरेको अवस्थालाई कसरी बुझ्ने ?
यो चाही सवारी चालकहरू र त्यसमा यात्रा गर्ने व्यक्तिहरू उत्तरदायित्वभन्दा पर भागेको देखिन्छ । सवारी चलाउनेहरू ट्राफिक नियमबारे जानकारी हुनुपर्छ । र, त्यसलाई हुबहु पालना गरेपछि मात्रै ट्राफिक व्यवस्थापन राम्रो हुन्छ । त्यसका लागि सवारी प्रयोग गर्ने व्यक्तिहरुले पनि ठिक ठाउँमा गाडी पार्किङ गर्नू र यो समयमा मलाई लिन आउनू भन्नुपर्छ । तर, यसतर्फ उहाँहरूको चासो देखिँदैन ।

त्यसैले गर्दा सवारी चालक सवारी प्रयोगकर्ता कुन बेला आउनुहुन्छ भन्ने हिसाबमा नजिकै बस्नुहुन्छ । जसले गर्दा पार्किङ फुल भएको अवस्थामा पनि जता पायो त्यतै पार्किङ गर्ने चलन छ ।

यसो हुनुमा चालकको बढी दोष कि सवारीमा प्रयोगकर्ताका दोष ?
त्यसमा त सवारी चालक नै बढी जिम्मेवार हुनुपर्छ । सवारी चालकलाई ट्राफिक नियम पालना गराउनुपर्ने दायित्व सवारीमा चढ्ने व्यक्तिको पनि हुन्छ ।

बारम्बार सवारी नियम उल्लंघन भइरहँदा पनि कारवाही गर्न नसकेको डराएर हो या भित्रका लागि छुट्टै छुटको व्यवस्था गरेको छ ?
सिंहदरवार प्रमुख प्रशासनिक निकाय हो । त्यहाँभित्र कारबाही गर्नुभन्दा अगाडि हामीले निश्चित सहमतिमा पुग्नुपर्ने हन्छ । त्यसको लागि कुनै न कुनै ठाउँबाट हामीलाई आदेश पाउनुपर्छ ।
अहिले हामीले नियमन गर्ने, सम्झाउने तथा बुझाउने काम गरिरहेका छौ । पक्कै पनि आउने दिनहरूमा ट्राफिक नियम पालना नगरेको खण्डमा, सिंहदरवार परिसरभित्र जथाभावी पार्किङ गरेको खण्डमा, जथाभावी गाडी चलाएको खण्डमा प्रचलित नियम अनुसार ट्राफिक कारबाही गर्ने आदेश पनि आउन सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस