विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी


१७ बैशाख २०७५, सोमबार


नुवाकोट । भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घ्याङ्फेदीका विस्थापितमध्येका ४६ परिवारलाई सोही गाउँपालिका–७ शिखरबेँशीस्थित रामतीमा घडेरी खरिद गरी पीडित परिवारको नाममा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) उपलब्ध गराएको हो ।

शिखरबेँशीका आइतमान तामाङ, दमाइसिंह तामाङ र यदुकुमार अधिकारीसँग १९ रोपनी जग्गा ९२ लाखमा खरिद गरी विस्थापितको पुनःस्थापना शुरु गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए ।

४६ मध्ये ३४ परिवारको श्रीमान्–श्रीमती दुवैको नाममा संयुक्त जग्गाधनी लालपूर्जा बनाइएको जग्गाको खोजी र नामसारीमा सहयोग पु¥याएको भूमि अधिकार मञ्च नुवाकोटका कार्यालय सचिव कल्पना न्यौपानेले जानकारी दिइन् । आवास पुनःनिर्माणका लागि सुरक्षित स्थानमा घडेरी प्राप्त गरेकाले एकीकृत बस्तीको निर्माण शुरु गर्न लागिएको छ ।

भूकम्पको कारण घ्याङ्फेदीमा बाँकी रहेका २८ परिवारका लागि सुरक्षित स्थानमा घडेरीको लागि जग्गा खोजी भइरहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण बगेको सुख्खा पहिरोले बस्ती बगाएपछि सुरक्षित स्थानमा जग्गा व्यवस्था नहुँदा उनीहरु हालसम्म जोखिम स्थानको अस्थायी टहरामा नै बसोबास गर्दै आइरहेका छन् ।

जिल्लामा ३२४ परिवार जोखिम बस्तीमा रहेको सरकारी तथ्यांक भए पनि उर्लेनीका ५२ र लच्याङका १४ परिवारलाई यसअघि घडेरी उपलब्ध गराइएको थियो भने बाँकी पुनःस्थापनाको प्रतीक्षामा छन् । रासस

प्रतिक्रिया दिनुहोस