कर्मचारीको मस्तीमा ब्रेक ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीको मस्तीमा ब्रेक !


प्रशासन विशेष ब्युरो

१५ बैशाख २०७५, शनिबार


काठमाडौं । विदेश भ्रमणमा रमाउने कर्मचारीलाई सरकारले अंकुश लगाउने भएको छ ।

सरकारले परामर्शदाता र ठेकेदारको खर्चमा विदेशमा हुने सबै प्रकारका कार्यक्रममा जान सरकारी पदाधिकारीलाई प्रतिबन्ध लगाउने भएपछि त्यस्ता कर्मचारीहरुको मस्तीमा ब्रेक लाग्ने भएको हो ।

ठेकेदार र परामर्शदाताको पैशामा विदेश जाने कर्मचारीहरुलाई वैदेशिक भ्रमण व्यवस्थाप निर्देशिका २०७५ मार्फत प्रतिबन्ध लगाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले नयाँ भ्रमण निर्देशिका जारी गर्दै विदेश भ्रमणमा कडाइ गर्न थालिएको बताएका छन् ।

विदेश भ्रमणका नाममा वार्षिक अरबौं रुपैयाँ खर्चदै आएका कर्मचारीबाट सरकारलाई कुनै उपलब्धी नदेखिएका पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो बेतुकका भ्रमणमा कडाई गर्न निर्देशिका कार्यान्वयनमा ल्याएको हो ।

जारी निर्देशिकामा वैदेशिक भ्रमणको सिफारिस तथा मनोनयनको आधार र प्रक्रियासमेत खुलाइएको छ । जसअनुशार वैदेशिक भ्रमणको विषयको सान्दर्भिकता, विषयको उपयुक्तता, कार्यसम्पादन, ज्येष्ठता, यसअघि वैदेशिक भ्रमणको अवसर पाए नपाएको तथा समावेशी भए नभएको जस्ता विषयलाई आधार बनाएर मात्रै स्विकृत गरिने छ ।

निर्देशिकाअनुशार सबै सरकारी कार्यालयहरुले विदेश गएका कर्मचारीको सबै विवरण वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने छ भने विदेशबाट व्यक्ति विशेषलाई नै तोकेर निमन्त्रणा आएको अवस्थामा पनि निर्देशिकाभन्दा बाहिररहेको अवस्थामा पठाइने छैन ।

औचित्यताको आधारमा वैदेशिक भ्रमण गर्ने सरकारी पदाधिकारीले भ्रमण सम्पन्न भएको मितिले १५ दिनभित्र भ्रमणको उपलब्धी, सिकाई र उपयोग गर्ने आयोजना खुलाई प्रतिवेदन पेश गर्नुपर्ने छ । यसरी प्रतिवेदन पेश नगर्ने कर्मचारीलाई अर्को दुई वर्षसम्म भ्रमणका लागि मनोनयन नगरिने व्यवस्थासमेत कार्यविधिमा उल्लेख गरिएको छ ।

यसकासाथै कुटनीतिक तथा विशेष राहदानीप्राप्त सरकारी पदाधिकारीले सरकारी कामको लिसिलामा गरिने वैदेशिक भ्रमणमावाहेक अन्य प्रयोजनमा उक्त राहदानी प्रयोग गर्न नपाउने व्यवस्थासमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस