गाउँको मुहार फेर्न कस्सिए महिला « प्रशासन
Logo १३ असार २०७९, सोमबार
   

गाउँको मुहार फेर्न कस्सिए महिला


१४ बैशाख २०७५, शुक्रबार


women,kapilbastu,Nepal

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ माथिल्लो बर्मेली गाउँका महिलाले आफ्नो गाउँको मुहार फेर्न दुई वर्षदेखि कस्सिएर लागेका छन् । ती महिलाले आफ्नो गाउँलाई सुन्दर र रमणीय बनाउन विभिन्न सूचकहरु आफैँ तयार गरेका छन् ।

गाउँका सबैजनाको सहमतिमा आफ्नो गाउँलाई रमणीय बनाउन समूहमार्फत दर्जनभन्दा बढी सूचक तयार पारेका उनीहरूले वि.सं.२०७२ माघमा एक समूह गठन गरेर काम थालेका आमाहरूले आफैँ छलफल गरी गाउँलाई कसरी नमूना बनाउन सकिन्छ भनेर सरसफाइ, शिक्षा, आयआर्जन, स्वास्थ्य र वकालत क्षेत्रलाई मुख्य सूचक बनाएका हुन् । ‘अघिल्लो वैशाखदेखि सघन रूपमा नमूना गाउँको अभियान चलाएका थियौँ, सदस्य तुल्सी थारूले–भने, ‘यसपछि भने परिवर्तन देखिन थाल्यो ।’

गाउँभर ३० परिवार बसोबास गर्छन् । तीमध्ये २५ घर समूहमा आबद्ध छन् । उनीहरू सबै खोलामा बालुवा गिट्टी चाल्छन् । ज्याला मजदूरी नगरे चुलो बल्दैन  तर पनि उनीहरूकै पहलमा गाउँको मुहार फेरिदै छ । समूह अध्यक्ष गोमता जिसीले भनिन्, ‘ज्याला मजदूरी गरी घरखर्च गरेर बचेको आय हेरेरै सूचक निर्धारण गरेका छौँ । हातमुख जोर्न गाह्रो भए पनि सूचकलाई सबैले आत्मसात् गरी पूरा गरेका छौँ । केही नहुँदा पनि काम गर्न सकिन्छ भन्ने देखाएरै ‘खुशियाली घर, खुशियाली गाउँ’ भन्ने नारा बनाएका हौँ’ । गाउँमा सबैको घर–आँगनमा भाँडा राख्ने अग्लो काठको चाङ बनाइएको छ । बिहान–बेलुका भाँडा माझेर त्यसैमा सुकाइन्छ ।

गाउँका सबैको घरमा शौचालय छ । सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उनीहरू नियमित विद्यालय जान्छन् । महिला हिंसा र जातीय विभेद शून्य, बालविवाह अनि बहुविवाहमुक्त गाउँ बनेको छ । हरेक घरले सरसफाइका सबै सूचक पूरा गरेका छन् । सबै सदस्य आयआर्जनमा लागेका पनि छन् । फोहर व्यवस्थापन गर्न घरपछाडी खाल्टो बनाई त्यसैमा नष्ट गरिन्छ । सबैले भाँडा माझ्ने पक्की जुठ्यान बनाएका छन् । अधिकांशले माटोको घरलाई पहेँलो र रातो माटोले लिपेर चिरिच्याट्ट बनाएका छन् । गाउँका सबैले मिलेर २० वटा हातेपम्प निर्माण गरी शुद्ध खानेपानी पिउन थालेका छन् ।

आँगन, घर अघिपछि र बाटोघाटो दैनिक बढार्छन् । सोलार बत्तीले घर झलमल्ल बनाएका छन् । सुकुम्बासी बस्ती हुँदा कसैले ध्यान नदिए पनि सानोतिनो काम उनीहरू आफैँ गर्छन् । प्रत्येक घरले रु पाँच /पाँच सय उठाई रु ५३ हजार संकलन गरेर धुलौटे बाटो ग्राभेल गरेएका छन् । छ मिटर चौडा र ५०० मिटर लामो बाटोमा ग्राभेल राखेर राम्रो बनाइएको छ । एक घर दुई बिरुवा अवधारणालाई आत्मसात् गर्दै रूख रोपेर हुर्काउन थालिएको छ ।

‘गाउँका समस्या पहिल्याउनेदेखि कार्यान्वय गर्ने तहसम्म गएर सहजीकरण गर्छौं’, किर्डाक नेपालका कार्यक्रम संयोजक हरिप्रसाद लौडारीले भने, ‘सुकुम्बासी गाउँ अहिले साँच्चै हेर्न लायक ‘खुशियाली गाउँ’ बनेको छ ।’ गाउँ नमूना बनाउन छ उपसमिति बनेका छन् । स्वास्थ्य, शिक्षा, आयआर्जन, वातावरण र वकालतका क्षेत्रमा घरघर पुगेर काम गरिन्छ । घरायसी समस्या उनीहरू आफैँ समाधान गर्छन् । मासिक १०० बचतबाट हाल रु डेढ लाख संकलन भइसकेको छ । एक लाखभन्दा बढी त लगानी भइसकेको उनीहरु बताउँछन् ।

गाउँलेको गर्जो टार्न उनीहरू त्यही बचत रकम प्रयोग गर्छन् । बिहे, सन्चो–बिसन्चो भए सबै मिलेर सहयोग गर्छन् ।‘न्यून ब्याज लिन्छौँ’, उर्मिला थारूले भनिन्, ‘आयआर्जनलाई प्राथमिकता दिन्छौँ, गाउँका सबै आयआर्जनमा लाग्न अभियानै चलाएका छौँ ।’ गाउँमा जे गर्न परे पनि छलफल गर्ने र सहमतिमा पुग्ने निर्णय भएको उनले सुनाइन्।

गाउँमा मजदूरी, पसल र खेती किसानी गर्ने मात्र छन् । ‘समूहको उत्साह देखेर बालविकास केन्द्र बनाउन एक लाख २० हजार दियौँ’, किर्डाकका कार्यक्रम अधिकृत मनिष मिश्रले भने, ‘समूहलाई ७३ हजार बीउ पूँजी दिएका छौँ । यसले उनीहरूको उत्साह थपिएको छ ।’ खेतीलाई सहयोग पुगोस् भनेर समूहबाट २० हजार र नगद उठाएर ७० हजारमा साताअघि पम्पसेट गाडिएको छ ।

‘अब सिँचाइ सुविधा पनि भयो’, सदस्य ईश्वरा पाण्डेले भनिन्, ‘मज्जाले तरकारी खेती गर्छु ।’ गाउँमा कुखुरा, बाख्रा, भैँसी र बंगुरपालनको लहर चलेको छ । ‘सबै महिला सानो–ठूलो काममै छन् उनले भनिन्, ‘महिलाले पनि काम गरेर देखाएका छन् ।’ समूह सक्रिय भएदेखि गाउँमा मदिरा बनाउने, बेच्ने र सेवन गर्ने चलन पूरै हटेको छ । झैझगडा कतै पनि सुनिँदैन । स्थानीय अनिल क्षेत्रीका अनुसार अहिले गाउँका पुरुष पनि काममा व्यस्त छन् जुवातास प्रतिबन्ध छ । निर्णय उल्लङ्घन गरे जरिवाना हुन्छ । महिलाको उत्साह र जाँगर देखेपछि जिल्ला समन्वय समितिले गाउँमा बालविकास केन्द्र बनाउन तीन लाख ५० हजार दियो । काम गर्दै जाँदा नपुगेपछि विभिन्न संघसंस्था चहारेर रु पाँच लाख जम्मा गरेर पक्की भवन बनाइएको छ ।

गाउँका ३० बालबालिका त्यही पढ्छन् घरमा पढ्न र गृहकार्य गर्ने वातावरण नभएकालाई होमवर्क सेन्टरमा पठाइन्छ । साँझ–बिहान र बिदाको दिन त्यही भवनलाई समूहको भेला, छलफल र कार्यक्रममा प्रयोग गरिन्छ । प्रत्येक शनिबार सबै घरका अभिभावक भेला गराई गाउँभरि सरसफाइ अभियान चलाउँछन्, ‘समूहको अनुकरणीय कामको फेहरिस्त लामो छ’, स्थानीय विकास थारूले, ‘भन्नुभयो त्यही भएर जिल्लाका विभिन्न स्थानबाट अवलोकन गर्न आउने समूह र संस्था दिनानुदिन बढ्दैछन्’, कामबाट उत्साहित उनीहरू अब नगरपालिकामा गाउँको विकास निर्माणका लागि योजना माग्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस