सुशासनमा देखिएका बेथितिलाई अन्त्य गर्ने प्रधानमन्त्री ओलीको अठोट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुशासनमा देखिएका बेथितिलाई अन्त्य गर्ने प्रधानमन्त्री ओलीको अठोट


११ बैशाख २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरे ।

मदन भण्डारी स्मृति बाटिकाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन । बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ । विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं ।’

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे । उनले भने, ‘कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्योे’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन् । छिट्टै मेलम्चीको पानी आउँदैछ । आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ । काठमाडौंमा मेट्रो रेल बन्छ । कतिपय त्यत्तिकै आत्तिएका छन् । यस्ता कुतर्कको पछि नलाग्न सबैमा अग्रह गर्छु ।’ ‘काठमाडौं–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्ने गरी काम अघि बढाइने पनि उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पुर्याएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने – ‘मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुनुहुन्छ । उहाँको योगदानलाई राष्ट्रले भुल्न हुँदैन ।’

कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व कायम भई मुलुक दिगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने धारणा राखे । जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनले भण्डारीको शालिक सहितको सुन्दर पार्क आफैँमा अनुपम छ भने ।महान्यायाधिवक्ता अग्नि खरेलले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको सुन्दर पार्कले सहरी सुन्दरता कायम गर्न तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको यो पार्कले शहरको सौन्दर्य बढाउन महत्वपूर्ण योगदान पुग्ने बताए । सो अवसरमा प्राधिकरणका प्रमुख आयुक्त तिवारीले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पार्कको साँचो हस्तान्तरण गरे भने उक्त साँचोलाई शाक्यले बाटिकाका कोषाध्यक्ष सुमित्रा कडरिया खरेललाई हस्तान्तरण गरे ।

कामनपा–३२ स्थित महादेवस्थन–कोटेश्वरमा तीन रोपनी १३ आना क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । पार्कमा मदन भण्डारीको पूर्ण कदको शालिक तथा आकर्षक रुख बिरुवासहितका बगैँचा रहेको छ । उक्त पार्कको तीन करोड २२ लाखको लागतमा बनाइएको हो । रासस

प्रतिक्रिया दिनुहोस