मुलुकको आर्थिक संमृद्धिमा मिडिया « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुलुकको आर्थिक संमृद्धिमा मिडिया


६ बैशाख २०७५, बिहिबार


काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले जमिनमाथिको सबै अधिकार राज्यले लिनु पर्ने धारणा व्यक्त गरेका छन् ।

बिहीबार राजधानीमा नयाँ सवाल डटकमले आयोजना गरेको ‘समृद्धिमा मिडियाको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै प्रमुख आयुक्त बास्कोटाले जमिन माथिको सबै अधिकार राज्यले लिए भ्रष्टाचार नियन्त्रण हुने धारणा व्यक्त गरे ।

बास्कोटाले आर्थिक वर्षको शुरुवात वेशाख १ गते नै हुनु पर्ने धारणा समेत राखे । ‘एउटै देशमा दुई पटक नयाँ वर्षको शुरुवात हुनु हुँदैन’, बास्कोटाले भने, ‘आर्थिक वर्ष र नयाँ वर्ष वैशाख १ गते नै सुरु हुनु पर्छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विकास कुराले नभई मस्तिष्कबाटै शुरु गर्नु पर्ने बताए । मुलुकको आर्थिक समृद्धिमा सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सञ्चार प्रेस सल्लाहकार अर्यालले माध्यमहरुले आर्थिकसँगै शिक्षा, स्वास्थ्य लगायतका विषयलाई समेत प्राथमिकता दिनु पर्ने बताए ।

प्रेस काउन्सिल नेपालका मूख्य अधिकृत झबिन्द्र भुसालले मुलुकको आर्थिक समृद्धिका लागि मिडियाले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाली सञ्चार माध्यममा राजनीतिक समाचार हाबी गरेको भन्दै मूख्य अधिकृत भुसालले समृद्धिका लागि उद्यमशील बन्न प्रेरित हुने खालका समाचार सम्प्रेषण गर्नू पर्नेमा जोड दिए ।

वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले नेपाली सञ्चार माध्यमहरुले राजनीतिक नेताका भाषणलाई विशेष प्राथमिकता दिने गरेको भन्दै दुःख व्यक्त गरे । मुलुक समृद्धिका लागि सांसदको भाषणलाई भन्दा कागती फलाएर जिविकोपार्जन गरेको समाचारलाई प्राथमिकता दिनु पर्ने संयोजक निर्दोषको भनाई थियो ।

कार्यक्रमको औपचारिक विसर्जन गर्दै नयाँ सवाल डटकमका सम्पादक नारदमुनि सिग्देलले आफू सधै समृद्धिको पक्षमा कलम चलाउने भन्दै सम्पूर्ण पत्रकारहरुलाई आर्थिक समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न आग्रह गरे । सिग्देलले मुलुकको आर्थिक संमृद्धिमा मिडियाको भुमिका सम्बन्धी बहसको प्रारम्भ भएको भन्दै मिडियाले व्यक्ति भन्दा पनि विषयवस्तुलाई महत्व दिनुपर्न धारणा राखे ।

प्रतिक्रिया दिनुहोस