बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर


६ बैशाख २०७५, बिहिबार


लमजुङ । बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो ।

क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए । यस भ्रमणले गुरुङ जातिको पैत्रिक थलो र ऐतिहासिकस्थलबारे थप जानकारी हुने र इतिहासको अनुसन्धानका लागि थप सहज हुने उनको भनाइ छ ।

‘हाम्रो पैत्रिक थलो, आदिम थलो, ऐतिहासिक थलो हेर्न र यसबारे केही गर्न सकिन्छ कि भनेर हामीले भ्रमण गरेका हौँ’ गुरुङले भने । टोलीमा लमजुङ, कास्की, स्याङ्जा, पर्वत, गोरखालगायत पुख्र्यौली गाउँ घर भई हाल बेलायत बस्दै आएका गुरुङ समुदायको सहभागिता रहेको छ । क्होलासोंथरमा पुगेर गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलोको अवलोकन तथा अध्ययन गर्ने तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए।

क्होलासोंथरलाई सरकारले विश्व सम्पदा सूचीमा राखेर यसको संरक्षण र संवर्दनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन् । यस्ता ऐतिहासिकस्थलको संरक्षण सम्वद्र्धन हुनसके पर्यटन प्रवर्दन र विकासमा सहयोग पुग्ने उनीहरुको धारणा छ ।

उनीहरु पोखराबाट बेँशीशहर हुँदै घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै क्होलासोँथर पुगेका हुन् । भुजुङसम्म जीप चढेर यात्रा गरेको टोलीले भुजुङबाट भने लेकको बाटो हुँदै चार दिन पैदलयात्रा गरेको थियो । क्होलासोंथरबाट कास्कीको सिक्लेस, ताङतिङ भएर आठौँ दिनमा पोखरा पुगेर यात्रा टुंगिने भ्रमण टोलीका संयोजक एवं तमु धीं युकेका सल्लाहकार एकेन्द्र गुरुङले बताए ।

टोलीलाई तमु ह्यूला छोंज धीं, गुरुङ राष्ट्रिय परिषद् लमजुङ, दक्षिण एशियाकै नमूना घलेगाउँ, तमु प्ये ल्हु संघ, पोंचुकों, भुजुङस्थित युम्पो विकास आमा समूह र लालीगुराँस युवा क्लबले छुट्टाछुट्टै स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस