नौ महिनामा १०६ जनाको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नौ महिनामा १०६ जनाको उद्धार


५ बैशाख २०७५, बुधबार


बैतडी । चालू आर्थिक वर्ष २०७४/०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

सीमा प्रहरी चौकी, झुलाघाटले दिएको जानकारीअनुसार उद्धार गरिनेमा सबैभन्दा बढी बालक रहेका छन् । गत साउनदेखि चैत महिना मसान्तसम्म ५६ बालक, २५ किशोर, पुरुष नौ, किशोरी छ, बालिका पाँच र पाँच महिला गरी १०६ जनाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयले जानकारी दिए । उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशारी बढी रहेका छन् ।

अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहैलहैमा लागेर पनि भागेर जाने गरेका प्रहरीले जनाएको छ । यस्तै, घरको आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको बताइएको छ । १२ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृति लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेका प्रहरीले जनाएको छ ।

यस्तै, चालू आवमा उमेर नपुगी बिहे गरेर भागेर भारत जाने जोडीको समेत उद्धार गरिएको जनाइएको छ । प्रदेश नं ७ सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सिमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस