सुरक्षित मातृत्व अभियान वर्ष घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुरक्षित मातृत्व अभियान वर्ष घोषणा


३ बैशाख २०७५, सोमबार


काठमाडौं । स्वास्थ्य मन्त्रालयले २०७५ साल र आगामी वर्षलाई सुरक्षित मातृत्व विशेष अभियान वर्षका रुपमा मनाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पाँचौँ सुरक्षित मातृत्व दिवस २०७५ को अवसरमा अभियान शुरु भएको घोषणा गर्नुभएको हो ।

महाराजगञ्ज शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उहाँले यो वर्ष र आगामी वर्षका लागि सुरक्षित मातृत्व विशेष अभियानका साथ देशभर चार चरणमा अघि बढाउने नीति तथा कार्यक्रम अघि सारेको बताउनुभयो । सो अभियानअन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म देशभरका सबै अस्पतालबाट पाठेघरको मुख, स्तन क्यान्सर परीक्षण गरिने गरिनेछ । फिस्टुल र क्यान्सर भए नभएको निःशुल्क परीक्षण गरिने छ ।

साउनदेखि असोजसम्म सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोषको स्थापना गर्ने लक्ष्य लिइएको राज्यमन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइनेछ, यो कोष आकस्मिक प्रसूति सेवामा उपयोग र प्रयोग गरिने छ ।”

अभियानको तेस्रो चरण कात्तिकदेखि पुससम्म सुरक्षित मातृत्वसम्बन्धी किशोर–किशोरी अवस्थादेखि नै जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी रुपमा निबन्ध र वक्तृत्वकलासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ भने चौथो चरण पुसदेखि फागुनसम्म सार्वजनिक विद्यालयमा अध्ययनरत किशोरी छात्रालाई महिनावारी हुँदा सरसफाइ चेतना अभिवृद्धिका लागि राष्ट्रव्यापी रुपमा स्यानेटरी प्याड वितरण गरिनेछ स्वास्थ्य राज्यमन्त्री अर्यालले जानकारी दिनुभयो ।

उहाँले यो अभियानलाई शिक्षासँगै किशोरी तथा महिलाको क्षमता अभिवृद्धिसँग पनि जोडेर काम गरिने बताउनुभयो । सो अवसरमा स्वास्थ्य राज्यमन्त्री अर्यालले शिक्षण अस्पतालमा महराजगञ्जमा सुत्केरी भएका पाँचजनालाई सम्मान गर्नुभयो । अस्पतालमा उपचाररत सुत्केरी आमा अनित श्रेष्ठ, कौशिला दनुवार, विमला थापा, कल्पना न्यौपाने र जानकी पौडेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस