बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने– मन्त्री थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने– मन्त्री थापा


२८ चैत्र २०७४, बुधबार


विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायको कानून निर्माण गर्नुपर्ने बताएकी छन् ।

अखिल नेपाल महिला संघ मोरङद्वारा आज यहाँ स्वागत बधाई कार्यक्रममा उनले वर्तमान अवस्थाको कानूनले बलात्कारका घटना रोक्न नसकिएकाले सर्वश्वहरणसहितको कडा कानून निर्माणमा संसद्मा छलफल चलाएको बताइन् ।

स्थानीय तहमा रहेका महिला प्रतिनिधिले समाजमा रहेको महिला हिंसा, बोक्सी प्रथा, दाइजो लिनेदिने कार्यलाई निरुत्साहित बनाउन अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् ।

उनले संघका अगुवा कार्यकर्तालाई महिला हिंसा, बलात्कारका घटनामा पीडितलाई उपचार र घटनाका दोषीलाई कानूनी प्रक्रियामा लगेर हिंसा न्यूनीकरण अभियानमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

मन्त्री थापाले दुई महिनाभित्र महिला बालबालिका मन्त्रालयले महिला हिंसा प्रभावित जिल्लामा अपराध न्यूनीकरण गर्न चेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताइन् । रासस

प्रतिक्रिया दिनुहोस