राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने


प्रशासन विशेष ब्युरो

२६ चैत्र २०७४, सोमबार


दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ ।

प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो ।

सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागाँईले रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका सत्र ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए। “सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ,”– उनले भने।

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैँकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस वैशाखको अन्तिम हप्ता नेपाल आइसक्ने र जेठको पहिलो हप्ताबाट सञ्चालन हुने गुरागाईँले बताए। नयाँ बस सञ्चालनका लागि दुवै समिति तथा प्रालिको टोली बस ल्याउनका लागि भारत गइसकेको छ ।

सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नापार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ । जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारी साधन तथा टर्सरी रुटमा साना सवारी साधन सञ्चालन गर्न पाइनेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस