ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक : उपसभामुख तुम्बाहाम्फे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक : उपसभामुख तुम्बाहाम्फे


२३ चैत्र २०७४, शुक्रबार


मोरङ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताएकी छन् ।

मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले शुत्रबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले संविधान जारी भइसकेपछि नेपालमा तीनै तहको निर्वाचन सम्पन्न भएको र तीनै तहका सरकारलाई जोड्नका लागि केही ऐन कानून निर्माण गर्न आवश्यक रहेको धारणा राखिन् ।

महिलाको आन्दोलनकै कारण राज्यको प्रमुख तहमा महिला पुग्न सफल भएको बताउनु हुँदै उनले अझै पनि धेरै आन्दोलन र अभियान चलाउन बाँकी रहेको छ भनिन् ।

नेपालमा महिला आन्दोलनको प्रकृति फरक रहेको बताउँदै उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘आन्दोलन भनेको महिलाको अवस्था जस्तो छ त्यसलाई परिवर्तन गरेर अगाडि बढ्न उत्प्रेरित गर्ने एउटा अभियान हो ।’

उनले मोरङ जिल्लामा महिला हिंसाको चपेटामा परेका महिलाको पुनःस्थापनाका लागि एउटा सुरक्षित आवास गृह निर्माणको तयारी भइरहेको जानकारी दिइन् ।

कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष कल्पना निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस