दुई जिल्ला जोड्ने पुल जीर्ण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई जिल्ला जोड्ने पुल जीर्ण


१८ चैत्र २०७४, आइतबार


पर्वत । दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् ।

फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल दुई दशक पहिले निर्माण भएकामा मर्मत हुन सकेको छैन । कालीगण्डकी तर्न बनाइएको पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी जोखिम मोलेरै भए पनि वारपार गर्न बाध्य भएको स्थानीयवासी कृष्णप्रसाद गौडेलले बताए । पटक पटक पुल मर्मतका लागि जिल्ला समन्वय समितिलगायत विभिन्न निकायमा माग गर्दा पनि मर्मतका लागि पहल नभएको उनले बताए ।

पुल मर्मत नहुँदा बागलुङका कुश्मीशेरा, बलेवा र बिनामारे तथा पर्वतको फलेवास क्षेत्रका बासिन्दालाई नदी तर्न समस्या परेको छ । कतिपयले जोखिम मोलेरै उक्त पुलबाटै वारपार गर्ने गरेका छन् भने कतिपय त्रासका कारण दुई घण्टा पैदल हिँडेर कुश्मा–कैंयाको अग्लो पुलमार्फत नदी तर्न बाध्य भएका छन् ।

‘काठको पुल कुनै न कुनै बेला दुर्घटना हुने निश्चित छ’, उनले भने । ‘उक्त पुल जोडले हल्लिने गरेको छ भने धेरै भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ ।’ दुई जिल्लाका दुई नगरपालिका जोड्ने उक्त पुल मर्मत तथा पुनःनिमाणका लागि दुवै नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ रहेको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पुलको अध्ययन अवलोकन गरेर दुई नगरपालिकाबीचको समन्वयमा मर्मत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस