एक दशकपछि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक दशकपछि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा


१३ चैत्र २०७४, मंगलबार


काठमाडौं । एक दशकपछि काठमाडौं उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको हो । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौं महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा ट्राफिक बत्ती सञ्चालन गरिएको हो ।

विसं २०७१ मंसिरमा नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलनको समयमा प्रयोगमा आएपनि उक्त ट्राफिक बत्ती राम्रोसँग सञ्चालनमा हुन सकेको थिएन । २०६३ सालदेखि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा थिएन ।

नयाँ बत्तीमध्ये नयाँ बानेश्वर चोकको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल र नारायणगोपाल चोकको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले रिमोर्ट थिचेर उद्घाटन गरे ।

यार्सा टेक्नोलोजी प्रालिले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको छ । बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिन्छ ।

प्रालिका इन्जिनियर सिद्दिक अन्सारी व्यस्त समय र सामान्य समयलाई लक्षित गरेर उक्त बत्ती निर्माण गरिएको बताउछन् । ‘व्यस्त समयलाई ४५ सेकेण्ड र सामान्य समयलाई ३० सेकेण्डमा सवारी पार गर्ने गरी प्रविधिको जडान गरिएको छ,’ उनी भन्छन् । व्यस्त समयमा अझै समय घटाउन सकिने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नयाँ बानेश्वरको पुनःनिर्माण र नारायणगोपाल चोकको नयाँ निर्माण गरिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मा सडक विभागबाट बत्ती बनाउने जिम्मा भर्खरमात्र महानगरपालिकाले पाएको भन्दै यसको औचित्य र आवश्यकता हेरेर अरु स्थानमा थप्ने बताउछन् । ‘पहिले बनाएको बत्तीले कत्तिको काम गर्छ त्यो हेरेर अरु बत्तीहरु क्रमशः निर्माण गर्दै लैजान्छौँ,’ उनले भने ।

नयाँ बानेश्वर चोकको पुनःनिर्माणका लागि १५ लाख र नारायणगोपाल चोकको नयाँ निर्माणका लागि २५ लाख लागत लागेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल ट्राफिक बत्तीको सुरुवातसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहज हुने बताउछन् । ‘प्रविधिको प्रयोगसँगै ट्राफिक जनशक्ति कम लाग्ने र काममा समेत सहज आउनेछ,’ उनले भने ।

महाशाखाका प्रमुख खनाल अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती लैजाने गरी सबै निकायसँग महाशाखाले समन्वय गर्ने बताउछन् ।

महाशाखाले ललितपुरका विभिन्न चोकहरुमा समेत ट्राफिक बत्ती राख्न ललितपुर महानगरपालिकासँग सम्झौता गरेर काम गरिरहेको छ । केही दिनभित्रै ललितपुरमा समेत ट्राफिक बत्ती सञ्चालनमा आउने महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस