शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री


१२ चैत्र २०७४, सोमबार


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताएका छन् ।

आज नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँच पुर्याउनका लागि ऐन बनाउने बताए । उनले शिक्षा क्षेत्रलाई जागिर खानेमात्र नभएर राष्ट्र निर्माण गर्ने थलोका रुपमा लैजानुपर्ने उल्लेख गरे ।

‘जागिरलाई केन्द्रमा राखेर अब शिक्षा नीति नियमसमेत बन्दैन । शिक्षालाई जागिरे मानसिकताबाट टाढा राख्नुपर्छ,’ उनले भने ।

मन्त्री पोखरेलले राजनीतिक पार्टीपिच्छे खोलिएका शिक्षक संगठनलाई गाभेर एउटै छाता संगठन महासंघ बनाउनुपर्ने बताए ।

उनले मुलुकमा समाजवाद आवश्यक रहेको औँल्याउँदै समाजवाद निर्माण गर्नका लागि शिक्षा क्षेत्रबाट अगुवाइ गरिनुपर्ने धारणा राखे ।

कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्नुपर्ने भन्दै यसै आर्थिक वर्षबाट शिक्षामा २० प्रतिशत बजेट छुट्याउनु पर्ने बताए ।

‘आजको समाजवाद र समाजवादी शिक्षा’ विषयक दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राजनीतिक विश्लेषक हरि रोक्का, झलक सुवेदीले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण कार्यक्रममा देशभरिका १२५ जनाको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस