जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गरिन्छ : मन्त्री महासेठ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गरिन्छ : मन्त्री महासेठ


४ चैत्र २०७४, आइतबार


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चुनाव अगाडि जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा साझा घोषणापत्रमा उल्लेख गरिएका सबै लक्षित योजना सम्पन्न गरेरै छाड्ने बताए ।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पाँच वर्षभित्रमा काठमाडौँमा रेलमार्ग निर्माण हुने दाबी गरे ।

मन्त्री महासेठले केही दिनभित्र नै काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाडौं उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि आवश्यक योजना बनाइने जानकारी गराए।

अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको बताउँदै स्रोत व्यवस्थापन गरी मुलुकमा भएका साधन र स्रोतलाई अधिकतम् परिचालन गरिने प्रष्ट पारे । उनले भने, ‘यसअघि ओली सरकाले पहिचान गरेका खनिज तथा खानी उत्खनन गरिने छ, एउटा खानी उत्खनन गर्न सकेमा करिब ५० वर्षलाई पुग्छ । हामीले नसकेको काम बाहिरको सहयोग लिएर गर्न सक्छौँ ।’

मन्त्री महासेठले २० वर्ष पुराना सवारी साधन हटाउने विषयमा आफूले विज्ञसँग सुझाव लिएर उचित निर्णय गर्ने बताउँदै उनले भने, ‘२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा सरकार गम्भीर छ ।’ रासस

प्रतिक्रिया दिनुहोस