छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका पनि छोरी मात्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका पनि छोरी मात्र


३० फाल्गुन २०७४, बुधबार


लिबाङ । रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा छन् । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गरेकी थिइन् ।

सुनारका अनुसार विवाह भएको एक वर्ष नपुग्दै उनको पहिलो सन्तानको जन्म भएको हो । सुन्तलीको कोखबाट २/३ वर्षको जन्मान्तरमा नौ बहिनी छोरी र तीन भाइ छोरा जन्मिए पनि उनको काखमा आठ बहिनी छोरी मात्र जीवित छन् ।

एक छोरी र तीन भाइ छोरा भने जीवित रहेनन् जसका कारण सुन्तलीले रातदिन यातना सहनुपर्यो । छोरा नपाएको र पाएका छोरा मारेको भन्दै उनका श्रीमानले मदिरा सेवन गरी रातदिन कुटपिट गर्ने, पेटभरि खानलाउन नदिने तथा घर निकाला गर्ने जस्ता सजाय दिइरहे । तर पनि सुन्तली जसोतसो जीवित छोरीको मुख हेरेर दिन गुजार्न बाध्य हुनु परेको थियो । उनका अनुसार छोराहरु जीवित नरहेपछि छोराको बाबु बन्ने सपना पूरा गर्न सुन्तलीका श्रीमानले सौता हालेका थिए ।

दुर्भाग्य नै भन्नुपर्छ सुन्तलीका श्रीमानले दोस्रो विवाह गरेपनि उनका श्रीमानको सपना पूरा हुन सकेन । दोस्रो श्रीमतीबाट पनि दुई बहिनी छोरीहरुको जन्म भयो । कान्छीबाट पनि छोरा नजन्मिएपछि सुन्तलीका श्रीमान्को छोरा जन्माउने सपना सपनामै सीमित रह्यो । कान्छी श्रीमतीले छोरा नपाएपछि सुनारले कान्छी श्रीमतीलाई छुट्टै राखेर पुनः छोरा पाएकी जेठी श्रीमतीसँग बस्दै आएका छन् । जेठीबाट आठ बहिनी र कान्छीबाट दुई बहिनी गरी सुनारका १० बहिनी छोरी जीवितै छन् ।

सुनारकी छोरीका अनुसार पितृसत्तात्मक सोच र चिन्तनका कारण श्रीमानले जे गरे पनि हुने मान्यता कायमै रहेको हुँदा सुनारले दोस्रो बिहे गरेका थिए र आफूखुशी कान्छी श्रीमतीलाई पन्छाएर जेठी श्रीमतीसँग बस्दै आउनु भएका छन् ।

‘मनपर्दा बिहे गर्ने मन नपर्दा छोड्न पाइने कस्तो गजबको हाम्रो परम्परा,’ उनले भने । हिजोआज यो दम्पती निकै चिन्तित छ । बाचुञ्जेल पाल्न र मर्ने बेलामा चितासम्म पुर्याउन पनि छोरा नै चाहिने मान्यता बोकेको सुनार दम्पतीलाई जीवित छोरीभन्दा मरेका छोराको यादले पिरोल्ने गर्छ । सबै छोरी विवाह गरेर घरघर गइसकेका छन् । उमेरमा सधैँ कुटपिट गरेर यातना दिएकी श्रीमती नै आज सुनारको सहयात्री बनिरहेकी छन् ।

सुन्तलीका अनुसार छोरा नभएको भन्दै गाउँलेले हेलाको भावले हेर्न थालेपछि उनमा झन् निराशा थपिने गर्छ । बेलाबेला गाउँलेले सुनारको सम्पत्तिमा अपुताली पर्नेभो भनेको सुन्दा सुनार दम्पतीलाई असह्य पीडा हुने गर्छ । ‘यौटै छोरा बाँचेको भए सौता पनि आउने थिइन र मैले श्रीमानबाट पनि छोरी पाएका कारण उमेरभर पीडा भोग्नु पर्ने थिएन कि,’ उनले गुनासो गरिन ।

धेरैजसो अभिभावकमा आज पनि छोरा पाउने लालसा घटेको छैन । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा सुत्केरी हुन आएका करीब ७५ प्रतिशत गर्भवती महिलाले छोरा नै जन्माउन चाहेको बताए । थबाङ गाउँपलिकाकी २४ वर्षीया रामकुमारी बाँठाका तीन बहिनी छोरी छन् । उनी पुनः गर्भवती भएकी छन् । आइतबार जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा आफ्नो स्वास्थ्य परीक्षण गराउन आएकी बाँठालाई छोरा नै चाहिएको छ ।

यस्तै, चिकित्सकले यही फागुन १९ गते सुत्केरी हुने मिति दिएपनि सुत्केरी व्यथा नलागेपछि जिल्ला बाहिरको अस्पतालमा सुत्केरी हुन हिँडेकी एक ४२ वर्षीया युवतीले पनि आफ्नो नाम उल्लेख नगर्ने सर्तमा छोरा नै चाहिएको बताए ।

उनका पनि घरमा २१ वर्ष, १५ वर्ष, ८ वर्ष र ४ वर्षका गरी चार बहिनी छोरी छन् । तर पनि उनी आफ्नो तथा समाजका लागि भन्दै छोरा जन्माउन चाहन्छन् । ‘छोराछोरी बराबर भन्छन् तर बराबर हुनै सक्दैन, छोरा भनेको छोरा नै हो त्यसैले छोरा जन्माउन चाहन्छु, तर हेरौँ भाग्य कस्तो छ ? भाग्यमानी छु कि अभागी’, उनले भने ।

यस्तै कारणले गर्दा हाम्रो समाजमा अझै पनि छोरा र छोरीका बीचको विभेद अन्त हुन सकिराखेको छैन । समानताका कुरा नारा र भाषणमा मात्र सीमित बनेका छन् । छोरा नपाए सौता हाल्ने, श्रीमतीलाई कुटपिट गर्ने, खानलाउन नदिने तथा घर निकाला गर्ने परम्परा अझै पनि देख्न र सुन्न पाइन्छ जसका कारण हिंसामुक्त हुन महिला पनि छोरा नै जन्माउन चाहन्छन् ।

ठूलो संख्याका महिला पछिल्ला दिनमा न्याय खोज्न भन्दै सरोकारवाला निकायमा पुग्ने गरेका छन् । त्यसैले छोरा होस् वा छोरी दुवै जन्मनुमा महिला र पुरुष दुवैको समान जिम्मेवारी रहन्छ भन्ने कुरा सबैलाई बुझाउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस