प्रदेश ५ मा सरकार विस्तारको तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश ५ मा सरकार विस्तारको तयारी


३० फाल्गुन २०७४, बुधबार


काठमाडौं । प्रदेश ५ मा सरकार विस्तारको तयारी भएको छ । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म सरकार विस्तार हुन सकेको थिएन । ३ फागुनमा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।

अब विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्रका सांसदलाई मन्त्री बनाउनुपर्ने दबाबसमेत परेको छ । अहिले लुम्बिनी क्षेत्रबाट एकजना मात्र मन्त्री छन् । महिलाको पनि सहभागिता गराउने तयारीमा दलहरू लागेका छन् । राष्ट्रपति चुनावलगत्तै सरकार विस्तार गर्ने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताए । एमाले र माओवादी दुवैका तर्फबाट सरकार विस्तारको तयारी भइरहेको उनले बताए । अब विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्र र महिलाको सहभागिता हुने गरी तयारी भएको चौधरीको भनाइ छ ।

लुम्बिनी क्षेत्रका एमाले र माओवादीका सांसद प्रदेश सरकारको मन्त्री बन्न आकांक्षी देखिएका छन् । एमालेबाट रुपन्देहीका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका कमल श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेलगायत आकांक्षी देखिएका छन् । त्यसैगरी, माओवादीबाट रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका सुर्दशन बराल, पाल्पाका तुलाराम घर्तीमगरलगायत आकांक्षी छन् ।

मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम पनि सरकारमा जाने सम्भावना बढेको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले केन्द्र र प्रदेशमा पार्टी सरकारमा जाने सम्भावना रहेकाले पोखरेललाई विश्वासको मत दिएको बताए । पाण्डेले पार्टीले केन्द्रमा एमालेसँग छलफल जारी राखेको र केन्द्रसँगै प्रदेश ५ मा पनि सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताए । प्रदेश ५ मा फोरमले दुई मन्त्रालय माग गर्ने पाण्डेले बताए ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका मन्त्रालयको ढाँचा नै ठीक नभएको बताएका छन् । ‘६ वटा ढाँचा वैज्ञानिक देखिएका छैनन्, आवश्यकताका हिसाबले जस्टिफाई गर्न सकिएको छैन,’ उनले भने । सोमबार भएको पत्रकार सम्मेलनमा प्रदेश ५ मा सहरी विकास, पर्यटन मन्त्रालयको पनि आवश्यकता हुन सक्ने बताए । उनले प्रदेशमा कति मन्त्रालय र कति सदस्यीय मन्त्रिमण्डल बनाउनेबारे स्पष्ट पारेनन् । त्यस्तै, उनले संघीय समाजवादी फोरमको सरकारमा सहभागिताका विषयमा अझै टुंगो नलागेको बताए । उनले भने, ‘राष्ट्रियस्तरमा छलफल चलिरहेको छ, केन्द्रमा के हुन्छ, त्यहीअनुरूप प्रदेशमा पनि हुन्छ ।’

अब विस्तार हुने सरकारमा चार मन्त्री थपिने सम्भावना रहेको मन्त्री बैजनाथ चौधरीले बताए । कुन पार्टीबाट कतिजना मन्त्री बनाउने भन्ने अझै पनि टुंगो लागेको छैन । माओवादीलाई थप एक मन्त्री दिएर मनाउने रणनीतिमा एमाले रहेको छ । तर, माओवादीले त्यसमा चित्त बुझाउने सम्भावना कम छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम सहभागी हुने सम्भावना रहेकाले भागबन्डा मिलाउन कठिन भएको हो । माओवादी सरकार विस्तारका लागि तयारी अवस्थामा रहेको माओवादीका संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाबी गरे । सबै क्षेत्र समेटिने गरी सरकार विस्तार गर्ने तयारी भएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस