आर्यघाटमा पनि कमिसन ! « प्रशासन
Logo ४ जेष्ठ २०७९, बुधबार
   

आर्यघाटमा पनि कमिसन !


२७ माघ २०७४, शनिबार


काठमाडौं । पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार सामग्री खरिदमा कमिसनका लागि आलोपोलो प्रणाली लगाइएको छ । दाहसंस्कार गर्दा आवश्यक पर्ने बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामग्री खरिद मृतकका आफन्तको चाहनानुसार नभएर पालोअनुसार तोकिएका पसलमा खरिद गर्नुपर्ने बाध्यता छ ।

शोकमा परेका आफन्तलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले दाहसंस्कार सामग्री ‘फलानो पसलबाट किन्नुस्’ भन्दै पसल तोकिदिने गरेका छन् । शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा आलोपालो प्रणाली लगाइएको खुलेको छ ।

माघ १९ गते कुपण्डोलका विष्णु खड्कालाई दाहसंस्कारका लागि आर्यघाट पुर्याइयो । दाहसंस्कारका लागि सुरुमा कोषको कार्यालयमा वातावरणीय शुल्क तथा जलाउनेको ज्यालासहित २८ सय रुपैयाँ तिरेर नाम दर्ता गरे आफन्तले । दर्तापछि कोषका कर्मचारी शम्भु पौडेलले भने, ‘यो चिट लिएर सामान किन्न पारीको पसलमा जानुस् ।’ मृतक खड्काका आफन्त सामग्री किन्न चिट बोकेर ब्रह्मनाल पारीको घाटसेवा पसलमा पुगे ।

सोही दिन मृत्यु भएकी मैया कुँवरका आफन्तले पनि शव घाटमा पु¥याएपछि कोषको कार्यालयमा गएर २८ सय बुझाई नाम दर्ता गराए । त्यसपछि मृतक कुँवरका आफन्तलाई कोषका कर्मचारीले पसल देखाउँदै भने, ‘यो चिट लिएर त्यहाँ जानुस् ।’ आफन्त चिट बोकेर किरियापुत्री घरसँगै रहेको पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेडमा दाहसंस्कार सामग्री किन्न गए ।

कोषका कर्मचारीले मृतक खड्का र कुँवरका आफन्तलाई मात्रै होइन, आर्यघाटमा ल्याइने सबै मृतकका आफन्तलाई यसैगरी पसल तोकेर दाहसंस्कार सामग्री खरिद गर्न पठाउँछन् । कोषबाट दिएको चिट बोकेर मृतकका आफन्त कोषका कर्मचारीले तोकेको पसलमा पुगेर चिट छोडेपछि कोषबाट शव जलाउन खटिएका व्यक्तिले दाहसंस्कार सामग्री लिएर आउँछन् । स्रोतका अनुसार शव जलाउने र पसललेले मिलेर बिलमा थप सामग्रीसमेत जोड्छन् । शोकमा परेका मृतकका आफन्तले कति र कुन सामग्री लाग्छ भनेर ध्यान नदिने हुनाले अनावश्यक सामग्री पनि आवश्यक छ भनेर बिलमा चढाउने गरेको स्रोतको भनाइ छ ।

दाहसंस्कारपछि मृतकका आफन्त पसलमा गएर बिलअनुसार सामग्रीको भुक्तानी गर्छन् । नागरिकलाई प्राप्त भुक्तानी बिल हेर्दा दुईतिरै फरक मूल्य देखिन्छ । सहकारी पसलमा प्रतिमाको मूल्य २५ रुपैयाँ छ भने त्यसैलाई निजी पसलले दुई सय रुपैयाँमा बेच्दै आएको बिलबाट देखिन्छ । आर्यघाटमा दाहसंस्कार सामग्री बेच्ने सहकारी र निजी गरी दुइटा पसल छन् । सहकारी पसलले फूलमाला ४० रुपैयाँमा बिक्री गर्छ भने निजीले ६० रुपैयाँ लिएको नागरिकलाई प्राप्त माघ १९ गते काटेको बिलमा उल्लेख छ । सहकारी पसलले एक मुठा दाउराको ६० रुपैयाँ र निजीले ७० रुपैयाँ, सहकारीले बाँस ७० र निजीले ९० रुपैयाँ, चार मिटर कात्रो कपडा सहकारीले दुई सय र निजी पसलले तीन सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।

यसरी बिलमै फरक मूल्य राखेर निजी पसलले मृतकका आफन्तलाई महँगो मूल्य तिराउँदा पनि कोष चुपचाप छ । कोषले उल्टै निजी पसलको बिक्री नहोला भनेर पालो प्रणाली कायम गर्दै ग्राहक बाँडिदिने काम गरिरहेको छ । दाहसंस्कारमा आर्थिक अवस्थाअनुसार न्यूनतम पाँच हजार रुपैयाँको सामान लाग्छ । आर्यघाटमा दैनिक दर्जनौं शव लगिन्छ । यसरी हेर्दा दाहसंस्कारका लागि दैनिक लाख रुपैयाँभन्दा बढीको सामग्री बिक्री हुने देखिन्छ । निजी पसलबाट कोषका कर्मचारीले कमिसन पाउने हुँदा पालो बाँडेर ग्राहक पठाउने गरेको दाबी स्रोतको छ । स्रोतका अनुसार तलदेखि माथिसम्मै कमिसन सेटिङले गर्दा कोष चुपचाप बसेको हो ।

कोषका सदस्यसचिव प्रदीप ढकाल पालो प्रणाली थाहा नभएको बताउँछन् । उनले पालो प्रणालीबारे केही जानकारी नभएको र पालो प्रणाली लगाउनु ठीक नरहेको बताए ।कोषअन्तर्गतको आर्यघाट व्यवस्थापन महाशाखाका प्रमुख राजकुमार रेग्मी पनि सहकारी पसल कोषको प्राथमिकतामा रहेको बताउँछन् । ‘सहकारी पसलमा सुलभ मूल्यमा सामान पाइने हुँदा सहकारीबाटै किनून् भन्ने चाहन्छौं,’ उनले भने, ‘त्यसैले पालो प्रणाली लगाएर निजीलाई उकास्ने पक्षमा छैनौं ।’ उनले कोषले पालो प्रणाली नलगाएको दाबी गरेका छन् । ‘शोकमा परेका बेला ठगिएलान् भनेर सहकारी पसल खोल्न लगाएका हौं,’ उनले भने, ‘अनि हामीले पालो लगाएर किन निजीलाई उकास्ने ?’

तर, कोषकै कर्मचारी भने पालो प्रणाली रहेको स्वीकार्छन् । ‘ग्राहकले फलानो पसलमा किन्छु भन्दा पालोअनुसार किन्नुस् भनेर बाध्यचाहिँ पार्दैनौं,’ कोषका कर्मचारी पौडेलले भने, ‘शोकमा परेका बेला प्रायः ग्राहकले केही नभन्ने हुँदा हामीले लगाएको पालोअनुसारको पसलबाट सामान खरिद गराउँछौं ।’ दुइटै पसल आर्यघाटलाई लक्षित गरेर खोलिएकाले बराबर नै बिक्री होस् भनेर पालो प्रणाली लगाएको पौडेलले बताए । दुइटै पसलमा सामानको मूल्य खासै फरक नभएको उनको भनाइ छ । ‘सहरकारीमा सस्तो हुनुपर्ने हो तर खासै सस्तो छैन्,’ आर्यघाटमा खटिएका पौडेलले भने, ‘सहकारी र निजी दुवै पसलको मूल्य उस्तउस्तै देखिन्छ ।’

तर बिल हेर्दा तुलनात्मक रुपमा सहकारीमा सस्तो देखिन्छ । सहकारीमा सस्तो भएकै कारण सबै खरिदकर्ताले सहकारीमा किन्देलान् भनेर कोषले निजी पसलको पनि व्यापार गराउन पालो प्रणाली लगाएको कोषकै कर्मचारीको भनाइबाट स्पष्ट हुन्छ । ‘कोषका कर्मचारीले पालो लगाएर निजी पसलमा ग्राहक पठाएबापत निश्चित प्रतिशत कमिसन पाउँछन्,’ स्रोतले भन्यो, ‘त्यसैले कोषका कर्मचारी सक्दो बढी निजी पसलबाट सामान किनाउने कसरतमा हुन्छन् ।’ कमिसनबापत प्राप्त रकम कोषका तल्लो तहदेखि माथिसम्मका कर्मचारीले मिलाएर लिने गरेको दाबी स्रोतको छ ।

घाटसेवा निजी पसल सञ्चालक भने कोषले ग्राहक पठाएबापत कमिसन रकम बुझाउनुनपर्ने स्वीकार गर्दैैनन् । ‘हामी वर्षांैदेखि घाटमा सेवा दिइरहेका छौं,’ घाट सेवा पसल सञ्चालकमध्येका एक श्रीहरि नेपालले भने, ‘पहिला हामी पारि थियौं, अहिले यता ९बह्मनाल वारि० सरेका हौं ।

यहाँ टाढा भएकाले ग्राहक नआउलान् भनेर कोषले पालो लगाए ग्राहक पठाउँछ । त्यसबापत हामीले कुनै रकम तिर्न पर्दैन ।’ उनका अनुसार शव दर्ता गराएपछि कोषका कर्मचारीले पालोअनुसार चिट दिएर सामान खरिद गर्न पठाउँछन् । मृतकका आफन्तले चिट बुझाएपछि शव जलाउन कोषबाट खटिएको व्यक्ति आएर आवश्यक सामग्री लैजान्छन् । केही आफन्तले चाहिने सामग्रीको सूची आफैं बनाए पनि धेरैले भने शव जलाउने मान्छेलाई नै आवश्यक सामग्रीको सूची बनाउन लगाउने उनले बताए ।घाट सेवा पसल १० जना व्यक्ति मिलेर संयुक्त रुपमा सञ्चालित छ । पहिला छुट्टाछुट्टै चलाइरहेका पसल केही वर्षअघिदेखि सबै मिलेर एउटै बनाएका हुन् ।

कोषले सहकारी पसललाई २०७१ सालमा अनुमति दिनुअघि आर्यघाटमा एउटा घाट सेवा पसलमात्रै थियो । कोषले सहकारी पसल पनि थप्ने भएपछि घाट सेवा पसलका सञ्चालक र आर्यघाटमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका थिए । पसल सञ्चालकहरुले त्यसबेला कोषमा बुझाएको पत्रमा ‘घाट सेवा पसलले लामो समयदेखि दिनरात नभनी सेवा दिँदै आइरहेको बेला यसलाई प्रतिकूल असर पर्नेगरी सहकारी पसललाई अनुमति दिएको हुँदा कोषबाट यो निर्णय तत्काल फिर्ता गरियोस्’ भन्ने उल्लेख छ ।

घाट सेवा पसल र घाटमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिए पनि कोषले सहकारी पसलको अनुमति खारेज गरेन । सहकारी पसल खुलेसँगै घाट सेवा पसलको एकाधिकार तोडियो । सहकारी पसल दिनमा मात्रै खुल्न पाउने नियम कोषले बनायो । २०७२ वैशाखको भूकम्पताका घाट सेवा पसलले सेवा दिन सकेन । त्यही बेला पारेर सहकारी पसललाई पनि २४ घन्टा खोल्ने अनुमति दिइयो । त्यसयता सहकारी पसल र घाट सेवा दुइटै पसल २४ सै घन्टा खुल्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस