प्रदेशसभा ३ : आज पहिलो बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभा ३ : आज पहिलो बैठक


१८ माघ २०७४, बिहिबार


हेटौंडा । देश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा बिहीबार बस्दै छ । प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ ।

पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन् । यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनेछन् ।

३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताको बुधबार साँझ बैठक बसी उक्त कार्यसूची तय गरिएको हो । बिहीबारको पहिलो बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित भएपछि प्रदेशसभाको नियमित काम अघि बढाउन सहज हुनेछ ।

अन्तरिम कार्यविधिभित्र बैठक सञ्चालन, सभामुखको काम, कर्तव्य र अधिकार, संसद् बैठकलाई व्यवस्थित रूपमा सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समिति गठन गर्ने, प्रदेशसभा सदस्यको आचारसंहितालगायत विषय रहेको प्रदेशसभा सचिवालयका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

पहिलो प्रदेशसभा बैठक भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका एक/एक जना नेतालाई बोल्न दिनेसमेत कार्यसूची रहेको उनले जानकारी दिए। पाण्डेले दिएको जानकारीअनुसार बिहीबारको बैठकमा सभामुख चयनको प्रस्ताव पेस गरेपछि ज्येष्ठ सदस्य पौडेलले माघ २९ गते सभामुख चयन गर्ने तिथि बैठकबाट तोक्नेछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस