कारागारबाट फरार ‘टिके’ प्रहरी इन्काउन्टरमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कारागारबाट फरार ‘टिके’ प्रहरी इन्काउन्टरमा


१४ माघ २०७४, आइतबार


काठमाडौं । झन्डै एक दर्जन चोरी घटनामा संलग्न रामेछापका टीकाबहादुर थापामगर ‘टिके’ प्रहरीको इन्काउन्टरमा परेका छन् । ४ माघमा डिल्लीबजार कारागारबाट फरार उनलाई शनिबार चितवनमा प्रहरीले गोली हानेर घाइते बनाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार प्रहरीको जवाफी फायरमा उनको तिघ्रा र हातमा गोली लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ ।

ना.४७प ५०५२ नम्बरको मोटरसाइकलमा भागिरहेका उनी शनिबार साँझ करिब ५ बजे भरतपुरस्थित रामनगरमा प्रहरी इन्काउन्टरमा परेका थिए । मोटरसाइकलबाट गोली हानेपछि प्रहरीले जवाफमा फायर खोलेको थियो । मोटरसाइकलचालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । ‘डिल्लीबजार कारागारबाट झुक्याएर भागेपछि प्रहरीले उनको पिछा गरिरहेको थियो । मोटरसाइकलमा भागिरहेका उनी रामनगरमा भेटिए । पिछा गर्ने क्रममा प्रहरीलाई गोली हानेपछि जवाफमा प्रहरीले फायर खोलेको हो,’ महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने । उनलाई महाशाखाले ७ असार ०७२ मा चोरी मुद्दामा पक्राउ गरेको थियो । दोषी प्रमाणित भएपछि उनी डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै थिए । कारागारको तारजाली काटेर ४ माघमा उनी फरार भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस