४३ सिटमा वाम गठबन्धनको भागबन्डा : एमालेका २९, माओवादीका १४ उम्मेदवार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४३ सिटमा वाम गठबन्धनको भागबन्डा : एमालेका २९, माओवादीका १४ उम्मेदवार


४ माघ २०७४, बिहिबार


काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा एमाले र माओवादीले ४३ सिटमा साझा उम्मेदवार उठाउने समझदारी गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको वाम गठबन्धन कार्यदल बैठकले ४३ सिटको भागबन्डा टुंगो लगाउँदै साझा उम्मेदवारी दिने निर्णय गरेको हो । यसको अन्तिम छिनोफानो भने शीर्ष नेताहरूले लगाउनेछन् ।

सातवटै प्रदेशमा दुवै दलले प्रदेश सभा र स्थानीय तहमा जितेको सिटसंख्या र मतपरिणामलाई मुख्य आधार मानेर सिट बाँडफाँडको निर्णय भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । कार्यदलले सिट बाँडफाँडका लागि निर्वाचनमा प्राप्त परिणाम, पार्टी एकताको स्पिरिट, सम्भावित उम्मेदवारको व्यक्तित्व र कार्यक्षमता तथा सन्तुलन र समावेशितासहित चारवटा मापदण्ड बनाएको थियो । २४ माघका लागि घोषित राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले १० माघमा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कार्यदलले मधेसकेन्द्रित दलसहित अन्य पार्टीसँग पनि छलफल गरेर बाँकी १३ सिटको उम्मेदवारी टुंगो लगाउने भएको छ । जित्ने निश्चित सिटमा मात्र भागबन्डा गरेका दुई दल अन्य साना दलसँग समेत छलफल गरेर बाँकी सिटको उम्मेदवारी टुंगो लगाउने निष्कर्षमा पुगेका हुन् । ‘अरू पार्टीसँग पनि छलफल गरेर बाँकी सिटमा उम्मेदवारी टुंगो लगाउँछौँ,’ बैठकपछि कार्यदलमा एमालेतर्फका संयोजक सुवास नेम्वाङले भने, ‘सिट बाँडफाँडसहित छलफलको निष्कर्ष पार्टी एकता संयोजन समितिको बैठकमा सुझाब प्रतिवेदन पेस गर्नेछौँ ।’ एमाले अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्किएलगत्तै प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । राजमो, नेमकिपा, नयाँ शक्ति, साझा विवेकशीललगायतका साना दल र स्वतन्त्रबाट जितेका प्रतिनिधिसँगसमेत छलफल गरेर सहयोग लिने वाम गठबन्धनको रणनीति छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस