राजस्व संकलनको चटारो : राति आठ बजेसम्म संकलन गरियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राजस्व संकलनको चटारो : राति आठ बजेसम्म संकलन गरियो


१ माघ २०७४, सोमबार


आचारसंहिता

काठमाडौं । गत आर्थिक वर्षको आयकर दाखिला गर्ने अन्तिम दिन आइतबार राति आठ बजेसम्म राजस्व संकलन गरिएको छ । पछिल्लो समय कर तिर्नेको संख्या बढेपछि बैंकहरूलाई अन्तिम समयमा राजस्व संकलनमा भ्याइनभ्याई भएको थियो ।

आइतबार राति आठ बजेसम्म राजस्व संकलन भएको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले जानकारी दिए । ‘पछिल्लो समय भीड हुन्छ भनेर हामीले रातिसम्म बैंक खोल्न भनेका थियौं । सबैजसो बैंकमा राति आठ बजेसम्म राजस्व तिर्ने करदाता थिए ।’ बैंक मात्र होइन, सरकारले चेक साट्न क्लियरेन्स हाउससमेत रातिसम्म खोल्ने व्यवस्था गरेको थियो । अर्थ मन्त्रालयले राजस्व संकलन गर्ने बैंकभन्दा करदाताले अरू बैंकको चेक दिएमा तत्काल साटिने व्यवस्थासमेत गरेको थियो । मन्त्रालयको यस्तो व्यवस्थाले कर बुझाउन सजिलो भएको कलंकी सेवा कार्यालयमा कर बुझाउन आएका वासुदेव शर्माले बताए ।

पछिल्लो समय क्लियरिङ हाउसमा दैनिक औसतमा ४० हजार चेकबाट २३ अर्ब हाराहारीमा कारोबार हुने गरेको थियो । आइतबार भने ६८ हजार छ सय ७१ चेक साट्न क्लियरिङ हाउस आएका थिए । साढे दुई बजे बन्द हुने क्लियरिङ हाउसलाई आइतबार साढे पाँच बजेसम्म खुला राखिएको थियो ।

आइतबार मात्रै ४३ अर्बको चेक क्लियरिङ भएको क्लियरिङ हाउसका अपरेसन म्यानेजर मुन्नीराज भण्डारीले बताइन् । ‘राजस्व संकलनका कारण आइतबार बढी प्रेसर भयो। हामीले सोचेभन्दा बढी चेक मात्र आएनन्, क्लियरिङको रकम पनि दोब्बरजस्तै पुगेको छ। हामीले राजस्व संकलनका लागि सहजीकरण गर्न ढिलासम्म काम गरेर चेक क्लियरिङ गर्‍यौं’, उनले भनिन् ।

अर्थ मन्त्रालयले पुस मसान्तसम्म तीन खर्ब ३४ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । २९ पुससम्म तीन खर्ब १८ अर्ब रूपैयाँ संकलन गरेको थियो । २९ गते शनिबार सरकारी बिदा भए पनि बैंक खोलेर राजस्व संकलनको व्यवस्था मिलाइएको थियो । ३० गते १० बजेदेखि राजस्व बुझाउनेको भीड लागेका कारण रातिसम्म बैंक सञ्चालनमा थिए ।

कर राजस्व संकलनका लागि महत्वपूर्ण महिनाका रूपमा पुसलाई लिइने गर्छ । पुस मसान्तसम्म आन्तरिक राजस्व विभागले एक खर्ब ३६ अर्ब रूपैयाँ कर संकलन गर्ने लक्ष्य राखेको थियो । शनिबारसम्म एक खर्ब १४ अर्ब रूपैयाँ मात्र संकलन भएको थियो । आइतबार २२ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखेको विभागले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस