जाडो थेग्न परालकै भर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जाडो थेग्न परालकै भर


३० पुस २०७४, आइतबार


इटहरी । सरस्वती ऋषिदेवलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन । ‘नागरिकता हेर्नुपर्छ,’ उनले भनिन्, ‘१५/१६ वर्षमा बिहे गरेको ।’ उनी अहिले सायद २५÷२६ वर्षकी भइन् । तर, उनी चार जना छोराछोरीकी आमा भइसकेकी छन् । ‘छोरी पाउने भनेर छोरै छोरा भए,’ कान्छो सन्तानका रूपमा छोरी पाएकी उनले भनिन्, ‘छोराले भन्दा बढी माया गर्छ भनेर छोरी पर्खेको, अब नपाउने ।’

उनका सन्तान नजिकैको मनमोहन प्राविमा पढ्छन् । बिदाका दिन भएकाले शनिबार उनीहरू गाउँमै खेलिरहेका थिए । उनका श्रीमान् रिक्सा चलाउन बिहानै घरबाट निस्केका थिए । उनी भने छिमेकीसँग घर अगाडिको कच्ची बाटोमा घुर तापिरहेकी थिइन् । उनको घरअगाडि बाटोभरि बालिएको परालको धुवाँ उडिरहेको थियो । थारू र ऋषिदेव समुदायको बसोबास रहेको उक्त बस्तीको दिनचर्या अहिले बिहान र बेलुका घुर ताप्नु बनेको छ । ‘निकै जाडो छ, छोराछोरीलाई लुगा किन्नुभन्दा फोहोर र दाउरा बाल्नु नै सस्तो पर्छ,’ सरस्वतीले भनिन् ।

उनको माइलो छोरा नौ वर्षको भयो। हिँड्न सक्दैन । जन्मिँदै अपांगता भएको उनको छोरो दुईकोठे प्लास्टर नगरिएको पक्की घरभित्र परालमाथि ओछ्याइएको गुन्द्रीमा बसेको थियो । उनी भन्दै थिइन्, ‘जाडोमा ओढ्न भनेर एउटा ब्ल्यांकेट त नगरपालिकाले सहयोग गरेको छ, त्यही पनि छोरोले दिसा गरेर फोहोर बनाइदिन्छ, दुई वटा मागेको दिएनन् ।’

सरकारको दुई लाख रुपैयाँ सहयोगमा उनले इटहरी १० को ऐलानी जग्गामा इँटाको घर बनाउन सकेकी हुन् । घर त बन्यो तर घरभित्र एउटा औसत परिवारलाई चाहिने सामान भने छैन । न खाट, न कुर्सी, न टेबल, न कार्पेट । ऋषिदेव परिवार गुन्द्री ओछ्याएर सुत्ने गर्छ । ‘जाडोमा चार–पाँच महिनाचाहिँ पराल ओछ्याउनुपर्छ,’ उनले भनिन् ।

उनले भुइँमा ओछ्याएको परालसमेत किनेर ल्याएकी होइनन् । ‘एक सोरी परालको चार सय रुपैयाँ पर्छ,’ उनले निर्धक्कसाथ भनिन्, ‘दुई सोरी पराल राति–राति चोरेर ल्याएको, यति भए जाडो कट्छ ।’

उनले ‘जीवन विकास समाज’ लघुवित्तबाट ऋणसमेत लिएकी छन् । सरकारले दिएको दुई लाखबाट बनाएको पक्की घर अगाडिको माटोको घर उनले एक लाख रुपैयाँ हालेर बनाएकी हुन् । त्यो पनि ऋण काढेर । उक्त ऋण उनी अहिले विस्तारै तिर्दै छिन् । ‘१५ दिनमा ३५ सय रुपैयाँ तिरिसकें,’ उनले भनिन्, ‘कमाएको पैसा ऋण तिर्दै र दुई छाक खाँदै सकिन्छ, खाट र न्यानो लुगा कसरी किन्नु ?’

सरस्वतीको घरछेउमा उनकै जस्तै अर्को घर थियो। उक्त घर केही दिनदेखि बन्द छ । ‘छिमेकीहरू पाहुना लाग्न शिवनगर गएका छन्,’ सरस्वतीले उक्त घर देखाउँदै भनिन्, ‘पाहुना लाग्न जाँदा उनीहरूले राहतबापत पाएको कम्बल हामीलाई छाडेर गएका छन्,’ आफूले लगाएको कुर्ताको फेर समात्दै भनिन्, ‘यो पनि जाडोले गर्दा उनीहरूसँगै मागेर लगाएको, उनीहरू फर्केपछि फिर्ता गर्नुपर्छ ।’

लुगा पनि मागेर लगाउन बाध्य सरस्वतीको गाउँमा उनको जस्तै दुई दर्जन बढी परिवार छन् । जो जाडोमा शीतले नुहाउँछन् । उनीहरू अहिलेसम्म खाटमा सुतेका छैनन् । ढोकै नभएको घरमा बस्दै आएका धेरैले सरकारी सहयोगमा पक्की घर त बनाएका छन् तर त्यो घरले न्यानो भने दिँदैन । धेरै नेपाली जाडोमा सिरक डसनाका खोल फेर्छन्, उनीजस्ता विपन्न समुदायसँग न सिरक–डसना छ, न खोल फेर्ने पैसा । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस