अरू त अरू,
घामले तातो दिँदैन पटक्कै
बनस्पतिले शीतलता छर्दैन पटक्कै !
न त पहाड अडिन सक्छ स्खलित नभै
न त मैदान फैलन सक्छ संकुचित नभै ।
हिमालको पनि अचेल रुन्चेहाँसो टल्किन्छ
नदि स्वयंमा पानीको अनिकाल छल्किन्छ ।
अरू त अरू,
मानवमै छ खडेरी मानवताको
देवस्थलमै छ अभाब देवताको ।
गाईहरू हेर्दाहेर्दै गधा बन्दैछन्
गुराँसहरू काउसो बन्छु भन्दैछन् ।
सिम्रिकको धुलो छारो बनी उडिरहेछ
डाँफे मरुभूमिमा बसाइँ सरिरहेछ ।
अरू त अरू,
घर आफैं बेघर भएको छ
समाज आफैं नासमझ भएको छ ।
समुदाय सन्किनमै मख्ख छ
देश दशा झेल्दैमा दिक्क छ ।
अरू त अरू,
धर्म आफैं अधर्ममा
कर्म आफैं कुकर्ममा
र
काल स्वयं कुचक्रमा कुदेको यो बेलामा
तिमी मलाई किन राष्ट्रियताको रत्यौली खेल्न
उत्प्रेरित गर्दैछौ ?
अहँ !
हुँदैन । हुँदैन । हुँदैन ।
बरू म त तैयार छु
बाजेले बुइगलमा थन्क्याएको भरुवा बन्दुक पुछपाछ गरी
निस्फिक्रीले खाँडो जगाउन ।