अमेरिकासम्म मानव तस्करको जालो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अमेरिकासम्म मानव तस्करको जालो


२० पुस २०७४, बिहिबार


काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर नेपाल फर्किएपछि यो तथ्य बाहिर आएको हो ।

ताप्लेजुङ लेलेप–९ की हिमा शेर्पा, दाङका चन्द्र शाही ठकुरी र दोलखा सुस्पा क्षमावती–१ की छिरिङ डोमा शेर्पा तस्करहरुबाट ठगिएर हालै स्वदेश फर्किएका छन् । उनीहरू दुई वर्षअघि मलेसियाबाट सिंगापुर हुँदै अमेरिका गएका थिए । उनीहरूसँगै अमेरिका हिँडेका ताप्लेजुङ पापुङ–२ का चुङ्दाक शेर्पा भने फ्रान्समा अलपत्र छन् ।

ताप्लेजुङकी शेर्पाका अनुसार बाग्लुङ रिधा–८ का सागर श्रीष मगरले आकर्षक रोजगार लगाइदिने प्रलोभन दिएपछि उनीहरू अमेरिका हिँडेका थिए । यसका लागि हिमाले सागरलाई २० लाख दिइसकेकी छिन् । त्यस्तै, अन्य पीडित चन्द्र शाही ठकुरी र चुङ्दाक शेर्पाले पाँच–पाँच लाख र छिरिङ डोमा शेर्पाले १५ लाख बुझाइसकेका छन् ।

हिमाका अनुसार पहिलो चरणमा सागरले उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया लगेका थिए । केही दिनको मलेसिया बसाइपछि सिंगापुरमा १७ दिन राखियो र बैंकक लगियो । बैंककमा उनीहरूलाई दुई महिना राखियो । उनीहरूमध्ये चुङ्दाकलाई भने नाइजेरिया हुँदै मेक्सिको लगियो । हिमा, चन्द्र र छिरिङलाई भने भारतको नयाँदिल्ली ल्याइयो । दिल्लीमा करिब नौ महिना बसेपछि उनीहरू अहिले नेपाल फर्किएका छन् । उनीहरूसँगै गएका चुङ्दाकलाई भने मेक्सिको अध्यागमनले फ्रान्स आउने जहाजमा फिर्ता पठाएको छ ।

अमेरिका प्रवेश गराएपछि प्रत्येकसँग ३२ लाख रुपैयाँ असुल्ने सागरको योजना रहेको हिमा शेर्पाले बताइन् । सोही कारण उनले सुरुमै प्रत्येकसँग पाँचदेखि २० लाखसम्म रकम लिएका थिए । साथै, उनले पासपोर्ट र नागरिकता पनि लिए । तर, अमेरिका नपुर्‍याई सबैलाई बीचबाटोमै अलपत्र छाडेर सागर बेपत्ता भएका छन् । ‘हामीलाई ३२ लाखमा अमेरिका लैजान्छु भनेर विभिन्न प्रलोभन देखायो । हामी बहकियौँ र उसैको पछि लाग्यौँ । उसले मलेसिया, बैंकक, सिंगापुर, नाइजेरिया, मेक्सिको हुँदै अमेरिका प्रवेश गराउँछु भनेका थियो,’ हिमाले भनिन्, ‘हामीलाई सिंगापुरसम्म त लग्यो, त्यसपछि दुई वर्षसम्म विभिन्न मुलुकमा अलपत्र बनाएर राख्यो । उसलाई भेट्न धेरै कोसिस गर्यौँ, तर ऊ सम्पर्कमा आएको छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस