खाद्यान्नमा वार्षिक ५ लाख ७४ हजार किलो विषादी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खाद्यान्नमा वार्षिक ५ लाख ७४ हजार किलो विषादी


२० पुस २०७४, बिहिबार


काठमाडौं । नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष ०७२/७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ । यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैयाँ खर्च भएको छ ।

सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ । तरकारीमा मात्रै ८५ प्रतिशतसम्म विषादी प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशन अच्युतप्रसाद ढकालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १ सय ८१ टन कीटनासक, २ सय ४७ टन रोगनासक, १ सय ३४ टन झारनासक र १२ टन अन्य प्रकारका विषादी प्रयोग भएको छ ।

विषादीको प्रयोग तराईमा धेरै हुने गरेको छ । वार्षिक ९९५ ग्राम प्रतिहेक्टरका दरले तराईमा विषादी प्रयोग भइरहेको बाली संरक्षण निर्देशनालयले जनाएको छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा प्रतिहेक्टर ८५, पहाडी क्षेत्रमा ३१४ र उपत्यकामा ४७० ग्राम प्रतिहेक्टर विषादी प्रयोग हुने गरेको छ ।

नेपालमा खपत हुने विषादीमध्ये ८०% विषादी भारत, चीन र जापानबाट आउने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए । २०% भने नेपालमा उत्पादन हुन्छ । सबैभन्दा बढी विषादी भारतबाट आउने गरेको उनले बताए ।

बाली संरक्षण निर्देशनालयले सिमी, भिन्डी र अकबरे खुर्सानीको विषादी परीक्षण गर्दा ४५% प्रयोग भएको पाइएको छ । सर्लाहीको सिमी, धादिङको भिन्डी र मकवानपुरको अकबरे खुर्सानीको विषादी मापन गर्दा विषादीको यस्तो परिणाम देखापरेको निर्देशक ढकालले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस