प्रेम र जीवन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रेम र जीवन


१५ पुस २०७४, शनिबार


१४ फरवरीका दीन संसारभरिका प्रेमीहरू फूल, कार्ड र उपहारहरू आपसमा साटासाट गरेर भ्यालेन्टाइन दिवस मनाउँछन् । इसाई धर्मको आगमनपूर्व रोमवासी प्रत्येक वर्ष १५ फरवरीका दिन प्रजनन् र सृजनका रोमन देउताको सम्झनामा लुपेरकलको चाड मनाउँथे ।

एउटा बाकसमा राखिएका युवतीहरूका नाम युवकहरू चिट्ठास्वरूप तान्थे र जसको नाम युवकले झिक्थ्यो सो युवती उसकी प्रेमिका हुन्थी । इसाको तेस्रो शताब्दीमा रोममा कठोर र युद्धपिपासु सम्राट क्लाउडियसको शासन थियो । ऊ सधै युद्धका लागि नयाँ सैनिक भर्ती गर्न खोजिरहन्थ्यो । अधिकाशं परिवार युद्धमा जान मन पाउँदैनथे ।

क्लाउडियसलाई लाग्या, विवाहितहरू परिवार छोडन चाहँदैनन् । उसले विवाहमाथि नै प्रतिबन्ध लगाइदियो । सोही समयमा भ्यालेन्टाइन नामका एक सह्दयी पादरी विवाह गर्न रुचाउने युवा जोडीहरूलाई गोप्यरूपमा विवाह गरिदिन्थे । यसै क्रममा उनी समातिए र मृत्युदण्डको सजाए पाए । जेलमा थुनिँदा अनेक प्रेमीहरू उनलाई उपहार दिएर प्रेमको मार्गमा आफ्नो समर्थन जनाउँथे । भेट्न आउनेहरूमध्ये जेलरकी जवान छोरी पनि थिई । जेलरले उसलाई भ्यालेन्टाइन थुनिएको जेलमा गएर भेट्न छुट् दिएका थिए । मृत्युको प्रतिक्षा गरिरहेका भ्यालेन्टाइन घण्टौं त्यस युवतीको हात समातेर आफ्ना भावना पोख्थे । युवती उनको उत्साह बणउँथी र भन्थी, ‘तिमी बडो पवित्र कार्य गरी मर्न गइराखेका छौं, भोलि अनेक प्रेमीले तिमीलाई अमर बनाउनेछन् ।’

सन् २६९ फरवरी १४ का दिन मृत्युदण्ड पाउनुअघि भ्यालेन्टाइनले युवतीलाई प्रेम र विश्वासका लागि धन्यवाद दिँदै लेखेको सानो पत्रमा भनिएको थियो– ‘लभ फ्रम योर भ्यालेन्टाइन ।’ भ्यालेन्टाइन त प्रेमका लागि मारिए तर उनले लेखेका यी अन्तिम शब्द हजारौं प्रेमीले आपसमा साटासाट गरी प्रमाणित गरिरहेका छन्, प्रेमको मार्गमा खडा गरिएका जस्तासुकै व्यवधान अन्ततः प्रेमको शाश्वतताकै सहयोगी हुनेछन् ।

लगभग यही समयमा वसन्तको आगमन हुन्छ । कालीदासले वसन्तलाई प्रेमीका लागि जति सुखद र विरहीका लागि त्यति नै दुःखद ऋतु मानेका छन् । प्रेमको पर्व वसन्त पञ्चमी र होली पनि यही समयमा पर्छन् । कठ्यांग्रयाउने शिशिरलाई बिदा गर्दै प्रकृतिमा वसन्तको आगमनपछि नयाँ उल्लासको सञ्चार हुन्छ । वृक्षमा पालुवा लाग्छन्, फूलमा नयाँ कोपिला पलाउन थाल्छन् । कोइलीले मधुर स्वरमा आफ्नो प्रेमीलाई बोलाउन थाल्छ । फाँटहरू तोरीको पहेंलो फूलले ढकमक्क भएको देखेर जसको मनमा पनि रागको सञ्चार हुन्छ । आयुर्वेदका अनुसार वसन्तमा यौनरसहरू सक्रिय हुन्छन्, मानिसको शरीरमा वीर्यको अत्याधिक उत्पादन हुन्छ । यस महिनामा ‘प्रौढहरू पनि तरुना भएर आउँछन्’ भन्ने मान्यता छ ।

प्रेम र अनुराग सबैभन्दा कोमल र मधुरतम भाव हुन् । जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ, त्यस्तै हृदयलाई प्रेमको प्यास हुन्छ । जो प्रेमको अभावमा जिउन बाध्य छन् उनीहरूको शरीर जस्तोसुकै देखिए पनि आत्मा भोकै हुन्छ र अन्तरतम मनले सतत् प्रेम मागिराखेको हुन्छ । जब कसैले तपाईंलाई प्रेमपूर्ण आँखाले हेर्छ पहिलोचोटि आफू व्यर्थ नजन्मिएको बोध हुन्छ । आफ्नो अस्तित्वले कमसेकम एक हृदयलाई भए पनि आनन्दित तुल्याएको भावले एक गहन आत्मसम्मान र तृप्ति दिन्छ । प्रेमको आत्मसम्मानबाट वञ्चित व्यक्तिहरू या त अति महत्वाकाङ्क्षी बन्छन् र संसारको धन, सम्पदा, मानमर्यादा जितेर आफूलाई सम्मानित प्रमाणित गर्ने दुश्चेष्टामा लाग्छन् । यो धनसम्पदा भने बाहिरकै शृङगार हो र अन्ततः ती सबै बाहिरै छुट्छन् र आन्तरिक दरिद्रतालाई भर्न सक्दैनन् । यिनीहरूको जीवनमा प्रेमको अभावमा कुनै उत्प्रेरणा नै पैदा हुँदैन र निराश, दुखद् र असिर्जनशील जीवन जिउन बाध्य हुन्छन् । संसारका अति महत्वाकाङ्क्षी र क्रूर अपराधीहरू दुवै प्रेमकै अभावले पैदा हुन्छन् । जो व्यक्ति कसैको गहन प्रेममा छ उसबाट हत्या, हिंसा र अन्याय सम्भव नै हुँदैन ।

यत खण्डित प्रेमकै कारण धेरै व्यक्ति धर्ममा लाग्छन् र त्यस अभावको पूर्ति योग, ध्यान, पूजा र प्रार्थनामा खोज्न थाल्छन् तर कसैले एक व्यक्तिलाईसम्म प्रेम गर्न सकेन भने उसले यस समष्टिमा व्याप्त अदृश्य इृश्वरलाई कसरी प्रेम गर्ने सक्छ ? प्रेमबिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ । प्रेमले पहिलोचोटि जीवनमा सन्तुलन, सन्तोष र परितृप्ति ल्याउँछ ।

जीवनको आफैंमा कुनै अर्थ छैन, प्रेमले जीवनलाई बाँच्न लायक बनाउँछ । प्रेमकै आकर्षणले यो संसार चलिरहेको छ । ग्रह, नक्षत्र र तारा पनि आपसमा बाँधिएर लयबद्ध छन् । नत्र उनीहरू पनि एक आपसमा ठोकिन्थे र यो सृष्टि नष्ट हुने थियो । प्रेम जगत्को मौलिक भोक हो । प्रेमले नै जीवनको वीजारोपण हुन्छ र प्रेमले नै आमाले बच्चालाई नौ महिना गर्भमा बोकेर हिंड्ने असुविधा झेल्छे र वर्षौं आफ्नो पेट काटेर पनि बच्चालाई हुर्काउँछे ।

स्त्री र पुरुषका बीचमा शारीरिक र मानसिक भिन्नता छ र यही भिन्नताले उनीहरूबीचमा गहन आकर्षण पैदा गर्छ । एक्लै उनीहरू अपूर्ण हुन् । लाउत्सेले स्त्री र पुरुषको उर्जालार्य यिन र यान भनेका छन् र यसको समन्वयमै सृष्टिको सौन्दर्य देख्छन् । हामीकहाँ पनि अर्धनारीश्वरको कल्पना छ । पुरुषबिनाको नारी र नारीबिनाको पुरुष अर्ध हुन्, पूर्ण मानिँदैनन् । यही पूर्णताको खोज यिनीहरूको बीचको उद्दाम आकर्षण हो । यो आकर्षण अबोध्य र रहस्यमय छ । यसलाई कुनै पर्खालले रोक्न सक्दैन ।

स्वामी आनन्द अरुणको सन्त दर्शनबाट साभार

Tags :
प्रतिक्रिया दिनुहोस