आगलागीमा ‘उच्च अधिकारीकै संलग्नता’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगलागीमा ‘उच्च अधिकारीकै संलग्नता’


१३ पुस २०७४, बिहिबार


काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको लेखा शाखामा भएको आगलागीबारे २४ घन्टाभित्र यथार्थ जानकारी दिन आदेश दिएको छ। मन्त्रालयले बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई पत्र लेखी आगलागीको घटनामा उच्च तहका अधिकारीको समेत संलग्नताबारे विभिन्न तथ्य सार्वजनिक हुन थालेकाले गहन छानबिन गरी २४ घन्टाभित्र सत्यतथ्य जवाफ पठाउन भनेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण शर्मा दुवाडीले घटनाको यथार्थबारे जानकारी माग्दै पत्र पठाएको बताए । ‘घटनामा सशस्त्रका उच्च तहका अधिकारीको समेत संलग्नता रहेको तथ्य सार्वजनिक हुन थालेकाले वास्तविकता पेस गर्न भनेका हौं’, उनले भने।

गृह मन्त्रालय आफैँले पनि सहसचिव कृष्णबहादुर रावतको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी गहन अनुसन्धान सुरु गरेको छ। प्रवक्ता दुवाडीले सशस्त्र मुख्यालयमा आगो लगाउनु गम्भीर विषय भएकाले गम्भीरतासाथ छानबिन हुने बताए।

यसै विषयमा बृहत् छलफल गर्न बुधबार गृहसचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा सहसचिव तथा उच्च अधिकारीसहितको बैठक बसेको थियो । बैठकमा गृह मन्त्रालयका केही उच्च अधिकारीले सशस्त्र प्रहरीको उच्च नेतृत्व नै दोषी हुन सक्ने भएकाले उनीहरूलाई निलम्बन गरी सूक्ष्म छानबिन गर्न सुझाएका थिए । सशस्त्रको पछिल्लो खरिद प्रक्रियामा ठूलो मात्रामा अनियमितता भएकाले त्यसबाट बच्न खरिद प्रक्रियामा संलग्न उच्च अधिकारीकै योजनामा यस्तो घटना घटाइएको आशंका गृहका अधिकारीहरूले गरेका छन् ।

सचिव सापकोटाले पनि गृहको छानबिन समितिलाई कसैको प्रभाव र दबाबमा नपरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए। ‘गम्भीरतापूर्वक छानबिन गर्न गृहमा सबैको एकमत छ’, गृहप्रवक्ता दुवाडीले भने ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बाबुराम पाण्डेले सशस्त्रको अनुसन्धानमा घटनामा उच्च तहको नेतृत्वको सहभागिता नदेखिएको दाबी गरे । गृहको छानबिनपछि थप प्रस्ट हुने उनले बताए । सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले पेट्रोल छर्केर आगो लगाएको बयान प्रहरीलाई दिएका छ न् । सुरुमा नस्विकारे पनि प्रहरीले लामो केरकार गरेपछि उनले आगलागीको रहस्य खोलेका थिए ।

दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान ढुवानीमा भ्रष्टाचार भएको देखिएपछि छानबिन गरेको थियो । त्यतिखेर दोषी देखिएका एक प्रहरी निरीक्षक, दुई नायब निरीक्षक र एक हवल्दार निलम्बनमा परेका थिए । खरिद शाखामा रहेका श्रेष्ठको नाममा समेत करिब १० लाख रुपैयाँ बेरुजु देखिएपछि अख्तियारले डेढ महिनाअघि बयानमा डाकेको थियो । आफ्नै बयान बाझिएपछि अख्तियारले मुद्दा चलाउने तयारी गरिरहेको सुइँको पाएका उनले सोमबार राति ११ बजे सशस्त्र मुख्यालय छिरेर आफ्नै मोटरसाइकलबाट दुई लिटर पेट्रोल निकालेर लेखा स्टोरमा आगो लगाएको बताएका छन् ।

‘मेरो नाममा १० लाख रुपैयाँ बेरुजु निस्किएपछि कसरी तिर्ने भन्ने डर भयो, बयान दिन जाँदा पक्राउ पर्ने पनि उत्तिकै डर भएकाले कागजपत्र राखिएको स्टोर जलाइदिएको हुँ’, उनको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । सशस्त्र प्रहरी मुख्यालयले अतिरिक्त महानिरीक्षक (एआईजी) प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो तर उक्त समितिले ठोस निष्कर्ष बाहिर ल्याएको छैन । महानगरीय प्रहरी अपराध महाशाखाले हवल्दार श्रेष्ठलाई मंगलबार बिहान पक्राउ गरी स्वयम्भू प्रहरी वृत्तको जिम्मा लगाएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस