दाहालको अर्थपूर्ण अलमल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दाहालको अर्थपूर्ण अलमल


११ पुस २०७४, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभा गठन विवाद मिलाउने प्रयासस्वरूप गत शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकपछि एमाले नेताहरू स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैंसेपाटीतर्फ लागे ।

तर वाम गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवनतर्फ हिँडे । प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, दाहाललाई यो कुरा राम्ररी थाहा थियो । त्यसैले एमाले बैठकपछि त्यसै दिन साँझ अध्यादेशदेखि पार्टी एकतासम्मका विषयमा छलफल गर्न एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने कुरा थियो ।

तर बालुवाटार बैठकपछि चितवन हिँडेका दाहाल चार दिनदेखि त्यतै अलमलिएका छन् । उनको गृहजिल्ला अलमलले दुई पार्टीको औपचारिक बैठकसमेत हुन सकेको छैन । राष्ट्रिय सभा गठन विवादले राजनीतिक गतिरोध चुलिइरहेको छ । विशेषगरी एमाले र कांग्रेसबीच राष्ट्रिय सभाको निर्वाचन प्रणालीका विषयलाई लिएर रस्साकसी छ । नयाँ सरकार गठन र दुई पार्टीबीच एकता प्रक्रिया कसरी अघि बढाउने स्पष्ट खाका आएको छैन, त्यसलाई छिटो टुंग्याउनुपर्ने जिम्मेवारी पनि उत्तिकै छ । यस्ता महत्त्वपूर्ण राष्ट्रिय मुद्दा सल्टाउन छाडेर दाहाल किन चार दिनदेखि काठमाडौं बाहिर स–साना कार्यक्रममा अल्झिएका छन् रु यसले ‘अड्कलबाजीको बजार’ मा नयाँ–नयाँ आशंका गर्नेलाई बल मिलेको छ । चितवनबाट निर्वाचित सांसद भएकाले उनको जिल्ला गमनलाई अन्यथा भन्न नमिल्ला । तर कुन समयमा, उनी कस्ता कार्यक्रममा समय व्यतित गर्दै छन्, त्यसले भने महत्त्व राख्छ । चार दिनयताका उनका कार्यक्रम र गतिविधिलाई एक पटक नियालौं । बालुवाटार बैठकपछि चितवन पुगेका दाहालको त्यस दिन खासै कार्यक्रम थिएन । तर पत्रकार सम्मेलन गरेर साँझ उनी नारायणी किनारमा परिवारसहित घुमे । शनिबार बिहान नारायणगढदेखि गैंडाकोट थुम्सीको जंगलसम्म झन्डै पाँच किलोमिटर मर्निङवाक गर्दै नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न भैरहवा पुगे । त्यसपछि भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । कपिलवस्तुबाट निर्वाचित सांसद चक्रपाणि खनाल र अध्यक्ष दाहालका लागि त्यहाँको स्थानीय पार्टी कमिटीले सम्मान आयोजना गरेको थियो । त्यसपछि दाहाल भैरहवाबाट जहाजमा काठमाडौं आउन सक्थे । तर फर्किएनन्, चितवनतर्फै सोझिए ।

आइतबार पनि चितवनमा स–साना पाँच कार्यक्रममा सहभागी भए । मतदातालाई धन्यवाद दिने र उद्घाटनरशिलान्यासमा उनको समय बित्यो । आइतबार बिहान एमाले–माओवादी निकट बुद्धिजीवीको कार्यक्रममा सहभागी भए, त्यसपछि शुक्रनगरमा प्रगति माविको वार्षिकोत्सव कार्यक्रममा पुगे, पार्वतीपुरमा भेटघाट गरे, गीतानगरमा रेडक्रस भवन शिलान्यास गरे अनि चितवन उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन पुगे । सोमबार उनी चितवनको बाँदरझुुलामा मतदातालाई धन्यवाद दिँदै पर्साको ठोरी पुगे ।

चार दिनयता उनले राष्ट्रिय राजनीतिमा अल्झेका मुद्दाबारे केही बोलेका छन् । उनले दिएका अभिव्यक्तिले खास उनको मनमा अहिले के खेलिरहेको छ भन्ने संकेत मिल्छ । उनले वाम एकता कसरी हुन सक्छ भन्नेबारे पहिलो पटक मुख खोले । प्रधानमन्त्री पदमा आलोपालो गर्ने भन्ने दाहालको अभिव्यक्ति चितवन झरेपछि आयो, जबकि राजधानीमा हुँदा उनले एकताको मोडलबारे केही भनेका थिएनन् ।

नयाँ सरकार गठनका सन्दर्भमा एमाले र संघीय समाजवादी फोरमबीच कुराकानी भइरहेको सूचना पनि दाहालले नै बाहिर चुहाए । माओवादीलाई छाडेर फोरमसँगको सहकार्यमा एमाले जाने हो कि भन्ने खालको शंका पनि उनीबाटै अभिव्यक्त भयो, जबकि एमालेसँग सहकार्य टुटाएको अवस्थामा दाहाललाई पाँच वर्षसम्म प्रधानमन्त्री सुनिश्चित गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावले राजनीति गर्माएको अवस्था छ । त्यही मौकामा दाहालले एमाले र फोरमबीचको कुराकानीलाई जोड दिएर बाहिर ल्याउनुको पछाडि केही अर्थ खोज्न सकिने ठाउँ छ  किनभने एमाले र फोरम मिले भने सरकार बनाउन संसद्मा चाहिने बहुमत पुग्छ ।

अध्यादेश प्रकरणमा एमाले र कांग्रेसबीचको रस्साकसीलाई मिलाउने सन्दर्भमा पनि दाहालले आफ्नो धारणा पोखे । एमालेले बहुमतीयमा अडान लिइरहेका बेला दाहालले राष्ट्रिय सभालाई विपक्षीविहीन बनाउन नहुने अभिव्यक्ति दिए । ‘बहुमतीय प्रक्रियामा जाँदा अन्य दलहरू आउँदैनन्, त्यो त्यति राम्रो हुँदैन’ भन्ने दाहालको अभिव्यक्तिभित्र उनी एमालेले भनेजस्तो बहुमतीय प्रणालीको पक्षमा छैनन् भन्ने पुष्टि गर्छ । सबै दल मिलेर जानुपर्छ, सहमतिबाट अघि बढ्नुपर्छ भन्ने धारणा पनि दाहालले दिए ।

केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले रसुवागढी नाका भ्रमण गरेका थिए । भावी सरकारको मूल प्राथमिकता के हुन्छ भन्ने सांकेतिक सन्देश दिन एमाले टोली चारवटा हेलिकप्टर लिएर नाका पुगेको थियो । गठबन्धनका तर्फबाट चुनाव जिते पनि माओवादीलाई थाहा नदिई एमाले नेताहरू एक्लै रसुवागढी पुग्दा दाहाललाई केही चस्का पसेको हुनुपर्छ, त्यसैले उनी पनि चितवनका मतदाता भेटघाट सकेर सोमबार पर्साको ठोरी नाका हानिए । नाकाबन्दीका बेला जीवन–आधारको काम गरेको त्यही ठोरीलाई केरुङसँग जोड्ने अभिव्यक्ति दाहालले दिए । केही दिनअघि ओली रसुवा गएको प्रसंग उठाउँदै दाहालले ‘आज म यहाँ आएको छु, अब यो सडक निर्माणले तीव्रता पाउँछ’ भन्दै आश्वासन दिए ।

समग्रमा दाहालले पार्टी एकता हुने नै कुरा गरे । तर उनले दिएका अभिव्यक्तिको जोडकोण केलाउँदा र मूल मुद्दालाई अल्झनमा राखेर सामान्य कार्यक्रममा चार दिन समय व्यतीत गर्नुका पछाडि केही अरू नै खेल त भइरहेको छैन भन्ने प्रश्न जन्मिएको छ । राजनीति वृत्तमा गठबन्धन टुटाएर कांग्रेसको समर्थनमा सरकार बनाउने, पद बाँडफाँटको अल्झन देखाएर पार्टी एकता नहुने खालका खेल नेपथ्यमा चलिरहेको हल्ला दाहाल राजधानी बाहिर रहेकै बेलामा बढी चलेको छ । यी हल्ला र आशंकालाई राजधानी फर्केपछि दाहालले कसरी हटाउँछन्, अबको राजनीतिक जोडघटाउ पनि त्यसैअनुरूप अघि बढ्ने देखिन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस