रेमिट्यान्सको आय नै घट्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रेमिट्यान्सको आय नै घट्यो


१० पुस २०७४, सोमबार


काठमाडौं । मुलुकमा अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषण आप्रवाह (रेमिट्यान्स आय) घटेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा दुई खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १.४ प्रतिशतले कम हो ।

विदेशमा जाने नेपाली कामदारको संख्या घट्दै गएपछि रेमिट्यान्स आयमा गिरावट आउन थालेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । समीक्षा अवधिमा नेपालबाट कामका लागि विदेश जानेको संख्या १ प्रतिशतले घटेको छ । ‘तीन वर्षयता कामका लागि बिदेसिने नेपालीको संख्या लगातार घट्दै आएको छ,’ उनले भने, ‘त्यसकै असर अहिले रेमिट्यान्स आयमा देखिन थालेको हो ।’

नेपालमा दसैँ, तिहारलगायत तथा जाडो मौसमका वेला रेमिट्यान्स बढी भित्रिने गरेको थियो । तर, त्यसको ठीकविपरीत अहिले रेमिट्यान्स आय घटेको छ । काम गर्ने जानेको संख्या घट्दै गएकै कारण अझै रेमिट्यान्स आय घट्न सक्ने थापा बताउँछन् ।

‘पछिल्ला वर्षहरूमा विदेशमा काम गर्न जानेको संख्या घट्दै जाँदासमेत रेमिट्यान्स वृद्धि हुँदा हामी आफैँ छक्क परेका थियौँ,’ उनले भने, ‘तर, त्यसको असर अब देखिन थालेको छ, तत्काल ठूलो दरमा रेमिट्यान्स नघट्ला, तर बढ्ने सम्भावना देखिँदैन ।’ अब रेमिट्यान्समा भर पर्न नहुने उनको भनाइ छ । खाडीमा देखिएको समस्याका कारण पनि नेपालको रेमिट्यान्स आय घटेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस