भूकम्पको व्यथा, बगरमा जिन्दगी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भूकम्पको व्यथा, बगरमा जिन्दगी


८ पुस २०७४, शनिबार


रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाको खाल्टे बगर भूकम्पपीडितको आश्रयस्थल बनेको छ । बगरमा साना–ठूला गरी करिब डेढ सय टहरा ठडिएका छन् । दुई वर्षअघि भूकम्पले बिल्लीबाठ बनाएका पीडित बास खोज्दै खाल्टे बगर आएका हुन् ।

भूकम्पले आफ्नो जायजेथा सबै लुटेपछि पीडित भाडाको जग्गामा बस्दै आएका थिए । बेरोजगार उनीहरू जग्गाको भाडा तिर्न नसक्ने अवस्था आएपछि खाली ठाउँ खोज्दै त्रिशूली बगरमा आएका हुन् । भिन्न–भिन्न क्षेत्रबाट आएका पीडितले धमाधम टहरो बनाउन थालेसँगै बगर पनि भरिन थालेको छ । आफ्नो जग्गा बस्नयोग्य नभएपछि बगरमा आउनुपरेको पीडित बताउँछन् । ‘भूकम्पअघि गाउँमा खेती गरेरै जीविका चलाएका थियौं,’ उत्तरगया गाउँपालिका डाडागाउँबाट खाल्टे बगरमा आइपुगेकी ठूलीमाया तामाङले भनिन्, ‘भूकम्पले पेट पाल्ने बाटो नै बन्द गरिदियो, दिन बित्दै जाँदा सुरक्षित बास पाइन्छकि भनेको त बगरमा पो आउनुपर्‍यो ।’

उनले डाडागाउँका ३० घरधुरी खाल्टेमै शरण पर्न आएको बताइन् । ‘भरपर्दो ओतको खोजीमा धेरै ठाउँ भौंतारियौं, अन्तिममा बालुवा र ढुंगाले भरिएको बगरमा आयौं,’ उनले भनिन् ।

उत्तरगया गाउँपालिकाका चार टोलका बासिन्दा अहिले त्रिशूली बगरमा टहरो बनाई बसेका छन् । भूकम्पले गाउँ नै सखाप पारेपछि उनीहरू उत्तरगया गाउँपालिकाकैै नौबिसे, माइलुङ, खार्कु, बेत्रावतीलगायत ठाउँमा जग्गा भाडामा लिएर बस्दै आएका थिए । तर, जग्गाको चर्को भाडा तिर्नुपर्ने भएपछि उनीहरू त्यो ठाउँ छाड्न बाध्य भएका हुन् । ‘गाउँमा छँदा खेती गरेरै दैनिकी चलेको थियो, अहिले मजदुरी गरेर दैनिकी गुजार्नसमेत पाएका छैनौं,’ बगरमा टहरो बनाएर बस्दै आएकी दिलमाया तामाङले भनिन्, ‘ढुंगा र बालुवामाथि चिसो सहन निकै मुस्किल छ ।’ उनले हालसम्म सरकारबाट प्राप्त हुने कुनै किसिमको राहत नपाएको गुनासो पनि गरिन् ।

उनले सरकारले पीडितलाई बेलैमा सुरक्षित बासको व्यवस्था गर्न नसक्दा बगरमा आएर बस्नुपर्ने बाध्यता आएको गुनासो गरिन् । ‘सरकारले नै बेवास्ता गरेका कारण हामीले दुःख पाएका हौं,’ उनले भनिन्, ‘गरिब र बेसहारालाई सरकारले पनि हेर्दोरहेनछ ।’

पीडितहरू बस्दै आएको क्षेत्र नजिकै छ, उत्तरगया गाउँपालिकाको कार्यालय । तर, गाउँपालिकाले आफूहरूप्रति खासै चासो नदिएको पीडित बताउँछन् । बगरमा कति टहरा छन् र पीडित कसरी बसेका छन् भन्ने सम्बन्धमा गाउँपालिकामा कुनै रेकर्ड छैन । बगरमा बस्दै आएका पीडितलाई राख्न बनाइएको शिविरमा अहिले गाउँपालिका कार्यालय राखिएको छ।

गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले नदी किनारमा मोटामोटी डेढ सय टहरा बनेको जानकारी दिए । उनले बगर जोखिमपूर्ण ठाउँ हो भनेर सचेत गराउँदागराउँदै पनि पीडित जबर्जस्ती आएर बसेको बताए । ‘भौगर्भिक अध्ययनले पनि यस क्षेत्रलाई मावनबस्ती बसाउन नमिल्ने देखाएको छ,’ लम्सालले भने, ‘हामीले त माथिल्लो निकायबाट आएको सेवासुविधा दिने हो, पीडितका निम्ति गाउँपालिका आफैंले कार्यक्रम बनाउन सक्दैन ।’ उनले २०२० सालको बाढीले त्रिशूली किनारमा यो बगर बनेको बताए । ‘यो बगर बस्नका लागि सुरक्षित छैन,’ उनले भने, ‘पीडितलाई ध्यानमा राख्दै अन्यत्र स्थानान्तरण गर्ने सम्बन्धमा अहिले गाउँपालिकामा छलफल भइरहेको छ ।’ उनका अनुसार यो बगर नदीभन्दा करिब २० फिट उचाइमा छ । बगरमा बस्न आउनेको संख्या भने अझै रोकिएको छैन । बगर अतिक्रमण गर्दै टहरा बनाउने क्रम जारी छ ।

भौगर्भिक अध्ययनले बस्न नमिल्ने देखाएपछि पीडितमा अर्को पीरलो थपिएको छ । प्राकृतिक विपत्तिका कारण पुख्यौंली थातथलो छाडेर बेसहारा बनेका पीडित अर्को जोखिममा पर्ने डर देखिएको छ । उनीहरू अब कहाँ जाने भन्ने चिन्तामा छन् । ‘सुरक्षित बासमात्रै भए दुःख गरेरै जीविका चलाउथ्यौं,’ बगरमा बस्दै आएका सोमबहादुर तामाङले भने, ‘बरु पहिला बसेकै ठाउँ सुरक्षित थियो तर, जग्गाको भाडा तिर्न नसकेर यहाँ आउन बाध्य भयौं ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस