कान्ति बाल अस्पतालको आईसीयू नै ‘सिकिस्त’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कान्ति बाल अस्पतालको आईसीयू नै ‘सिकिस्त’


४ पुस २०७४, मंगलबार


काठमाडौं । सिकिस्त शिशुहरूको बढ्दो चापसँगै नर्सहरूले राजीनामा दिएपछि कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा समस्या देखिएको छ । आईसीयूमा कार्यरत सात जना नर्सले राजीनामा दिएपछि सिकिस्त अवस्थाका बालबालिकालाई शीघ्र उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने अवस्था आइपरेको छ ।

‘दिनैपिच्छे चारर/पाँच जना सिकिस्त बिरामी बेड नपाएर फर्किने गरेका छन्’, मुलुककै एक मात्र केन्द्रीय बाल अस्पतालका निर्देशक डा. गणेशकुमार राईले भने ।

आईसीयूमा कार्यरत दुई जना नर्सले आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् भने पाँच जना यसअघि नै राजीनामा दिएर अन्यत्र गइसकेका छन् । स्टाफ नर्सहरू करुणा थापा र मनीषा पुडासैनीले आइतबार राजीनामा दिएका हुन् ।

आईसीयूमै रहेकी स्टाफ नर्स संगीता श्रेष्ठ पनि राजीनामा दिएर अस्ट्रेलिया जाने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस