उपत्यकामा बम आतंक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपत्यकामा बम आतंक


१९ मंसिर २०७४, मंगलबार


काठमाडौं । प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ । सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता गगन थापासहित १२ घाइते भए ।

गगन चपली हाइटमा घरदैलो कार्यक्रम गरिरहेकै बेला बम विस्फोट भएको थियो । विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले गराएको आशंका प्रहरीले गरेको छ ।

सोमबारै लाजिम्पाटस्थित एभरेष्ट बैंकअगाडि राखिएको बम सेनाले डिस्पोज गरेको छ । त्यस्तै, वनस्थली एकलटारस्थित पूर्वमन्त्री जीवनबहादुर शाहीको निवासअगाडि अज्ञात समूहले बम राखेको थियो । सेनाको डिस्पोज टोलीले बम डिस्पोज गराएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । प्रहरीले बम राख्ने र पड्काउने व्यक्तिको पहिचान नभए पनि विप्लवका कार्यकर्ताले घटना गराएको आशंका प्रहरीले गरेको छ । उता, ललितपुरस्थित च्यानडाँडा जंगलमा राखेको प्रेसरकुकर बम सेना र प्रहरीले डिस्पोज गरेका थिए ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रवीन्द्र धानुकले चुनाव बिथोल्ने समूहले विस्फोट गराएको र प्रहरीले शंकास्पद ४२ जनालाई पक्राउ गरेको बताए । उनले भने, ‘बम रिमोटबाट विस्फोट गराएको आशंका छ । किल्टी वा प्रेसरकुकर बममध्ये एउटामा इम्प्रोभाइज विस्फोट गराइएको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस