निर्वाचनले गर्दा दैनिक पाँच करोडको फूल कारोवार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचनले गर्दा दैनिक पाँच करोडको फूल कारोवार


१८ मंसिर २०७४, सोमबार


काठमाडौं । निर्वाचनका कारण अहिले दैनिक पाँच करोडसम्म फूलको कारोवार भएको छ ।

अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६० प्रतिशत हुन्छ ।

अन्य समयमा दैनिक प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि हरेक वर्ष फूलको माग बढेकाले स्वदेशी उत्पादनले मात्र धान्ने अवस्था भने छैन । अझै पनि १८ प्रतिशत फूल भारतबाट ल्याउनुपर्ने बाध्यता छ । घरदैलो, चुनावीसभामा नेताकार्यकर्तालाई लगाउनका लागि निर्वाचनका समयमा फूलको बढी प्रयोग भएको छ ।

अघिल्ला वर्षमा रु एक अर्ब ७१ करोडको वार्षिक कारोबार हुने गरेकामा चालु आवमा भने फूलको माग बढेकाले दुई अर्ब नाग्ने भएको छ । वार्षिकरुपमा सबैभन्दा बढी सयपत्री फूलको १० करोडको वार्षिक कारोबार हुने गरेको छ ।

यस वर्षको तिहारमा मात्रै देशभर गरी ११ लाख वटा मालाको कारोबार भएको छ । गत वर्ष तिहारमा आठ लाख मालाको कारोबार भएकामा यस वर्ष रु तीन लाख वृद्धि भएको छ जसमा नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका थिए । काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।

तिहारमा मात्र वार्षिक सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । खासगरी कात्तिकदेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एशोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताए ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया र मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारका समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

नेपालमा वि.सं. २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा भएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प खेती तथा नर्सरी विस्तार भइसकेको छ ।

सो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुन्छ । व्यावसायिक रुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । फूल विशेषगरी वैशाख, असार, असोज, कात्तिक, मंसिर, माघ र फागुन महिनामा बढी कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस