गृहले माग्यो १४ अर्ब « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहले माग्यो १४ अर्ब


२९ कार्तिक २०७४, बुधबार


काठमाडौं । गृह मन्त्रालयले संघ र प्रदेशसभा चुनवा सुरक्षाका लागि १४ अर्ब माग गरेको छ । तर, अर्थले पाँच अर्ब तीन करोड मात्रै निकासा दिएको छ । अर्थले म्यादी प्रहरीका लागि पाँच अर्ब तीन करोड निकासा दिएको छ । अर्थले निर्वाचन आयोगलाई निर्वाचन तयारीस्वरूप पाँच अर्ब रुपैयाँ निकासा दिइसकेको छ ।

गृहले मागेको १४ अर्ब ७२ करोडमध्ये म्यादी प्रहरीका लागि पाँच अर्ब तीन करोड निकासा गरिएको अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख सहसचिव केवल भण्डारीले जानकारी दिए । म्यादी प्रहरीलाई दिएको रकमबाहेक गृहले मागेको बाँकी रकमलाई कसरी कम गर्न सकिन्छ भन्नेमा अर्थका अधिकारीले आवश्यक छलफल थालेका छन् । अर्थ स्रोतका अनुसार म्यादी प्रहरीलाई दिइएको बाहेक गृहले माग गरेको थप रकममा केही कटौती हुनेछ । गृहले देशभर कुल ९८ हजार दुई सय ६८ म्यादी प्रहरी खटाइसकेको छ ।

गृहको शान्ति सुरक्षा कन्ट्रोल शाखाका अधिकृत रामजीप्रसाद ज्ञवालीले मतदान केन्द्रको सुरक्षा संवेदनशीलताका आधारमा म्यादी प्रहरी खटाइएको जानकारी दिए । म्यादी प्रहरीलाई मतदात कार्य सम्पन्न हुने बेलासम्म (५५ दिन) खटाइने छ। प्रहरी प्रधान कार्यालयले एक लाख आठ हजार नौ सय ५१ म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव गरे पनि अर्थले १० हजार संख्या कटौती गर्दै ९८ हजार दुई सय ६८ म्यादी प्रहरी आवश्यक पर्ने ठहर गर्दै त्यसका लागि आवश्यक रकम निकासा दिएको छ ।

गृहले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीलाई १० अर्ब ४५ करोड, सशस्त्रलाई तीन अर्ब ६२ करोड, राष्ट्रिय अनुसन्धान विभागलाई ९४ करोड र गृह मातहतका निकायलाई ५६ करोडसमेत गरी १४ अर्ब ७२ करोड आवश्यक पर्ने भन्दै अर्थसँग रकम मागेको थियो ।

उक्त रकम निर्वाचन सेल भत्ता, म्यादी प्रहरी व्यवस्थापन, अनुगमन र मूल्यांकन, निर्वाचनमा खटिने प्रहरी र कर्मचारी ओसारपसार, सवारीसाधन मर्मत, इन्धनमा प्रयोग हुने छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस