मेरो सुमन ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मेरो सुमन !


२५ कार्तिक २०७४, शनिबार


म सानो हुँदा आमाले मुक्तिनाथ दर्शन गरेको प्रसंग पटक–पटक सुनाउनुहुन्थ्यो । पोखराबाट लगातार पाँच दिन हिँडेर बडो कठिन साथ १ सय ८ धारा नुहाएर जान/अन्जानमा भएका पापबाट मुक्ति भएको अनुभुव थियो उहाँको । जुन दिन आमालाई सधैको लागि गुमाए त्यसै दिनदेखि मलाई मुक्तिनाथमा पुगेर जान/अन्जान भएका पापबाट मुक्ति र आमाको आत्माको शान्तिका लागि त्यहाँ पुग्ने धोको थियो ।

उहाँले पटक–पटक त्यो प्रसंग सुनाउनुको अर्थ म पनि त्यहाँ जाओस् भन्न खोज्नुभएको हो की भन्ने मलाइ लाग्थ्यो । तर, गृहस्थी जीवनमा प्रवेश गरेपछि त्यति सजिलो कहाँ छ र ? भन्नेबित्तिकै सबै चाहना कहाँ पूरा गर्न सकिन्छ । यसपाली त बुढोलाई वाचा नै गर्न लगाएर जाने पक्का गरियो । फेरि पहिला जस्तो हिँडेर जाने कठिनाई पनि थिएन । चैत अन्तिम साता भुराभुरीको जाँच सकिएपछि सानीमाको जिम्मा लगाएर हिँडियो, मुक्तिनाथ यात्रामा । पहिलो रात जोमसोमको धौलागिरि होटलमा बास बसियो । चिसो सिरेटोमा तातो अनुभूति लिँदै बसियो । होटल खचाखच नै थियो । हरेक भावभंगीका गेस्ट थिए । कोही युगल त कोही समूहमा ।

होटलमा काम गर्ने केटाले हामीलाई पहिलो तलाको २०६ नम्बरको चावी थमाएको थियो । खाना खान जाने बेला अचानक यी आँखाले सन्तुलन बिगारे भनौं । २०७ नम्बर कोठामा बस्ने केटा देखेर विगत सम्झिएँ । मेरो होस हराएर आयो । आफ्नो कोठको बाथरुममा गएर अनुहार पखाले । त्यो कोटामा जोडी बसेका थिए ।

श्रीमानबाहिरै पर्खिरहनुभएको रहेछ । म नआएपछि भित्रै आउनुभो । त्यतिबेला म घोप्टो परेर सुतेको थिएँ ।

‘के भो अमृता ?’ श्रीमानले सोध्नुभयो । म सामान्य हुन खोजे र तुरुन्तै जवाफ फर्काएँ, ‘साह्रै टाउको दुख्यो । वाकवाक पनि लागिरा’छ । खाना खाने नि मन छैन ।’

‘त्यसो भए आराम गर न त ।’

त्यसपछि श्रीमानले केही नभनी आफूलाई कोठामा नै खाना मगाएर खानुभयो । एकछिन टिभी हेरेपछि उहाँ पनि सुत्नुभयो । म टाउको दुखेपछि केहि खान्न भन्ने उहाँलाई थाहा छ । भोलि बिहानै कागवेनी हुँदै मुक्तिनाथ जाने सोच छ । तर, म भने निदाउनै सकिनँ । साह्रै छटपटी भयो । जोमसोमको चिसोमा पनि खलखली पसिना आएको महसुस भयो । केही छिनपछि काउन्टरमा बसेकी साहुनीलाई आगन्तुक दर्ता पुस्तिकामा कोठा नम्बर २०७ को गेस्टको नाम र ठेगाना हेरिदिन आग्रह गरे । उहाँले मेरो आग्रह सहजै स्वीकार्नुभयो । त्यहाँ बस्ने केटा चितवनको सुमन खड्का रहेछ । अब मलाई यो उही केटा हो भन्ने विश्वास भयो ।

कोठामा पुग्दा श्रीमान मस्त निद्रामा हुनुहुन्थ्यो । मैले पत्र लेखे । त्यो पत्र भोलिपल्ट होटलको सहयोगी भाइलाई मनाएर उसलाई दिन लगाउँछु भन्ने योजना बुने । अनि निदाउने प्रयास गरे ।

त्यतिबेलासम्म रातको तीन बजिसकेको रहेछ ।

सुमन !

तिमीसँग मेरो कुनै नाता या सम्बन्ध । अचानक, तर स्वभाविकरूपमा हामी साथी भएका थियौं । मेरी लागि त्यो एक अपूर्व र महत्वपूर्ण घटना हुनपुग्यो । ममा तिमीप्रति कुनै भरोसा खास स्वार्थ र अमूर्त अपेक्षा पनि थिएन । तर, जति अवधि साथी बन्यौ त्यो क्षणसम्म अत्यन्त सुमधुर र हार्दिक सम्बन्ध रह्यो । म भर्खर टिन एज पार गरेर युवा उमेरको संघारमा थिएँ । तसर्थ ममा परिपक्वता र भविष्यको चिन्ता थिएन । तिमी मभन्दा परिपक्व र समझदार लाग्थ्यो । तर, जे भए पनि एक असल साथीकै मर्यादा र सीमालाई हामीले सधै सम्मान र अवलम्बन गर्यौ । यसमा कुनै शंका छैन । तिमीले मप्रति देखाएको भावना र दर्साएको सहयोगको प्रस्ताव अनि मेरो भविष्यप्रति गराएको आत्मीय सचेतना र सल्लाह सायद त्यो बेलासम्म कसैबाट पाएको थिइन, होला । जुन कारणले गर्दा मैले चाहेर वा नचाहेर पनि कहिलेकाही बिर्सन सकिनँ । अनि बिर्सन नसिकने विषय भएर मेरो अन्तस्करणमा कुँदिएर रहन गयो । संयोग नै भन्नुपर्छ कि घनिष्ट साथी भएर पनि हामीले एक–अर्कालाई अपनाउने प्रस्ताव र चर्चा गरेनौं वा गर्ने अवसर मिलेन भनौं । तर, पनि एक असल साथीको मापदण्डमा तिमी कुनै पनि तरिकाले कम छौ भन्ने मलाई कहिल्यै महसुस भएनँ । मित्रताकै यात्रामा रहदै गर्दा कुनै खास समय र परिस्थितिमा हामि क्षितिजभन्दा पर भयौं र एक अर्काको सम्पर्कबाट टाढा रहेर बेखवर रह्यौं । एक सच्चा साथीका रूपमा नै हामीबीचको सम्बन्ध सृजना भएको हुर्केको र टिकेको थियो । यो मित्रताको गन्तव्य वा विश्राम के कसरी हो भन्ने कुरा मेरो मनमा कहिल्यै आएन । अर्थात अब आउने दिनमा हामी र हाम्रो मित्रतालाई कसरी कँहा लगेर बिसाउने भन्ने विषयमा त्यो बेला मैले सोच्दै नसोचेको कुरा थियो । एक असल साथीबाहेक अरु कुनै पनि कोणवाट तिमीलाई मैले सोचिनँ । सायद त्यो मेरो कमजोरी थियो होला । अनुपसँगको मेरो कुराबारे तिमी एक मेरो अभिन्न साथी भएकोले सबै कुरा बताएर सल्लाह लिन खोजेको थिएँ । तर, त्यही नै तिमी र मेरो छुट्टिने मोड जस्तो हुन पुग्यो । जुन मैले अपेक्षा गरेको थिइनँ । अनि तिमीले पनि आफ्ना निजी योजना स्पष्टका साथ मलाई बताएका थियौं । त्यसपछि अरु विषयमा बहसको कुनै जरुरी नै भएन । त्यो सामान्य रह्यो । तिम्रो निजी जीवनमा सच्चा साथीकै रूपमा भए पनि मेरो जुनसुकै तरिकाको उपस्थितिको कुनै अर्थ थिएन तिम्रै शब्दमा । सुमन ! तिमी पनि सहजै अनुभव गर्न सक्थ्यौ कि म आफै अत्यन्त अनिश्चित र अस्थिर अवस्थाबाट गुज्रेको थिएँ त्यो बेला । जीवन र संघर्ष के हो ? अनि करियरलाई कसरी मजवुद बनाएर भविष्यको सुरक्षित अवतरण गर्ने ? यसबारे कुनै आइडिया र चिन्ता मसँग थिएन । मेरो एकमात्र पूँजीकारूपमा रहेको शैक्षिक स्थिति समेत लाजमर्दो अवस्थामा पुगेर टुंगिएको थियो ।

त्यतिमात्र हो कि म परिवारको माया ममताबाट विमुख थिइनँ अर्थात पुल्पुलिएरै रमाएकी थिएँ । यी सबै परिस्थितिबारे तिमी स्वयम् जानकार थियौं । किनकि सबै कुरा तिमीसँगै त्यतिबेलै सेयर गरेको थिएँ । त्यस अवस्थामा तिमीसँग थप कुनै सम्बन्धबारे कल्पना गर्नै सक्दनथे । तिमीभित्र के थियो भन्ने कुरा मैले जान्ने कुरा पनि भएन र त्यसतर्फ कहिल्यै मैले गहिरिएर सोचिनँ पनि । यसमा मेरो कमजोरी भयो होला । तर, दोष त होइन नि है, सुमन । अनि हामी जित नै नजिक भएको भए पनि यो बाहेक अन्य कुनै पनि सम्बन्ध र गन्तव्यको म कल्पना पनि गर्न सक्दैनथे । अन्तिम समयतिर आएर पनि तिमीले पहिला जस्तो सिधा कुरा गरेनांै । मात्र केही गुनासा अनि आफ्नो निकट योजना र व्यस्त रोजगारीको कठिनाइका साथ अब आफ्नो स्थायी ठेगाना नरहेको जस्ता विषय उल्लेख गरेको थियौं । सुमन ! यस्तै परिस्थितिबिच हामी विपरित दिशा लाग्यौं । अनि एक–आपसमा तलाउमा फालेको ढुंगासरह भयौं । २०६१ माघ १९ को राजा ज्ञानेन्द्रले लगाएको संकटकालको सबैभन्दा ठूलो आघात ममाथि पर्यो । अनि हाम्रो अव्यक्त मायामाथि । माओवादी द्वन्द्वले यातायात त कठिन नै थियो अब टेलिफोन पनि अवरुद्ध भएको थियो । तिम्रो पुरानो नम्बरमा सम्पर्क गर्न अनि आपतकालीन अवस्थामा तिम्रो घरमा फोन गरेर तिम्राबारे थप जानकारी लिने समय पनि भएन । बुबाको रोजाइको कुनै विकल्प मेरो सामु थिएन । भगवानलाई साछि राखेर तिम्रो आत्मासँग माफी माग्दै मैले मेरो भविष्यको निर्णय गरिदिए ।

समय, भगवान र परिस्थितिले जे गर्यो, सायद हाम्रा लागि राम्रै गर्यो । किनकि त्योभन्दा राम्रो विकल्प हाम्रो जीवनमा सम्भव थिएन होला । कमजोरी तिमीबाट पनि भएको हुनसक्छ, मबाट पनि भएको हुनसक्छ । तर, जसको वा दुवै कमजोरी भए पनि निर्णयकर्ता त हामीमाथि अरु कोही अरु नै छ नि । उसको निर्णयभन्दा दायाँबायाँ गर्न सक्ने क्षमता हामीमा छैन । मेरो आस्थिक आत्माले यसो पनि भन्छ । यसबीचमा मेरो जीवनमा ठुल्ठूला मोड आए । अनि परिवर्तनले जीवनको आयाम स्वरूप र प्राथमिकता नै बदलिदियो । तर, एक असल साथी प्रेरक अनि शुभचिन्तक साथीको अभाव जीवनको हरेक मोड र घडीमा हुँदो रहेछ । यसबीच जीवनमा सबै भएर पनि त्यो अभावले मलाई कताकता चिमोटिरह्यो । हरेक मोड, घुम्ती, सफलता र असफलता अनि उतारचढावमा मैले एक असल र पथप्रदर्शक साथीका रूपमा तिमीलाई सम्झिरहेँ । अभाव महसुस गरिरहेँ । किन सम्झेको भनेर पनि नसोध मलाई ? थाहा छैन यो कस्तो अमूर्त अभाव हो वा केवल मेरो भ्रम र मूर्खता मात्रै के हो भनेर । तिमीसँग सम्पर्क नभएर मैले जन्मघर छाडेको यो लामो अवधिमा श्रीमानको रोजगारीको सिलसिलामा म तीन सहरमा गएँ । अनि ठाउँमा बस्दा पनि धेरै साथीको संगत र मित्रताले पनि तिमीसँगको मित्रतालाई धमिलो बनाउन सकेन । बरु झन् मजवुद र स्मरणीय बनाउँदै लग्यो । एक असल र हितैसी साथीका रूपमा तिमी सदा र हरक्षण मेरो स्मृतिमा रहिरह्यौ । अनि रहिरहने छौ पनि । केटा र केटीबीच असल साथीका रूपमा जति जे–जे सीमा रहनुपर्ने हो वा जति दूरी कायम हुनुपर्ने हो त्यो दूरी र सीमाका अधिनमा रही मैले तिमीलाई साथी मानिरहेँ, मानिरहन्छु । यसमा मलाई गर्व छ ।

सुमन ! म अरु सामान्य मानिसभन्दा अलि बेग्लै स्वभाव भएको मानिस हुँ भन्ने कुरा मलाई थाहा छ । तिमीलाई पनि । तसर्थ मानिस मलाई अलि घमन्डी छ पनि भन्छन् अनि जिद्धी पनि छु । के गरुँ म सच्चिन सक्ने समय र अवस्था पनि छैन मसँग । तर तिमीसँगको स्मृति केवल मेरो यो स्वभावको मात्र परिणाम हो भनेर मान्न म तयार छैन । छोटो समयको मित्रतापछि आफ्नो संसारमा रमाएकी नै भनुँ । म एक स्वतन्त्र हिन्दू नारी भएकोले अरु कोही पुरुषबारे चासो राखेर धेरै सोधखोज गर्दै रहनुलाई अवश्य पनि राम्रो मानिँदैन, चाहे उद्देश्य जति नै पवित्र होस र मैले गरिनँ पनि, माफ गर ल । यसबीच धेरै कोशिस पनि गरेँ । तर सम्भव भएन । सायद समय आएको थिएनँ । समय आएपछि अनेपक्षितरूपमा अचानक आज यो मुक्तिनाथको काखमा तिम्रो दर्शन पाँए । कमसेकम आफ्नै आँखाअगाडि देख्न पाँए । थाहा छैन, तिमीले देख्यौ या देखेनौ, चिन्यौ या चिनेनौ । थाहा छैन । यति खुसी लाग्यो कि आज निद्रै लागेन । यो खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ म ।

वर्षौपछि सम्पर्क भएका हामीले निरन्तर आफ्ना कुरा सेयर गर्यौ । मलाई झुट बोल्न वा कुरा लुकाउन आउँदैन । मैले सबै कुरा सेयर गरे । तिमीले पनि सेयर गरेका कुरा बनावटी हुन भनेर मैले कतै पनि कल्पना गरेको छैन । तिम्रो संघर्ष गर्ने शैली र आत्मविश्वास सम्झिँदा तिमी सफल छांै भन्ने कुरामा मलाई पूरै विश्वास छ । र, आज देख्दा पनि त्यहाँ छनक पाँए । म अत्यन्त प्रभावित र खुसी भए । तर, मेरो विगतको सुमन र अहिले देखेको सुमनबीच मैले आकाश–पाताल फरक पाएँ, जुन स्वभाविक पनि थियो । तिमी कजेज पढ्दा कस्तो थियौ, अहिले कस्तो भएछौ, मलाई यो परिवर्तन आत्मसात गर्न ज्यादै कठिन भयो । धेरै बेरसम्म ‘अपसेट’ पनि भए । यो मेरै कमजोरी थियो कि मैले स्वभाविक परिवर्तनलाई पनि पचाउन कठिनाई पर्यो । तिमीभन्दा त ममा नै धेरै परिवर्तन आएको छ । तर, मेरो आफ्नोभन्दा मलाई तिमीमा आएको त्यो परिवर्तनले कठिन बनायो । म र मेरो सोच साह्रै कमजोर र अव्यवहारिक रहेछ भनेर तिमीले बुझिदिनु बस् । तिमीसँग जम्काभेट भएकोमा मैले पटक–पटक भगवानलाई धन्यवाद दिएँ । तिमीलाई देख्ने अवसर पाएर म आफूलाई साह्रै भाग्यमानी सम्झे । योबीचमा मैले अनुभव गरेको खुसीको कुनै मापन र सीमा नै छैन । हाम्रा सीमा व्यक्तिगत, पारिवारिक र व्यवसायिक बाध्यता मैले सहजै महसुस गर्न सक्छु । किनकि म पनि यहि समाजकै अंग हुँ । बिहे त पक्कै गर्यौ होला ? अनि नानीबाबु पनि पक्कै भए होलान् ? तिम्रा नानीबावु मात्र होइन, तिम्री दिलकी रानी, बाबा, आमाप्रति पनि मेरो स्वभाविक माया, सम्मान र आदर छ । उहाँहरू असाध्यै भाग्यमानी हुनुहुन्छ कि तिमीजस्तो जिम्मेवार र बुझ्ने बाबु, श्रीमान र छोरा पाउनुभएको छ । तिमी पनि बाबा भयौ, अरुको भावनालाई मनन् र अनुभव गर्न सक्छौ । यसमा मलाई कुनै सन्देह छैन । सुमन ! मजवुद भएको तिम्रो परिवारको थप मजवुदी र सफलतामा मेरो पनि खुसी छ । बनावटी कुरा गर्न, झुटो कुरा गर्ने मेरो बानी र शौख छैन । जे भने, जे सेयर गरे त्यसमा कुनै अनावश्यक कुरा छैनन् । यदि ति कुनै कुराले तिमीलाई नराम्रो लागेको भए त्यसमा साथी सम्झेर माफि दिनु र सचेत गराउनु, म आफूलाई सच्चाउने कोशिस गर्छु । मेरो कुरालाई बालहठ नसम्झ । मैले सेयर गरेको कुरामा तिमीलाई विश्वास नलाग्न पनि सक्छ ।

त्यो स्वभाविक हो । एउटै कुरालाई हेर्ने र बुझ्ने दृष्टिकोण मानिस अनुसार फरक हुन्छ नै । म आफूलाई कठोर नै भन्ठान्छु तर, तिम्रा लागि अहिले यी शब्द लेखिरहँदा पनि मेरा आँखा चिसा भइरहन्छन । तिमीले कति कुरामा मलाई हासिमजाक पनि गर्याै होला, जिस्कायौ पनि होला त्यसको मलाई कुनै प्रवाह र स्मृति नै छैन । तर हाम्रो भेटको पछिल्लोपटक तिमीले अलिकति गुनासो गरे जस्तो लाग्छ मप्रति । त्यो विषयले भने मलाई पलपल पोलिरह्यो । म आफैलाई पटक–पटक सोच्न बाध्य गरायो । के म तिमीले भनेजस्तै मन र मुटु नै नभएको मानिस थिएँ होला र ? तिमीले यसो भन्यौ भनेर मैले तिमीप्रति त कुनै गुनासो गर्नै सक्दिनँ । सायद मेरै कुनै कारणले तिमीले यस्तो भनेको होला भनेर मैले मन बुझाउँछु । किनकि तिमीप्रति म नराम्रो त कल्पना गर्ने सक्दिनँ । गल्ति मेरै होला भन्ने सम्झन्छु । मेरो अपेक्षा त्यत्ति हो कि कमसेकम साथीले मेरा लागि त्यस्तो नभनिदिएको भए हुने थियो भनेर । बाइ भनेको भए म आफै पर गइदिन्थे, खुसीका साथ । हुन त कडा प्रहार नगरी यो साथीसँग टाढा हुन गाह्रो छ भनेर पनि होला । तर तिमीले भनेको भए सजिलै पर गइदिन्थे । मैले तिमीलाई कुनै पीडा र बोझ दिन सक्दिनँ । र, त्यसो गर्नु हुँदैन पनि । जसरी सजिलै तिमीले मेरा पत्र र तस्बिर फाल्न सक्यौ होला, उसै गरी मलाई नै बिर्सन पनि त सक्यो होला नि । यसमा त के कठिनाई भयो र । आफ्नो परिवार, भविष्य, उद्देश्य र बाबु नानीका लागि तिमीजस्तो आदर्श बाबुले एउटा साथीलाई सहजै त्याग्नै पर्छ । र तिम्रो त्यो निर्णयलाई मैलै सहजै स्वीकार गर्ने पर्छ र गर्छु पनि । असल साथीका रूपमा तिम्रो स्मृति नै मेरो लागी सदासदाको लागि प्रेरक र ऊर्जाशील छ । त्यति भए पुग्छ मलाई । तिमीले मेरा लागि तय गरेका कुनै पनि सीमा र दूरी मेरा लागि स्वीकार्य छन् । यतिसम्म कि अब एक–अर्कामा पुग्न तलाउमा फ्याकेको ढुंगासरि नै भए पनि । १७ वर्षसम्मको मेरो अनुभवले यो पनि सिद्ध गरिसकेको छ नि ।

तिमी असाध्यै व्यस्त छौं । तिमीसँग समय अत्यन्त कम छ, तिम्रा जिम्मेवारी धेरै छन् । अझै अगाडि बढ्नका लागि तिमीलाई थप समय चाहिएको छ र यो सबै मलाई थाहा हुँदाहँुदै पनि मैले तिम्रो समय नाश गरिदिएको छु । यो मेरो कमजोरी भयो । म बुझ्छु, सायद त्यहि भएर तिमी मसँग घरिघरी झर्को पनि मानेकी छांै । मलाई यसमा कुनै गुनासो छैन । किनकि साथीलाई यतिसम्म गर्न पाउनु स्वभाविक अधिकार हो । म तिम्रो विचार, आवेग र भावनाको सम्मान गर्छु । मलाई तिमीसँग कुनै स्वार्थ वा अवसरको खोजी पक्कै छैन यसमा तिमी ढुक्क भए हुन्छ । तिमी आफै हामीबीचको दुरि र सीमा तय गरिदेऊ । म त्यसलाई सहर्ष पालना र सम्मान गर्छु । तिमीलाई कुनै पनि तरिकाले दखल वा तनाव दिने कुरा म कल्पना पनि गर्दिनँ । तिम्रो वर्तमान र भविष्य अनि सुन्दर परिवार र परिवेशलाई गर्वका साथ सम्मान र इज्जत गरिरहन्छु । दसौं वर्षसम्म तिम्रो यादका भरमा बिताए भने अब पनि मलाई तिम्रो नियमित सम्पर्क वा सामिप्यताबिना थप बिसौं वर्ष बिताउन सक्ने कुरामा कुनै शंका छैन । म सक्छु । तिमीसँग एकपटक भेट भयो यो नै मेरो लागी काफि पनि छ यो जुनीमा । तिमीलाई फेरि देख्न, भेट्नै मन लागेछ भने पनि तिमीलाई कुनै दखल नदिई, थाहै नदिई म दर्शन गरुला, देवताको दर्शन गरेसरि । मेरो चाहना र उद्देश्य तिमीलाई दुःख दिने वा कुनै पनि तरिकाले बाधा दिने होइन । समय र परिस्थितिले हामी त्यस्तो यात्रा अगाडि बढिसकेका छौं कि जहा न त बाटो एउटै छ, न त बिसौनी र गन्तव्य नै । समय र परिस्थितिले हामीबीच जिम्मेवारी कर्तव्य र प्राथमिकताका धेरै सगरमाथा खडा भइसकेका छन् । हाम्रो यात्रा गर्ने गोरेटो धेरै पहिला नै फरक भइसकेको छ । सुमन ! एक प्रकारले भन्ने हो भने तिमी मेरो जीवनको काल्पनिक पात्र, साथी मात्र हौ भनेर मान्न पनि म त तयार नै छु । यति हो कि एक असल साथीका रूपमा तिम्रो साथले खाडलमा अड्केको मेरो जीवनको रथ अगाडि बढ्न ऊर्जा र प्रेरणा पायो । यो स्वार्थी संसारमा भावनाकै भए पनि एउटा साथीका रूपमा साथ दियौ, सहयोग गर्यौ, अगाडि बढनुपर्छ भनेर भन्यै यो नै मेरो लागि लाख भयो ।

सुमन ! तिमीप्रतिका मेरा यी शब्द कुने उत्तेजना, संवेग वा फगत भावनाका उपज होइनन । तिमीप्रतिको मेरो विशेष अनुभूति हो । जीवनमा फेरि भेट होला, नहोला वा कुन मोडमा होला, यो एउटा अर्कै संयोग होला । घरीघरी त मलाई यस्तो लाग्छ कि हाम्रो यो सम्बन्ध अनि मित्रता केवल विगतका लागि मात्रै हो कि, भविष्यसँग यसको कुनै सम्बन्ध नै छैन ।

भेटेरभन्दा नभेटेर नै यसलाई जीवन्त राख्न पो ठीक हो कि । कुनै संयोगवश भेट नै भयो भने पनि त्यसलाई पनि राम्रै मानौला नि । तिमीसँगै खिँचेका सदावहार ती तस्बिर मसँग सुरक्षित छन् । तस्बिर मात्र होइन, तिमीसँगका स्मृतिका हरेक कागजका टुक्रा समेत सुरक्षित छन् । तिमी नै सम्पूर्णरूपमा तिनै हुन भन्ने कुरामा म पूरै आश्वस्त छु । आजकल कहिलेकाही विचार आउँछ कि ति सबै जलाइदिउ कि भनेर तर मेरो अन्तस्करणले भन्छ भौतिक रूपमा उस्को योबाहेक तिमीसँग अरु के छ र अनि यसलाई जलाउँदैमा के तिमी आफ्नो साथीलाई मन, मस्तिस्क र सोचवाट सधैका लागि हटाउन सक्छौ ? यदि सक्दैनौ भने विचरा यी निरिह चिजलाई किन सजाय दिन्छौ ? कसमेकम साथीको प्रतिनिधित्व त गरेका छन् । साथ त दिएका छन् भनेर भन्छ भित्रि मनले अनि सक्दिनँ जलाउन वा फाल्न पनि । जीवनको उमेरमा आइसक्दा मैले बुझिसके, मनले चाहेका हरेक कुरा पाउनु सम्भव छैन । त्यसैले तिमीसँग भेट्ने नजिकै रहने अनि एक साथीका रूपमा दुःख सुख सेयर गर्ने भन्ने मन भए पनि बाध्यता र परिस्थितिले त्यो सम्भव हुँदैन भने त्यसमा किन चिन्ता लिनु । जुन कुराले जीवनलाई सहज तरिकाले अगाडि बढाउन सहयता पुर्याउन सक्छन् ती कुरामा पो जोड दिनु हैन त । तिम्रा पुराना तस्बिर अनि उति बेलाको स्मृति नै मेरो ह्दय र आँखामा छाप परेको रहेछ । आज भेटेको अनुहार मेरै साथी सुमन हो भनेर पूर्ण आस्वस्त हुन मलाई घण्टौं लाग्यो । मलाई माफ गर, मेरो स्मृतिमा जे छ त्यहि रहन देऊ कृपया । तिमीमा आएको स्वभाविक र उमेरगत परिवर्तनलाई मैले आत्मसात गर्नै सकिनँ के भयो के भो । होस है ।

खुसीका सीमा छैनन् मभित्र, तिमीप्रति कुनै पनि मेरो गुनासो, पुर्वाग्रह छैन । छ त केवल तिमीले मलाई असल साथीकारूपमा दिएको माया, प्रेरणा अनि निरन्तर ऊर्जाको लागि मेरो मनैदेखिको सम्मान, माया, कृतज्ञता अनि मिठो अनुभूतिसहितको स्मृति । तिमीले मलाई भुलेका थियो, मैले अचानक सम्झाइदिएँ । अर्थात खाटो बसेको घाउ कोट्याएर फोहोर गरिदिएँ । अब पनि भुलिदिए हुन्छ मैले कुने गुनासो गर्दिनँ र तिमीलाई कुनै दुःख दिने वा तिम्रो समय नोक्सान पनि गर्दिनँ । तिमी त मैले विश्वास गरेको, अनि बडा सम्मान र आदरका साथ स्मृतिमा साँचेको साथी, मात्र साथी । मलाई केवल तिम्रो स्मृति भए पनि पुग्छ । तिमी र तिम्रो सारा परिवार सुखी, खुुसी र समुन्नत भए जिउँदो हँुदा मेरो मन र मरेपछि मेरो आत्माले शान्ति पाउँछ । एकजना साथीको स्मृतिले यतिसम्म फरक पार्दो रहेछ, जीवनमा मैलै कहिल्यै कल्पना गरेको थिइनँ । सुमन ! मैले तिमीबाट धेरै कुरा लिए मात्र दिन केही सकेको छैन, सिवाय यी झर्को लाग्ने शब्द र अनावश्यक बोझबाहेक । जीवनमा तिमीलाई पनि कति कठिन समय र परिस्थिति आए होलान् । ती परिस्थितिको सामना गर्न तिमीलाई पनि कठिन भयो होला । तर, मैले कहिल्यै पनि तिमीलाई साथ दिन र सहयोग गर्न सकिनँ । केबल मैले भगवानसँग प्राथना गरे र भगवानकै भरमा तिम्रा कठिनाइको जिम्मा लगाएँ । साथीको साथ त दोहोरो हुनुपर्ने हो । तर, म चुकेको हुन सक्छु त्यसमा । सक्छौ भने यसमा मलाई मापीm दिनु, किनकी यो मैले चाहेर होइन । १६ वर्ष पूरा हुनेबित्तिकै बाबा आमाको काख छाडेर पढ्न निस्केको तिमी २० वर्षको उमेर नपुग्दै तिमी झन् झन् टाढा पराई ठाउँमा व्यवसायिक संघर्षका दिन सुरु गर्न जाँदा तिमीलाई परेका कठिनाई म अनुमान पनि गर्न सक्दिनँ । त्यस्तो बेला हामी झन् झन् पर भयौं । मेलै तिमीलाई सहयोग र साथ दिनुपर्ने बेला हामी झन् दोबाटोको यात्री भयौ । हुनत त्यही कालखण्डमा म पनि संघर्षका पाइला नयाँ भूमि र परिवेशमा दौडाउँदै थिएँ । तिमीले देखाएको गोरेटो निर्माणमै रहेछु । तर, परिस्थितिवश म स्वार्थी जस्तै भए । यसमा घरिघरि मलाई अपसोच नभएको पनि होइन ।

सुमन ! माया, सम्मान विश्वास भन्ने कुरा होइन अनुभूति गर्ने कुरा हुन् । त्यसैले मैले शब्दमा भनिरहनुको कुनै अर्थ छैन । यो अनुभूति मेरो एकतर्फी मात्र पनि हुन सक्छ । यसमा केही छैन । जीवनको कुनै भर छैन । कति बाचिएला र अब । सामान्य अवस्थामा पनि उमेर र मृत्यु प्रवृतिको आधारमा तिमीभन्दा त पक्कै म नै पहिला यो संसारवाट बिदा लिने हो । जति दिन वाचे पनि एक असल मित्रको स्मृतिले मलाई जीवनभर प्रेरणा दिइरहन्छ, यो कुनै भ्रम होइन । मरेपछि पनि कुनै माध्यमबाट तिमीलाई थाहा भयो भने मेरा गल्तीलाई सम्झेर माफी दिनु, किनकि तिम्रो भारवहन गरेर माथि जान नसकुला । मेरो अन्तिम पल मलाई महसुस भएछ । र मैले यदि बोलाएछु भने अवश्य मलाई एकपटक दर्शन दिनु । यदि त्यो पनि तिमीलाई कठिन भयो भने नआउनु, मेरो पटक्कै कुनै गुनासो रहने छैन । हाम्रो मित्रताको अवधिमा कुनै पनि बेला कुनै पनि कुरा मैले बनावटी गरेको छैन । किनकि त्यो गर्नुको कुनै औचित्य र आवश्यकता नै थिएन । बरु कुनै कुरा महसुस नै नभएको वा नभनेको हुन सक्छ । यदि त्यस्ता कुराले तिमीलाई जीवनमा कतै ठेस लागेको भए मूर्ख साथीसँग संगत गरेछु भन्ठानेर माफी दिनु । परिवारको खुसीमा कुनै सम्झौता नगर्नू । मलाई विश्वास छ कि तिमी, तिम्रो परिवार र जीवन सुखी छ । अनि तिमी आफै पनि सायद बाबु भइसकेका छौं । त्यसैले आफ्ना बाबा आमाका लागि पनि गर्व गर्न सक्ने छोराका रूपमा आफूलाई सदा प्रस्तुत गर्नु । उहाँहरूलाई अरु होइन तिम्रो सामिप्यताको खाँचो छ ।

सुमन ! मैले मेरो सबै कुरा राखिसके । तिमीलाई यो सव केवल बकवास वा पागलपन लाग्छ भने पनि सही । त्यसमा मेरो कुनै गुनासो रहँदैन । साथीको रूपमा तिमीलाई जति हदसम्म मेरो सम्पर्क सहज र जरुरी लाग्छ, त्यत्ति हदसम्मका लागि साथीको भुमिका निर्वाह गर्न पाउनुलाई मेरो भाग्य सम्झन्छु, नाई त यत्तिमै ओके । बाइ त म भन्न सक्दिनँ । तिम्रा लागि म खुला किताब हँु र रहनेछु । तिमीले भने झै म कमजोर र नरम छु । तर मेरा यी आँखा नै यस्तै छन् अन्तिम हरफ लेखिरहँदा पनि साउन बनिदिन्छन् । तर, तिमी म जस्तो कमजोर कहिल्यै नहुनू, एक सिंहिनीजस्तो भएर जीउनु मेरो जस्तो कमजोर आँखाको सहारा कहिल्यै नलिनु ल । तिम्रो प्रेरणा र शुभेच्छा, उनको प्रयास, विश्वास र माया अनि जन्मदिने आमा र भगवानका आशिर्वादले म पनि सम्पूर्णरूपमा खुसी छु, सुखी छु, अनि सन्तोष छु, परिवार, परिवेश र परिस्थितिका साथ । सजिलोको लागी ‘तिमी’ शब्द प्रयोग गरे । यसलाई साथी सम्झेर सहज रूपमा लिइदिनु मेरो प्यारो साथी ‘सुमनजी’ । भगवानले सदा तिमी र तिम्रो परिवारको भलो गरुन् । भोलि तिम्रो हातमा यो पत्र पर्दासम्म हामी धेरै टाढा पुगिसकेका हुनेछौ । जोमसोम वरिपरि आँखा नडुलाउनु, पढेर च्यातेर फ्याकिदिनु । मेरो याद आएन वा स्मृतिमा रहेनछु भने पागल केटी सम्झेर यो पत्रलाई नजिकैको कालीगण्डकीमा बगाइदिनू । मेरो याद आयो, कुनै कुरा भन्न मन लाग्यो भने मेरो नम्बर र सम्पर्क नखोज्नु, मेरै नाममा फेसबुक आइडी छ, खोजेर एड गर्नु । नत्र यतिमै यो जीवनमा बिदा तिमीबाट सुमन ।

उही नबिर्सने साथी
‘काली’ (तिमीले राखीदिएको नाम)

Tags :
प्रतिक्रिया दिनुहोस