गाउँपालिका अध्यक्षलाई सुन तस्करी मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गाउँपालिका अध्यक्षलाई सुन तस्करी मुद्दा


१९ कार्तिक २०७४, आइतबार


सुन

काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा छुटेका छन् ।

तस्करीमा संलग्न मुख्य नाइके चारैजना फरार छन् । सुनको लगानीकर्ता भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको प्रहरी निष्कर्ष छ । त्यस्तै, न्युरोड क्षेत्रमा बसेर सुन र हुन्डीको कारोबार गर्ने रमेश खड्का, सुन्दर खड्का र कृष्ण खड्काविरुद्ध समेत प्रहरीले मुद्दा दायर गरेको छ । १४ किलो सुन शेर्पाको टोखास्थित डेराबाट तथा एक किलो धनुषाबाट बरामद भएको थियो । उनीहरूबाट भक्सवागन कार, ६ सय अमेरिकी डलर पनि बरामद गरेको थियो ।

पक्राउ परेका पेम्बा दोर्जे तस्करीका मुख्य सहयोगी हुन् । सो सुन एक चिनियाँको भएको र आफूले केही पैसा लिएर ओसारपसार एवं बिक्री मात्र गर्दै आएको बताएका छन् । पक्राउ परेका अन्य चारजना नेपालका विभिन्न सुन पसलदेखि भारतसम्म पुर्‍याएर तस्करीको सुन बिक्री गर्ने व्यक्तिहरू भएको प्रहरीले जनाएको छ । पेम्बा दोर्जेले आफ्नै कन्टेनरमा राखेर सो सुन रसुवा हुँदै काठमाडौं ल्याएका थिए । आफूले दुईपटक चीनबाट सुन ल्याएको उनले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस