प्रदेश ३ मा केन्द्रकै झल्को « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश ३ मा केन्द्रकै झल्को


१८ कार्तिक २०७४, शनिबार


काठमाडौं । पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरूको रोजाइ प्रदेशसभा बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ । संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि माओवादी केन्द्र र कांग्रेसका दर्जनौं सांसद ३ नम्बर प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । प्रदेशसभामा ‘हेभीवेट’ को बाढी लागेपछि यो प्रदेशको भावी मुख्यमन्त्रीबारे अनेक अड्कल काटिन थालेको छ ।

पूर्वमन्त्री एवं एमाले नेता पाण्डे ०४८ सालदेखि (०६४ को संविधानसभा) बाहेक संसदीय भूमिकामा सक्रिय छन् । एमालेको प्रमुख सचेतकसमेत बनिसकेका पाण्डेलाई ३ नम्बर प्रदेशमा एमालेको भावी मुख्यमन्त्रीका रूपमा समेत चर्चा गर्न थालिएको छ । तर, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं, सानु श्रेष्ठ पनि प्रदेशसभाको उम्मेदवार बनेकाले एमालेले मुख्यमन्त्री कसलाई बनाउँछ भनेर सहज अनुमान लगाउन गाह्रो छ ।

काठमाडौं ९ बाट उपाध्यक्ष शाक्य उम्मेदवार बन्ने चर्चा चले पनि शाक्यले अन्तिम समयमा प्रदेशसभामा जाने निर्णय गरेकी थिइन् । दोलखाबाट प्रदेशसभामा उम्मेदवार बनेका चौलागार्इं र काठमाडौंबाट उम्मेदवार बनेका श्रेष्ठ पनि भावी मुख्यमन्त्रीको चर्चामा छन् । ‘प्रतिनिधिसभा जत्तिकै प्रदेशसभालाई हामी संसदीय अभ्यासको राम्रो स्थल बनाउनेछौं’, एमाले नेता पाण्डेले भने, ‘३ नम्बर प्रदेशको विकास निर्माणका लागि नीति र योजना बनाउने तथा कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका हुनेछ । जनताले संघीयताको वास्तविक अनुभव र उपभोगको उदाहरणीय काम गर्ने अठोट छ ।’

स्थानीय निर्वाचनमा ३ नम्बर प्रदेशमा एमालेको पक्षमा राम्रो नतिजा आएको र माओवादीसँगको गठबन्धनपछि ३ नम्बर प्रदेशमा एमालेको पक्षमा नतिजा आउने भन्दै प्रदेशसभामा गएका सबै ‘हेभीवेट’लाई मुख्यमन्त्री भन्दै उनीहरू निकटले चर्चा चलाउन थालेका छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित पनि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ (क) को प्रदेशसभामा एमालेका तर्फबाट उम्मेदवार बनेकाले मुख्यमन्त्रीको भीडमा स्थापित पनि चर्चामा छन् ।

कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादे काभ्रे र पूर्वसांसद राज्यलक्ष्मी श्रेष्ठ काठमाडौंबाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । संसद्को अनुभव र अभ्यासका कारण कांग्रेसले यी दुईमध्ये एक जनालाई प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्न सक्ने अनुमान गरिएको छ । ‘केन्द्रीय संसद्ले नीति बनाउने हो । तर, त्यसको वास्तविक कार्यान्वयन गर्ने काम प्रदेशको हुनेछु, कांग्रेसका वादेले भने, ‘३ नम्बरको विकासका लागि प्रदेशसभाको महत्व दर्शाउनेछौं ।’

माओवादी केन्द्रका अधिकांश पूर्वसांसद प्रदेशसभाको उम्मेदवार बनेका छन् । कृषिराज्यमन्त्री एवं माओवादी केन्द्रकी पूर्वसांसद राधिका तामाङ नुवाकोटबाट प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेकी छन् । ‘एकताका मजदुर नेताका रूपमा तहल्का मच्चाएका’ माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल पनि धादिङबाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका पूर्वसांसद कुमारी मोक्तान मकवानपुरको १ नम्बर क्षेत्रको (क) र राजकाजी महर्जन ललितपुरको ३ नम्बरको (क) बाट प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रकी निवर्तमान सांसद तामाङ पनि प्रदेशसभामा खारिएका व्यक्तिहरूको उपस्थितिले प्रदेशसभाको गरिमा उचो हुने बताउँछिन् । एमालेका निवर्तमान सांसदद्वय रामेश्वर फुँयाल काठमाडौं ३ को (ख) तथा राजाराम स्याङतान मकवानपुर २ नम्बर क्षेत्रको (ख) बाट उम्मेदवार बनेका छन् । फुँयाल र स्याङतानले ०७० को संविधानसभामा प्रत्यक्षतर्फ जितेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस