छानबिन नटुंगिँदा नतिजामा अन्योल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

छानबिन नटुंगिँदा नतिजामा अन्योल


११ कार्तिक २०७४, शनिबार


काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले दुई साताअघि लिएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा ढिलाइ हुँदा नतिजा पर्खाइमा रहेका साढे आठ हजार विद्यार्थी अन्योलमा छन् । त्रिभुवन विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाए पनि प्रतिवेदन नआउँदा नयाँ परीक्षा लिने या पुरानैबाट नतिजा सार्वजनिक गर्ने भन्नेमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) नै अनिर्णीत छ ।

आईओएमले असोज २८ मा लिएको प्रवेश परीक्षामा डिभाइस प्रयोग गरी चिट चोरी गरेको पाइएपछि प्रहरी र त्रिविले बेग्लाबेग्लै अनुसन्धान गरिरहेकामा बेलैमा प्रतिवेदन नदिँदा विद्यार्थी मारमा परेका हुन् । ६ सय ४० कोटाका लागि आईओएमले लिएको प्रवेश परीक्षामा ८ हजार ६ सय ६६ सहभागी थिए । प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्रिविले पनि लगत्तै छानबिन समिति गठन गरेको थियो ।

नतिजा सार्वजनिक नहुँदा त्यसको असर अन्यत्र पनि परेको छ । काठमाडौं विश्वविद्यालयमा पास भएका विद्यार्थी पनि आईओएमको नतिजा सार्वजनिक भएपछि मात्रै भर्ना हुने योजनामा छन् । प्रतिष्ठानहरूमा समेत आईओएमको नतिजाले असर पारेको छ । स्वदेशमा एमबीबीएस अध्ययन महँगो भएकाले सस्तोमा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी पनि अन्योलमा छन् । विदेशमा एमबीबीएस पढ्न पनि स्वदेशको प्रवेश परीक्षा अनिवार्य पास हुनुपर्ने प्रावधान छ । बेलैमा नतिजा सार्वजनिक नहुँदा शैक्षिक सत्रको समयसमेत धकेलिने अवस्था छ ।

उक्त प्रकरण छानबिन गर्न त्रिविले पूर्वडिनको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । प्रहरी र छानबिन समितिको सुझाव कुरेर बस्दा आईओएमले निर्णय लिन नसकेको हो । ‘छानबिन प्रतिवेदन नआएसम्म केही निर्णय गर्नै सक्दैनौं,’ आईओएमका डिन डा. जगदीश अग्रवालले भने ।

चोरी प्रकरणमा संलग्न भन्दै प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये दुई जना अर्काको परीक्षा दिनेछन् । १३ जनालाई ठगी र साइबर क्राइममा मुद्दा चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले बताए । ‘प्रश्नपत्र सार्वजनिक भएको हो/रहोइन, बाहिर आएको एन्सर मिल्छ कि मिल्दैन ? त्यो भित्र गयोरगएन ? भन्ने दुई दिनभित्र आईओएमलाई जानकारी दिन्छौं,’ उनले भने । परीक्षाअघि नै आउट भएको हो भन्ने प्रमाणित हुन बाँकी रहेको उनले बताए । कागजमा लेखेर सार्वजनिक भएको ‘एन्सर की’ आईओएमकोसँग हुबहु मिल्नेरनमिल्ने पनि विज्ञ बोलाएर परीक्षण हुन बाँकी रहेको उनले बताए । ‘अझै प्रारम्भिक चरणमै छौं । अहिलेसम्म हेर्दा आईओएमको संलग्नता देखिँदैन,’ उनले भने ।

दुई साताको समयावधि दिएर त्रिविले गठन गरेको छानबिन समिति संयोजक चिन्तामणि पोखरेलले एक साताभित्र अध्ययन सकाएर प्रतिवेदन बुझाउने बताए । ‘यस्तो अवस्था हुँदा त्रिवि परीक्षा नियन्त्रण कार्यालयले के गर्ने गरेको छ, छलफल गरेर निष्कर्ष निकाल्छौं,’ उनले भने ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले छानबिन समितिले जे सुझाव दिन्छ, त्यसैका आधारमा निर्णय लिने व्यवस्था रहेको बताए । ‘प्रश्नपत्र बाहिरिएको हो भने कति ठाउँमा असर पर्‍यो ? कमिटी गठन गरेर छानबिन गराउँछौं । कमिटीको सिफारिसलाई आधार मान्छौं,’ उनले भने ।

एमबीबीएस प्रवेश परीक्षाका लागि काठमाडौं उपत्यकाका १७ ठाउँमा केन्द्र तोकिएका थिए । तीमध्ये अरुणिमा, किस्ट कलेज र नामी कलेजबाट डिभाइसको माध्यमबाट उत्तर लेखिरहेका र नक्कली विद्यार्थीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस