मतदाता रोक्नै मुस्किल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मतदाता रोक्नै मुस्किल


१० कार्तिक २०७४, शुक्रबार


काठमाडौं । जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन् । अन्य जिल्ला र भारतसम्मै पुग्छन् । घरहरूमा ताला मारिन्छ, एकरदुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरू अन्यत्र जान्छन् । चिसो बढ्न सुरु भए पनि यसपटक भोट दिनुपर्ने भएकाले जिल्लावासी बाहिर जान रोकिएका छन् । बरु अन्यत्र रहेका उम्मेदवारका आफन्त पनि हार–जितमा आफ्नो मतले प्रभाव पार्ने भन्दै जिल्ला आउन थालेका छन् ।

सबै दलले आफ्ना निकटका कार्यकर्ता र मतदातालाई मंसिर १० अघि जिल्ला नछाड्न आग्रह गरेपछि मुस्ताङीको जाडो छल्ने उँधौली परम्परामा केही फेरबदल भएको छ । जाडो छल्न यहाँका बासिन्दा असोजदेखि नै तयारी थाल्ने र कात्तिक महिनाभरि राजधानीलगायत बेनी, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा जाने परम्परा छ । तर, अहिले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थानीयलाई जिल्ला बाहिर जान एक महिना ढिलो हुने भएको छ ।

सबै पार्टीले यहाँका गाउँगाउँ पुगेर चुनावअघि कहीं नजान उर्दी गरेको स्थानीयले बताए । उम्मेदवार र दलहरूको आग्रहका कारण जिल्लावासी मंसिर १० को मतदान समयको पर्खाइमा छन् । गत आइतबार उम्मेदवारी निश्चित भए पनि अधिकांशले गत महिनादेखि नै चुनाव प्रचार थालेका थिए ।

जाडो छल्न मुस्ताङ बाहिर जाने र यही बेलामा सानोतिनो व्यापार गर्नेहरू अहिले चुनावमा भोट माग्न र आफ्ना उम्मेदवारलाई जिताउन प्रचारमा जुटेका छन् ।

उपल्लो मुस्ताङ छोन्हुप गाउँका टासी हाल्मो गुरुङ बहिनी पेमालाई लिएर कात्तिकमा भारतको बनारस पुग्थे । जाडो छल्ने र फागुनसम्म अस्थायी व्यापार गरेर ४र५ लाख कमाइ गरेर फर्कन्थे । अहिले उनी गाउँमै छन् । उनी कुनै पार्टीका कार्यकर्ता होइनन् । जुन उम्मेदवार मनपर्छ त्यसैलाई भोट दिने सोच रहेको बताए ।

‘गाउँभरिको कोही पनि बाहिर गएको छैन, म मात्र किन जाने ? भोट दिएपछि जाने विचार गरेको छु,’ उनले भने, ‘एक महिना ढिलो हुने हो, सधैं फागुनमा गाउँ फर्कन्थ्यौं । यो पाला चैततिर फर्कनुपर्ला ।’ भोट कसलाई दिने थाहा छैन तर, गाउँमा सल्लाह गरेर जुन उम्मेदवारले राम्रो काम गर्छ त्यसैलाई दिने योजना उनले सुनाए । ‘असोजमै व्यापार गर्ने लत्ताकपडा र केही खानेकुराका सामान किनिसकेको छु । बहिनी र म गएर बेच्ने हो,’ उनले भने, ‘उतै बनारसमै सामान किनेर त्यहीं बेचेर आउने गर्छौं ।’ फोनबाटै सामान अर्डर गरेर किनेको र अब चुनावपछि गएर बिक्री गर्ने उनले बताए ।

तालमेल गरेका र उम्मेदवार भएका दलहरूका नेताहरूले हरेक गाउँका अगुवालाई फोन गरेर भोट नदिई कसैलाई पनि बाहिर जान नदिनु भनिसकेका छन् । गाउँका अगुवा वा मुखियाले भनेको सबैले मान्ने यहाँको पुरानो चलन हो । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा प्रजातान्त्रिक र राप्रपाका जिल्ला नेताले आफ्ना मातहतका गाउँले अगुवालाई चुनाव प्रचारमा जुट्न र जिल्ला छाडेर नजान आग्रह गरेपछि अहिले मुस्ताङलाई चुनावले छोपेको छ ।

सदरमुकाम जोमसोममा प्रचार गर्न नेताहरू दैनिक बैठक गर्दै आएका छन् । कांग्रेसले प्रचारप्रसार समिति बनाएर गाउँगाउँमा कार्यकर्ता परिचालन गरेको छ । ‘हामीले हाम्रो प्रचारलाई तीव्रताका साथ अघि बढाएका छौं,’ कांग्रेसका पूर्वजिल्ला सभापति सुवर्णकुमार विष्टले भने, ‘जाडो छल्न जानेहरूलाई एक महिना धैर्य गर्न आग्रह गरेका छौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस