जनतालाई अनुभूति हुने गरी शान्ति सुरक्षा कायम गर्न सके मिसन सफल हुनेछ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनतालाई अनुभूति हुने गरी शान्ति सुरक्षा कायम गर्न सके मिसन सफल हुनेछ


मोहनकृष्ण सापकोटा

१० कार्तिक २०७४, शुक्रबार


म २०४० जेठ ११ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा नायब सुब्बाका रूपमा प्रवेश गरेको थिएँ । आज त्यही कार्यालयअन्तर्गतको गृह मन्त्रालयमा ३४ वर्षपछि सचिवका रूपमा काम गर्ने अवसर पाउँदा भाग्यमानी ठानेको छु । यहाँहरूले जुन माया र साथ दिनुभएको छ, त्यसले गौरवान्वित तुल्याएको छ ।

गृह मन्त्रालय टिम स्प्रिडमा चल्छ । अरू मन्त्रालयभन्दा हामी अलि फरक छौं, किनकि हामी एक–अर्कालाई सघाउने र रिजल्ट दिने किसिमले काम गर्छौं । यो गृह मन्त्रालयको विषेशता हो । हामी अनुशासनबद्ध भएर सरकारका घोषित नीति र विधान अनुसार काम गर्छाैं ।

संविधान र प्रचलित ऐन नियमको कार्यान्वयनसँगै सन्धि सम्झौताको पालना सधै गर्नुपर्छ । र, अरू मन्त्रालयले नगरेका काम पनि गर्नुपर्छ । त्यसकारण काम गर्न चुनौती छ । यससँगै अवसर पनि छ ।

वास्तवमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु असाध्यै चुनौतीपूर्ण कुरा हो । राज्यका सबै सुरक्षा निकायसँगको सहकार्यमा यो जिम्मेवारी पूरा गर्नुपर्छ । छिटपुट घटनाबाहेक समग्रमा जनताले विश्वास गरेको अवस्था छ । तसर्थ जनताको विश्वास कायम गरिराख्नु चुनौती पनि हो । गृह मन्त्रालयको मातहतमा हामी ठुलठूला परिवर्तन, संकट र दैवीप्रकोप व्यवस्थापन गर्छौं । यसमा हामी सबै मिलेर काम गर्नुपर्छ ।

अहिलेको अवस्थामा नवपर्वतन गर्न जरूरी छ । किनकि समाज सरकारभन्दा अगाडि गइराखेको छ । भनिन्छ, अपराधी प्रहरीभन्दा अगाडि हुन्छ । त्यसकारण यसलाई कन्ट्रोल गर्न हामी अगाडी जानैपर्ने हुन्छ । यसमा केही काम गर्नु पर्छ ।

समाजमा चुनौती बढिराखेको छ । जनताका एस्पेक्टेसन धेरै छन् । रिसोर्स ग्याप छ । शान्ति सुरक्षा कायम भएन भने आर्थिक विकास र समृद्धि हासिल हुनै सक्दैन । यस्तो प्राइमेरी जिम्मेवारी हाम्रो पर्छ । त्यो जिम्मेवारी पूरा गर्न अहिलेसम्म गरेको कामलाई पुनरावलोकन गर्दै आगामी दिनमा नयाँ किसिमले चल्नुपर्छ । सक्रिय भई नतिजा हासिल गर्नुपर्छ । जनतालाई अनुभूति हुने गरी शान्ति सुरक्षा कायम गर्न सकियो भने हाम्रो मिसन सफल हुनेछ । त्यसकारण जनतालाई अनुभूति हुने गरी शान्ति सुरक्षा प्रत्याभूति गराई समृद्धि र खुशीयाली दिन सक्नुपर्छ । त्यसका लागि टिम स्प्रिडमा काम गर्नुपर्छ ।

नेपालको संविधानले जनतालाई मौलिक हक पनि असाध्यै धेरै र त्यसको कार्यान्वयन गर्नसक्ने आधार र सुविधा दिनसक्ने कुराको प्रत्याभूति गरेको छ । यसलाई परिपालना गराउनु हाम्रो कर्तव्य हो । तर, धेरै चुनौतीहरू छन् । सूचना प्रविधि र खुला तथा उदार अर्थतन्त्रले ल्याएको चुनौतीसँगै नागरिक अधिकार रक्षा गर्नु उत्तिकै चुनौती छ ।

यसको सम्बोधन गर्न एक टिम बनाएर जानुपर्ने हुन्छ । क्षमता कसरी विकास गर्ने ? जनशक्ति व्यवस्थापन कसरी गर्ने ? सुधार गर्दा यी कुरालाई मूल बुँदाकारूपमा लिनुपर्ने हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा मानव स्रोतको विकास, जनशक्ति व्यवस्थापन र भएका जनशक्तिको क्यापासिटी बढाएर चुनौती सामना गर्न सक्छौं । र, राम्रो नतिजा दिन सक्छौं । म सबै साथीहरूलाई नयाँ कामका लागि प्रण गर्न अनुरोध गर्दछु ।

सूचना संकलन गर्ने काम पनि अति महत्वपूर्ण हुन आउँछ । इन्फरमेसन भनेको एकदमै ठुलो कुरा हो । सूचना संकलन गर्ने, यसलाई व्यवहारिक बनाउने र त्यसका आधारमा परिचालन तथा व्यवस्थापन गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ । त्यसैका आधारमा हामीले प्लानिङ गर्ने र एक्सन लिने हो । त्यतापट्टि सबैले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । देश र जनताको हित हुने गरी नयाँ काम हाम्रो कार्यकालमा देखाउन सक्नुपर्छ ।

अहिले जति काम गरेका छौं, त्यो प्रशंसायोग्य छ । त्यसलाई अझ राम्रो बनाउन सबै एकजुट भएर जनतालाई अनुभूति हुने गरी काम गर्न विनम्र आग्रह गर्दछु ।

यतिबेला निर्वाचन महत्वपूर्ण छ । निर्वाचन सम्पन्न गर्न प्राइमरी डिउटी शान्ति सुरक्षा कायम गर्नेदेखि लिएर लजेस्टिक सपोर्ट गर्ने, निर्वाचन आयोगलाई सघाउन र सरकारका अरू अंगलाई पनि सपोर्ट पुर्याउने काम गर्नुपर्ने छ । यो जिम्मेवारी पूरा गर्न हामी सबैले विशेष काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

हामीलाई संघीयता कार्यन्वयनको चुनौतीका सन्दर्भमा अलिकति सुधार गर्नुपर्ने हुन्छ । जुन तीन तह (संघ, प्रदेश र स्थानीय सरकार) को सरकारको हामीले कुरा गरेका छौं । त्यसमा शान्ति सुरक्षा कायम गर्ने देखि स्टक्चर नै नयाँ खडा गर्नुपर्ने कुरा तत्कालको जिम्मेवारी हुन आउँछ ।

वास्तवमा संघीयता कार्यान्वयनमा अरू मन्त्रालयले पनि काम गरिरहेका छन् । सामान्य प्रशासन मन्त्रालयले पनि संघीयता कार्यान्वयनका लागि ठूलै टीम बनाएर काम भइरहेको अवस्था छ । तर, संघीयता कार्यान्वयनको खास जिम्मेवारी गृह मन्त्रालयको हो । राजनीतिक रूपमा संघीयता अगाडि बढ्यो । तर, प्रशासनिक रूपमा कर्मचारी खटाउन सकिएन । त्यसका लागि प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी प्रत्येक जिल्लामा युनिट बनाएका छौं । अब प्रमुख जिल्ला अधिकारीको काम कारबाही खोज्नुपर्छ, जुन अहिलेसम्म खोजिएको छैन । अब गृहले त्यो खोज्छ । सरकारले धेरै कुरा अगाडि बढाउँछ । तर हामीले कहिलेकाँही नबुझिदिँदा यस्तो अवस्था आउँछ । त्यसकारण अरु मन्त्रालयले नगरेका काम पनि हामीले गर्नुपर्छ । यो विशेष जिम्मेवारीका साथ सबैले काम गर्न म आग्रह गर्न चाहन्छु ।क

हामीले नवपरिवर्तनको कुरा गरिरहेका छौं । आफ्नो फिल्डमा हुन सक्ने सबैभन्दा राम्रो काम नै नवपरिवर्तन हो । मैले केही दिन अघि मात्रै सञ्चारमाध्यममा पढेको थिए ‘गाडीको धुवाँले ट्राफिक व्यवस्थापन खत्तम भएको छ ।’ सडक पेटीमा हिड्ने यात्रुलाई असर गरेको छ । ट्राफिकले त्यसको छड्के जाँच गरिदियो र केही गाडीलाई कारबाहि गर्न थाल्यो भने त्यो एउटा नयाँ कुरा हुनेछ । स–सानो कुराले पनि जनतामा ठूलो असर पर्छ । त्यसकारण सबै कर्मचारीलाई मेरो अनुरोध छ, केही न केही राम्रो काम गरौं । अहिले राम्रो काम गर्न सकियो भने यसको अनुभूति हामी र पछिल्ला पुस्ताले गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस