प्रेम नै महाऔषधी हो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रेम नै महाऔषधी हो


२८ आश्विन २०७४, शनिबार


जुन आमाले बच्चालाई स्वाभाविक प्रेम गर्छे उसको सिकायत हुन्छ– बच्चालाई खुवाउन धेरै फकाउनुपर्छ र आमाले चाहेजति आहार बच्चाले लिन मान्दैन । अर्काथरी आमालाई जीवनको आपा धापी र यान्त्रिकताले कति गाँजिसकेको हुन्छ भने उनीहरूसँग बच्चालाई हुर्काउने र बच्चासँग बिताउने प्रेमको क्षण अति कम हुन्छ या अन्य कारणले बच्चालाई पर्याप्त माया गर्न असमर्थ हुन्छन् । उनीहरूको सिकायत हुन्छ– बच्चाले दूध खान थालेपछि स्तन छोड्नै मान्र्दैन, जबरजस्ती छोडाउनुपर्छ ।

मनौवैज्ञानिकले यसको गहन विश्लेषण गरेका छन् । आमाको पर्याप्त प्रेम नपाएकाले ती बच्चाको मनमा गहिरो असुरक्षाको भाव हुन्छ । र, फेरि दूध खान पाउने हो कि होइन भन्ने अनिश्चितताले उनीहरू आमाको स्तन छोड्न मान्दैनन् ।

भोजन शरीरको आधार हो । भोजनबिना शरीर बाँच्न सक्दैन । त्यतिकै आवश्यक प्रेम पनि हो । प्रेम आत्माको भोजन हो । र, प्रेमबिना आत्मा बाच्न सक्दैन । साँच्चै भन्ने हो भने प्रेमबाट नै आत्माको जन्म हुन्छ । प्रेमबिना आत्मा जन्मनै सक्दैन । अनि जन्मिनासाथ बच्चाले आमाको शरीरबाट दूधका रूपमा भोजन र वात्सल्यका रूपमा प्रेम पाउँछ । त्यसकारण आमाको स्तनसँग उसको गहिरो आकर्षण बस्न जान्छ । हिजोआज आमाले आफ्नो स्तन सुडौल राख्न बच्चालाई छिट्टै स्तनपानबाट छुटाउँछन् र, अन्य पाउडर दूध पिलाउँछन् । आमाबाट प्राकृतिक रूपमा पाउनुपर्ने स्तनपान गर्न नपाएपछि बच्चालाई गहिरो मनोवैज्ञानिक आघात पुग्न जान्छ । उनीहरू जन्मभरि स्तनप्रति ‘अवसेस्ड’ भएर बाँच्न बाध्य हुन्छन् । ग्रामीण तथा आदिवासी भेगमा ५÷६ वर्षसम्मको बच्चाले स्तनपान गर्न पाइराखेको हुन्छ, जसले गर्दा उसमा स्तनप्रतिको रुग्ण रस पैदा हुन पाउँदैन । विश्वका अनेक देशका कैयन आदिवासी समाजमा आज स्त्रीहरूले स्तन छोप्ने आवश्यकता देखेकै छैनन्, किनभने त्यहाँ स्तनप्रतिको ‘अवसेसन’ जन्मनै पाउँदैन । जति–जति सुसंस्कृत र सभ्य समाज बन्दै जान्छ, त्यति–त्यति स्तनप्रतिको आकर्षण बढ्ढै गएको देखिन्छ । सारा काव्य, कविता, कहानी, चित्रकला, विज्ञापनको व्यवसाय यही स्तनकै वरिपरि घुमिरहेको हुन्छ । बाल्यावस्थामा पूरा समयसम्म स्तन चुस्न नपाएको बालक जीवनभर यसको रुग्ण आकर्षणबाट कहिल्यै मुक्त हुन सक्दैन ।

बच्चामा आफ्नो औंला चुस्ने एक स्वाभाविक बानी हुन्छ । त्यो पनि स्तनपानकै वैकल्पिक प्रयास हो । मनोवैज्ञानिकहरू भन्छन्, ‘पछि त्यही इच्छा धूम्रपानमा परिणत हुन्छ । जब चुरोटको तातो धुँवा कण्ठभित्र जान्छ, त्यसले आमाको न्यानो दूध खान नपाएको अतृप्त इच्छाको परिपूर्ति गर्छ । हरेक चुरोटको बट्टामा स्पष्ट लेखिएको हुन्छ, ‘धूमपान स्वास्थ्यको लागि हानिकारक छ ।’ आज यो क्यान्सरको मुख्य कारककारूपमा किटानै भइसकेको छ तापनि यसको बिक्री–वितरण बढ्दै गइरहेको छ, किन ? जरुर यसको मनुष्यको अचेतनमा लुकेको कुनै मनोवैज्ञानिक इच्छाको परिपूर्ति गरिराखेको हुनुपर्छ ।

आज विश्वमा मोटोपन सबैभन्दा घातक रोगकारूपमा बढिरहेको छ । अमेरिकाको तथ्याङ्क हेर्यो भने ३ मध्ये २ अमेरिकी मोटोपनबाट पीडित छन् । अमेरिकामा सन् १९९१ मा २७ प्रतिशत व्यक्तिमात्र मोटा थिए भने १० वर्षभित्र २००१ मा यो संख्या बढेर ६१ प्रतिशत हुन गयो । २५ वर्ष नाघेका प्रत्येक १० अमेरिकीमध्ये ८ व्यक्तिमा अतिरिक्त वजन छ । लगभग यस्तै प्रवृत्तिले यो रोग विश्वमै फैलिँदै गएको छ, भोकाभन्दा मोटाको संख्या बढ्दो छ । यो मोटोपनको अनेक कारणमध्ये अतिशय भोजन एक प्रमुख कारण हो । त्यसरी अति भोजन गर्नु प्रेम अभावकै परिपूर्ति गर्ने असफल प्रयास हो । प्रेमबिना मनुष्यभित्र एक रिक्तता, शून्यता र खालीपनको पीडा हुन्छ, जसलाई उसले अतिरिक्त भोजनबाट भए पनि भर्ने कोसिस गर्छ ।

विश्वप्रसिद्ध हृदयरोग विशेषज्ञ डिन अर्निश भन्छन्, ‘आधुनिक संस्कृतिको वास्तविक महामारी भौतिक हृदयरोगमात्रै होइन, यो भावनात्मक र आध्यात्मिक हृदयरोग हो । एक्लोपन, परित्यक्त र डिप्रेसन आजका प्रमुख समस्या हुन् । यी समस्याको समाधानका निम्ति प्रेम र आत्मीयताको विकल्पमा मैले अन्य कुनै प्रभावकारी औषधी अथवा शल्यक्रिया भेटेको छैन ।

(स्वामी आनन्द अरूणको सन्त दर्शनबाट साभार)

Tags :
प्रतिक्रिया दिनुहोस