दैनिक एक लाख यात्रु बाहिरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दैनिक एक लाख यात्रु बाहिरिँदै


८ आश्विन २०७४, आइतबार


काठमाडौं । हिन्दू नेपालीको महान चाड बडादसैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रु बढेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै बाहिरिने यात्रु बढेका छन् । उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट यात्रु बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन् ।

घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरे पनि दसैँको सुरुसँगै बाहिरिने बढेको बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दसैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिए । ‘बाटोको दुरावस्था र वर्षाले यो वर्ष नयाँ सवारीसाधन नथपे पनि यात्रुलाई सेवा दिन पछाडि परेका छैनौं,’ उनले भने ।

यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ । विभागका प्रवक्ता डा। टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र पाँच/छ लाख यात्रु निजी बसमा दसैं मान्न घर जाने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस