ओपिडी सेवा बन्द : एकैदिन चार लाख बिरामी स्वास्थ्य सेवाबाट वञ्चित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओपिडी सेवा बन्द : एकैदिन चार लाख बिरामी स्वास्थ्य सेवाबाट वञ्चित


७ आश्विन २०७४, शनिबार


काठमाडौं । उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।

ओपिडी सेवा बन्द हुँदा करिब चार लाख बिरामी सेवाबाट बन्चित भएका छन् । सरकारको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।

स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिई गरिएको मन्त्रिपरिषद्को निर्णय फिर्ता लिन दिइएको ७२ घन्टे अल्टिमेटममा पनि सरकार मौन बसेपछि देशभरका अस्पतालको सेवा रोक्नुपरेको महासचिव डा. कार्कीले बताए ।

स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहले तीन लाख ८२ हजार तीन सय बिरामीले उपचार नपाएको बताए । ‘सहरका अस्पतालमा बिरामीको चाप अत्यधिक छ । जिल्लाका हेल्थपोस्ट र स्वास्थ्यचौकीमा दैनिक ३० देखि ५० जनासम्म बिरामी आउने गर्छन् । सबै जोड्दा प्रतिस्वास्थ्य संस्था एक सय बिरामी ओपिडीमा आउने गरेको देखिन्छ,’ सिंहले भने ।

नेपाल चिकित्सक संघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । उपचार सेवा पूर्णरूपमा ठप्प गर्दा पनि सरकार मौन बसेकोमा संघले आपत्ति जनाएको छ । ‘देशभरका चिकित्सक सेवा अवरुद्ध पारेर आन्दोलनमा उत्रिँदा पनि सरकार मौन छ, वार्ताका लागि समेत आह्वान गरेको छैन,’ महासचिव कार्कीले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस