‘अहिलेका देउडा गीतमा मौलिकता र ठेटपन छैन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘अहिलेका देउडा गीतमा मौलिकता र ठेटपन छैन’


३१ भाद्र २०७४, शनिबार


सुदूरपश्चिमका चर्चित देउडा गायक हुन्, भूवन दाहाल । १७ वर्षअघि ‘रुखो पिरती’ एल्बमबाट चर्चा बटुलेका दाहाल पछिल्लो समय गायनमा त्यति सक्रिय देखिँदैनन् । करीब ६ वर्षको अन्तरालपछि पुनः देउडा गीत लिएर आउदै गरेका गायक दाहालसँग देउडाका विविध पक्षबारे प्रशासन डट कमका यज्ञराज जोशीले गरेको कुराकानी ।

देउडा एल्बम निकाल्नै छाड्नुभयो नि ?
छोडेको भन्ने चाहिँ होइन । संस्कृतिका क्षेत्रमा सानैदेखि गरिरहेको काम छोड्ने कुरा पनि भएन । म बीचमा आफ्नो व्यस्तताले ग्याप भए । ६ वर्षपछि अहिले नयाँ गीत गर्दैछु ।

देउडाको क्रेज घटेको देखेर अलि टाढिन त खोज्नुभएको होइन नि ?
देउडाको क्रेज घटेको भन्ने होइन । मैले देउडालाई माया नगरेको होइन । माया गर्दागर्दै पनि बाध्यताले ६ वर्ष ग्याप भएको हो । यद्यपि, म स्टेज प्रोग्राममा सहभागी भइरहन्थे । रेकर्डिङमा भने टाइम दिन पाइनँ । हामी अडियो जवानाकै मान्छे हो । अडियो हुँदा त त्यस्तो हुन्थ्यो । अहिले युट्युव दुनियाँको जवाना छ । त्यसैले देउडाका दर्शक–स्रोता ह्वात्तै बढेका छन् ।

देउडाका स्रोता बढे भन्नुहुन्छ तर, पछिल्लो समय थोरै गीत मात्रै रेकर्डिङ भइरहेका छन्, कतै तपाईंहरूले नै लोकप्रियता बचाउन नसक्नुभएको हो की ?
म फेरि पनि भन्छु देउडाका स्रोता बढेका छन् । अर्को कुरा, पहिलेका देउडा गीतमा क्वालिटी थियो । त्यो अहिलेका कलाकारले सायद त्यो मेन्टेन गर्न नसकेका हुन् की १ अहिलेका गीतमा मौलिकता र ठेटपन झल्किएको देखिँदैन । त्यसकारण देउडाको लोकप्रियता बढाउन क्वालिटी चाही हुनुपर्छ ।

मैले हिजो आज पनि नौं–दसवटा गीत रेकर्डिङ गरे । मेरो एउटा गीत युट्युबमा पनि अपलोड भएको छ, जसको प्रतिक्रिया पनि राम्रै छ ।

देउडाको गुणस्तरीयता कसरी बढाउने होला ?
आफ्नोपन कहिल्यै पनि बिर्सिनु हुँदैन । अहिले भाइहरूले रिमिक्स गीत राम्रै गरिरहेका छन् । नेपाली संगीतमा देउडाको एउटा प्याटन चलेको छ । तर, ठेटपन भनेको ठेटैपन हुन्छ । ओर्जिनालिटीलाई कहिल्यै पनि बिर्सिनु हुँदैन । पहिले हामी फोर ट्रयाकबाट गीत गाउथ्यौं भने अहिले ६४ मा । तर, ओर्जिनालिटी भनेको त्यो गीतमा आउँथ्यो जुन ओर्जिनालिटी हामी गाउँ पाखामा बसेर गाउथ्यौं । गाउँ पाखामा बसेर लेख्थ्यौं । त्यो अलि कम भएको महसुस भएको छ ।

सुदूर तथा मध्यपश्चिममा गाइने ठाडी भाका अचेल त्यति सुनिँदैन नि ?
होइन, ठाडीभाका कहिले पनि घट्दैन । यसलाई त सुदूरपश्चिमको सास्त्रीय संगीत मानिन्छ । तर, त्यो ल्याउन नसकेर कम सुनिएको होला । मैले ‘काँ जाउँ कैका खोज’ गाएको १७ वर्ष भयो । अझै ज्यूदै छ त्यो गीत । फेरि पनि मैले ठाडी गरेँ । त्यो पन ल्याउन नसकिएको होला । तर, ठाडी भाकाको मार्केट तथा क्वालिटी घटेको पनि छैन ।

तपाईंको चर्चित एल्बम ‘रुखो पिरती’का कतिपय गीत तपाईँकै जीवनमा आधारित हुन् भन्ने सुनिन्छ नि ?
यो प्रश्न मलाई २० औं हजारले सोधीसके । लेख्ने कुरामा एउटा कहानी चाहिन्छ । मैले त्यो कहानी मात्रै बनाएको । कतिसँग मेल खायो थाहा भएन । त्यो गीत स्रोता तथा दर्शकले मन पराइदिनुभयो ।

त्यो गीतको कहानी कसरी जन्मियो भन्दिनुस् न ?
म १० कक्षा पढ्दै गर्दा अडियो चक्काको जवाना थियो । गीत रेकर्ड गर्नुपर्छ भन्ने सोच आएपछि गीत लेख्न सुरु गरे । त्यो गीत २०५९ मा बजारमा आयो । सुदूरपश्चिममा चलेका ठाडी भाका भएकाले सबैले गीत मनपराए । यसले प्रोत्साहन मिल्यो ।

गीतमा तपाईंकै आफ्नै घटना जोडिएको त सत्य हो नि ?
कलेज पढ्दाका कुरा । स्कुल पढ्दाका कुरादेखि लिएर आफ्नो घुलमिल आफ्नोपन जस्तो पनि हुन्छ । साथीसँगको घुलमिल भई नै हाल्छ । तर वास्तविकता चाहिँ होइन । मैले त्यो थिम भित्रैदेखि लेखे । तर, मेरो वास्तविकता चाही होइन ।

कल्पना गरिएको र आफै त्यसको पात्र हुनुले रचनामा धेरै प्रभाव पार्छ नि मान्नुहुन्छ नि ?
मान्छु ।

समाज, परिवेश र परिस्थितिले धेरै मानिसले पनि यो गीतको जस्तै वास्तविकता भोगेको भेटिन्छ नि है ?
हो ।

तपाईंका धेरैजसो गीत प्रेममा आधारित छन् त्यसमा पनि विछोडकै पीडा बढी उल्लेख भएको पाइन्छ, कारण के हो ?
भगवानसँग पनि माया हुन्छ । भजन गाउँदा मायाको शब्द आउँछ । दाजुभाइ, आमाबुबा, साथीभाइसँग माया हुन्छ । सबैतिर माया नै माया हुने भएकाले मेरो स्वभावै यस्तो हो । एउटा मायामा संसार भुलेको छ । एक चोटी भूवन दाहालले स्वदेश गीत गायो भन्ने चर्चा आयो । स्वदेश गीतमा पनि त देशप्रतिको माया हुन्छ नि । माया भन्ने सबै ठाउँमा हुन्छ त्यही भएर पनि आएको होला ।

मायामा मिलनका कुरा पनि त हुन्छन् नि, बिछोड मात्रै छान्नुको कारण ?
स्वभावैले पनि म अलि सिरिएस टाइपको मान्छे हो । तर पनि माया पिरतीका गीत सबैले गाए । मैले छुट्टै किसिमको माया पिरतीका गीत दिऊ भनेर ‘रूखो पिरती’ गरे । सबैले मन पराए । त्यो एल्बममा रहेको ‘रोज्यो फूल अर्काले लैग्यो’ बोलको गीतमा छुट्टै किसिमको प्याटन बनेको थियो । मलाई सेन्टिमेन्टलै गीत सुहाउने खाले भयो । सबैले भूवन दाहाललाई फास्ट बिट्को गीत चल्दैन भन्ने भयो ।

संगीत क्षेत्रले निकै धेरै फड्को मारेको छ, उहिले र अहिले के फरक पाउनुभएको छ ?
पहिले कलाकारले जति मेहेनेत गर्नुपथ्र्यो, अहिले त्यो छैन । प्रविधिप्रति म खुसी छु । तर, अहिले एउटा स्रस्टाले मेहेनेत गर्न पाउँदैन । जस्तै ः पहिले ठाडी भाका गाउँदा अन्तिममा बिग्रिँदा मैलै कतिपटक सुरुबाट सुरु गरेको छु । त्यो अहिले छैन । मेहेनेत गर्न नपर्ने भएपछि मान्छे त अल्छी हुन्छ नि ।

देउडा संरक्षणमा राज्यले चासो नदेखाएको हो ?
हो । राज्यले नेपाली संगीतलाई नै त्यति स्थान दिएको छैन । त्यसमा पनि हाम्रो देउडालाई बेवास्ता गरेजस्तै देखिएको छ । सुदूरपश्चिममा स्रस्टाको सम्मानै छैन । मिडियाले बरु हामीलाई उत्थान गरिरहेको छ ।

राज्यले के गरिदियो भने देउडाको संरक्षण हुन्छ जस्तो लाग्छ ?
संस्कृतिले आफ्नोपन झल्काउनुपर्छ । संस्कृतिको सम्मान हुनु नै राज्यको सम्मान हुनु हो । राज्यले संस्कृतिप्रति ध्यान पुर्याओस भन्ने हाम्रो माग हो । अर्को कुरा, देउडा सुदूरपश्चिमको मात्रै संस्कृति होइन, राज्यकै संस्कृति हो ।

हामी लोक गीत, देउडा, आधुनिक गीत, पप गीत गाउँछौ । यसको उजागर सरकारी तथा प्राइभेट मिडियाले गर्नुपर्छ । कलाकारलाई अगाडि बढाउने मिडिया हो । साथै सरकारी तथा गैर सरकारी संस्थाले पनि यसबारे ध्यान पुर्याउनुपर्छ ।

तपाइका आगामी योजना के छन् ?
९/१० गीत रेकर्डमा छन् । हिजो मात्रै एउटा भिडियो गरियो । दसैँअगाडि दुई गीत (एउटा ठाडी भाका र एउटा देउडा खेलको भाका) युट्युबमा आउँछ ।

अन्त्यमा भन्न मन लागेको केही छ ?
कलाकारलाई बचाउने भनेको मिडिया हो । मलाई माया गर्नुहुने स्रोता तथा दर्शकलाई धन्यवाद दिन चाहान्छु । अझ पनि माया गर्नु हुनेछ भन्नेमा आशावादी छु । म गीतसंगीतबाट कहिल्यै टाढा भइनँ र हुने पनि छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस