स्थानीय तह चुनाव: चोक–चोकमा उत्सव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तह चुनाव: चोक–चोकमा उत्सव


२७ भाद्र २०७४, मंगलबार


बारा । सदरमुकामको भरतचोक कुनै बेला मधेस आन्दोलनको केन्द्र थियो । तिनताका यहाँ काला झन्डा फहराउँथे । अहिले भने यो चोक सबै दलका प्रचार सामग्री, तुल, ब्यानर र पोस्टरले छपक्कै छ । रंगीबिरंगी झन्डाले भरिएको छ । आसपासका घर र बिजुलीका पोलमा पनि झन्डा मात्रै छन् । चोक अहिले चुनावमय छ ।

जताततै रंगीचंगी झन्डाले नगरलाई महोत्सवजस्तै बनाएको छ । चोक आसपास मात्र होइन, जिल्लाभर ओहोरदोहोर गर्ने मोटरसाइकल र गाडीमा कुनै न कुनै दलका झन्डा देखिन्छन् । यात्रु र सामान ओसार्ने गाडीमा समेत झन्डा टाँगिएका छन् । सहर होस् या गाउँ, केटाकेटीदेखि बृद्धसम्म सबैले दलका चुनाव चिहन अंकित टिसर्ट पहिरिने ‘फेसन’ चलेको छ । पाखुरा र टाउकामा झन्डा बेरेर अरूभन्दा फरक देखिने युवामा होड छ ।

प्रायः घरमा झन्डा गाडिएसँगै भित्ता पोस्टरले रंग्याइएको छ । प्रत्येक बजार र गाउँका सडकमा एक पछि अर्को उम्मेदवारका ठूला तस्बिर र नारा लेखिएका ब्यानर टाँगिएका छन् । ससाना झन्डा गाँसेर बस्तीलाई रंगीचंगी तुल्याइएको छ । बिहान र साँझ यहाँ घरदैलो गर्नेको भीड लाग्छ । यस्ता कार्यक्रममा उम्मेदवारका समर्थकले चर्को आवाजमा माइक वा स्पिकर घन्काउँछन् । दिउँसो गर्मी हुने भएकाले घरदैलो सम्भव हुँदैन । यस्तो बेला ब्यानर टाङ्ने र गीत बजाएर मत दिन आग्रह गर्ने गरिएको छ । उम्मेदवार सवार गाडीमा यस्ता माइक अनिवार्य छन् । उम्मेदवार र तिनका कार्यकर्ता भारतीय नम्बरका गाडी चढ्छन् । यहाँ वडाध्यक्षका उम्मेदवारले समेत यस्ता गाडी भित्र्याएका छन् । वर्षौं नगुडेका सडकमा पनि यतिबेला दिनहुँ सयौं चिल्ला गाडी दौडिरहेका भेटिन्छन् । जिल्लाका सीमानाकाबाट दिनहुँ यस्ता गाडी मुलुक भित्रिने गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस