अञ्चल अस्पतालबाटै हुन्छ बिरामीको ‘किनबेच’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अञ्चल अस्पतालबाटै हुन्छ बिरामीको ‘किनबेच’


१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले बिरामी किन्ने र निजी अस्पतालाई बेच्ने गरेका छन् ।

अञ्चल अस्पताल अगाडी लहरै हरदम आधा दर्जन भन्दा बढी संख्यामा खडा रहने मारुती भ्यान, एम्बुलेन्स आदिलाई एउटा विरामी ल्याएबापत निजी अस्पतालले रकम दिने गरेका छन् ।

अस्पतालमा आएका विरामीलाई अस्पतालबाट वा बाटैबाट मोडेर विराटनगरलगायतका स्थानमा भएका निजी अस्पताललाई एकजना विरामी लगिदिए वापत चालकहरुले न्यूनतम ५ सयदेखि डेढ हजारसम्म रकम पाउने गरेका छन् । अस्पतालभित्र र वरपर हुने यस किसिमको खरिद बिक्रीबारे स्थानीय पनि जानकार छन् ।

ठूला निजी स्वास्थ्य संस्थाले विरामी पठाउन सहयोगी वातावरण होस् भनेर आफ्ना एजेन्ट नै सरकारी अस्पतालमा खटाउने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘पूर्वाञ्चलका निजी अस्पतालले विरामी तान्न मार्केटिङ एक्ज्युकिटिभ समेत यहाँ खटाएका छन्,’ एक स्थानीयले भने ।

‘मेरी श्रीमती नितुदेवी यादवलाई यहाँ आकस्मिक उपचारमा ल्याउँदा घन्टौं कुर्नु पर्‍यो । त्यहीबेला यहाबाट बाहिर उपचार गराउन लाने हो भने मारुती भ्यान मगाइ दिन्छु भनेर अस्पतालमै मलाई भन्न आइपुगे,’ स्थानीय युवा देवनारायण गुरमैताले कान्तिपुरसँग भने । औषधि बिक्रि प्रवर्धन गर्ने मेडिकल रिप्रजेन्टेटिभजस्तै निजी अस्पतालको व्यापार प्रवर्धन गर्ने प्रतिनिधिहरुमात्र नभएर चिकित्साकर्मीहरुसमेत यसमा संलग्न रहेको स्थानीयको दावी छ । आजको कान्तिपुर दैनिकमा खवर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस